Skip to content
LAXMI SUNRISE BANK

२५ करोडको लागतमा बेनीमा होटल नेचुरल स्प्रिङ निर्माण हुँदै, भदौदेखि औपचारिकरूपमा सञ्चालनमा ल्याउने तयारी

अर्थ सरोकार

म्याग्दी  । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–२ भुरुङ तातोपानीमा धवलागिरि क्षेत्रकै ठूलो होटल निर्माण हुन लागेको छ । बेनीमा व्यवसाय गर्दै आउनुभएका राजु हमालले रु २५ करोड लगानीमा ५७ कोठा क्षमताको ‘होटल नेचुरल स्प्रिङ प्रालि’ सञ्चालनमा ल्याउन लाग्नुभएको हो । रोयल, डिलक्स र साधारण गरी तीन स्तरका सुविधासहितका कोठाको व्यवस्थासहित होटल निर्माण गरिरहेको उहाँले बताउनुभयो ।

करिब आठ रोपनी क्षेत्रफलमा छ तलाको भवन निर्माण भइरहेको छ । होटलको भौतिक पूर्वाधारतर्फको करिब ६५ प्रतिशत काम पूरा भएको र आगामी भदौदेखि औपचारिकरूपमा सञ्चालनमा ल्याउने तयारी गरिएको उहाँको भनाइ छ । होटलमा पार्किङ र लिफ्ट सुविधासँगै १५० जना क्षमताको सेमिनार हल, मसाज, क्याफे र लोकलमार्टसमेत सञ्चालनमा आउनेछन् ।

होटल सञ्चालनमा आएसँगै पहिलो चरणमा ४० जनाले नियमित रोजगारी पाउने सञ्चालक हमालले जानकारी दिनुभयो । रु २२ करोड लागत अनुमान गरिएको भए पनि कोरोना महामारीका कारण सामानमा भएको अभाव, निर्माणकार्यमा भएको प्रभाव र सामान ढुवानीमा भएको असुविधाले लागत बढ्ने भएको उहाँले बताउनुभयो ।

“क्षमताका हिसाबले धवलागिरि क्षेत्रकै ठूलो हुन्छ, सुविधामा समेत स्टार होटलका सुविधा उपलब्ध गराउँछौँ, सुविधायुक्त होटलले यस क्षेत्रको पर्यटन प्रवद्र्धनमा समेत सघाउने अपेक्षा गरेको छु”, उहाँले भन्नुभयो । पोखराबाट कुश्मा, बेनी हुँदै हिमालपारिको जिल्ला मुस्ताङ जाने एकमात्रै सडक बेनी–जोमसोम–कोरला सडकमा पर्ने भएकाले होटल सञ्चालनमा आउन सके यस सडकखण्ड हुँदै आवतजावत गर्ने आन्तरिक तथा बाह्य पर्यटकको बसाइ लम्बाउन टेवा पु¥याउने अपेक्षा गरिएको स्थानीय पर्यटन व्यवसायीसमेत रहनुभएका अन्नपूर्ण गाउँपालिकाका कार्यपालिका सदस्य आत्मा तुलाचनले बताउनभयो ।

“यहाँको प्राकृतिक तातोपानीको कुण्ड पर्यटकको रोजाइमा पर्ने गरेको छ, तर सिजनमा अहिले सञ्चालनमा रहेका होटलले पर्यटकको चाप धान्न सक्ने अवस्था छैन, त्यसैले ठूलो क्षमतामा सञ्चालनमा ल्याउन लागिएको यस होटलले पर्यटकको बसाइ व्यवस्थापन र भ्रमण अवधि बढाउन सहयोग पुग्ने देखिन्छ”, तुलाचनले भन्नुभयो ।

तातोपानीमा अहिले ठूला सात र साना १५ गरी ४०० सम्म पर्यटक बस्न सक्ने क्षमताका होटल छन् । अन्नपूर्ण राउण्ड पदमार्ग र मुस्ताङ जाने एकमात्रै बेनी–जोमसोम सडकखण्डले समेटिएको ठाउँ भएकाले तातोपानीमा सञ्चालनमा आउन लागेको यस होटलले पर्यटकलाई आरामदायि बसोबासको प्रबन्ध मिलाउन र पर्यटन प्रवद्र्धनमा सघाउने स्थानीयवासीको भनाइ छ ।-रासस

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK