म्याग्दी । अन्नपूर्ण गाउँपालिका–१ दोबामा पालिकास्तरीय अस्पतालको भवन निर्माण सुरु गरिएको छ । सङ्घीय सरकारको सबै पालिकामा आधारभूत तहको अस्पताल सञ्चालन गर्ने योजनाअनुसार दोबामा भवन निर्माण हुन लागेको हो ।
गाउँपालिकाका इञ्जिनीयर ईश्वरबहादुर भण्डारीले अपाङ्गमैत्री पाँच शैया क्षमताको भूकम्प प्रतिरोधी दुईतले भवन निर्माण सुरु गरिएको जानकारी दिनुभयो । “आकस्मिक, अन्तरङ्ग, बहिरङ्ग, प्रयोगशाला, प्रशासनिक, औषधि भण्डारण, उपचारका लागि छुट्टाछुट्टै कक्षसहितको भूकम्प प्रतिरोधी क्षमताको अपाङ्गमैत्री भवन बनाउन लागिएको हो”, उहाँले भन्नुभयो, “आगामी २०७९ असोजमा भवन निर्माण सम्पन्न गर्ने लक्ष्य छ ।”
भवन निर्माणका लागि रविना-अमित जेभीले पाँच करोड १२ लाख ६० हजार ६५२ मा ठेक्का सम्झौता गरेको छ । रु छ करोड ८३ लाख ५० हजार ८० लागत अनुमान गरिएको थियो । विसं २०७८ वैशाख १७ गते सम्झौता गरेका ठेकेदारले जग्गा व्यवस्थापन सकेर भवन निर्माण सुरु गरेको प्रमुख प्रशासकीय अधिकृत सुरणप्रसाद शर्मा पौडेलले बताउनुभयो ।
निर्धारित समयभित्र नै भवन निर्माण सम्पन्न गर्ने लक्ष्यसहित औजार, निर्माण सामग्री जुटाएर मजदुर परिचालन गरेको निर्माण व्यवसायीले बताएका छन् । दोवाका बासिन्दाले अस्पताल निर्माण गर्न १२ रोपनी सात आना दुई दाम क्षेत्रफलको जग्गा निःशुल्क उपलब्ध गराएका थिए । सो जग्गाको स्थानीय बजार मूल्य एक करोडभन्दा बढी छ ।
दोवाका वडाध्यक्ष दिलीपकुमार गर्बुजाका अनुसार नौप्रसाद पुर्जाले एक रोपनी तीन पैसा, यादवबहादुर गर्बुजाले एक रोपनी आठ आना, गमबहादुर गर्बुजाले एक रोपनी १० आना, अमरबहादुर गर्बुजाले पाँच रोपनी चार आना, घमती पुर्जाले १३ आना, कर्णबहादुर पुर्जाले दुई रोपनी दुई आना र टीकाबहादुर पुर्जाले साढे दुई आना जग्गा निःशुल्क उपलब्ध गराएका हुन् ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले गाउँपालिकालाई अस्पताल निर्माण गर्न गत आर्थिक वर्ष २०७७÷७८ मा ७० लाख पठाएको थियो । यस वर्ष मन्त्रालयले बजेट पठाउन ढिलाइ गरेको गाउँपालिकाका अध्यक्ष डमबहादुर पुनले बताउनुभयो । विनियोजन भएको बजेट समयमै खर्च गर्ने अख्तियारी आएमा निर्माण व्यवसायीलाई छिटो काम गराउन दबाब दिन सकिने उहाँको भनाइ छ ।- रासस
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्