×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

एशियाली विकास बैंकको ऋण अनुदानमा फोहरमैला व्यवस्थापन केन्द्र निर्माण गरिँदै, रोजगारीमा वृद्धि हुने

गोदावरी । एशियाली विकास बैंकको ऋण अनुदान सहयोगमा कैलाली र कञ्चनपुरका गरी चारवटा स्थानीय तहमा एकीकृत फोहरमैला व्यवस्थापन केन्द्र निर्माण गरिने भएको छ । क्षेत्रीय सहरी विकास आयोजना अन्तर्गत कैलालीको धनगढी उपमहानगरपालिका, गोदावरी नगरपालिका, कञ्चनपुरको भीमदत्त र शुक्लाफाँटा नगरपालिका गरी चारवटा नगरपालिकामा उक्त केन्द्र निर्माणको काम अघि बढेको हो ।

सङ्घीय आयोजना कार्यान्वयन एकाइ धनगढीले ती स्थानीय तहमा एकीकृत फोहरमैला व्यवस्थापन केन्द्र निर्माणका लागि स्थान छनोट गरेर डिपिआर तयार गरी वातावरण प्रभाव मूल्याङ्कन स्वीकृतका लागि विभागमा पठाएको छ । वातावरण मन्त्रालयले सो प्रतिवेदन स्वीकृत गरेर आएपछि निर्माणको प्रक्रिया सुरु गरिने सङ्घीय आयोजना कार्यान्वयन एकाइ धनगढीका प्रमख प्रविन शाहले जानकारी दिनुभयो ।

धनगढी उपमहानगरपालिका-७ मा निर्माण हुने एकीकृत फोहरमैला व्यवस्थापन केन्द्रको डिपिआर र वातावरणीय प्रभाव मूल्याङ्कन स्वीकृत भएर बोलपत्र आह्वान भइसकेको छ । सोको लागत अनुमान एक अर्बको रहेको जनाइएको छ । कैलालीको गोदावरी नगरपालिका–३ चौकीडाँडा सामुदायिक वनभित्र एकीकृत फोहरमैला व्यवस्थापन केन्द्र निर्माणका लागि डिपिआर र वातावरणीय प्रभाव मूल्याङ्कनको काम सम्पन्न भइसकेको छ ।

मन्त्रालयले सो स्थानमा केन्द्र निर्माणका लागि पुनःवातावरणीय प्रभाव मूल्याङ्कन गर्न भनेपछि सो काम पनि सम्पन्न गरी मन्त्रालयमा पठाइएकोे आयोजना प्रमुख शाहले बताउनुभयो । गोदावरीमा बन्ने सो केन्द्रको लागत अनुमान ६० करोड रहेको छ । कञ्चनपुरको भीमदत्त नगरपालिकामा फोहरमैला व्यवस्थापन केन्द्र निर्माणका लागि जग्गा प्राप्ति हुनसकेको छैन । सो नगरपालिकाले एकीकृत फोहरमैला व्यवस्थापन केन्द्र निर्माणका लागि जग्गा खोजिरहेको र जग्गा प्राप्तिपछि लागत अनुमान तयार गरिने आयोजनाले जनाएको छ । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा फोहरमैला व्यवस्थापन केन्द्र निर्माणका लागि डिपिआर र वातावरणीय प्रभाव मूल्याङ्कनको काम सम्पन्न भई बोलपत्र स्वीकृत भएको छ ।

सो केन्द्रको लागत ५३ करोड रहेको जनाइएको छ । ११ अर्बको लागतमा कैलाली र कञ्चनपुरमा अत्याधुनिक सहरी सडक र एकीकृत फोहरमैला व्यवस्थापन केन्द्र निर्माण गर्ने गरी क्षेत्रीय सहरी विकास आयोजना लागू गरिएको हो । केन्द्र निर्माण भएपछि कुहिने र नकुहिने फोहरलाई छुट्याई मेसिनको सहायताले प्रशोधन गरी कम्पोष्ट मल र बायोग्यास उत्पादन गर्नका लागि पक्की संरचना निर्माण गरिने बताइएको छ । एकीकृत फोहरमैला व्यवस्थापन केन्द्र निर्माणपछि रोजगारीमा वृद्धिसँगै नगरपालिकाको राजस्वमा समेत वृद्धि हुने अपेक्षा गरिएको छ । -रासस

Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: