Skip to content
LAXMI SUNRISE BANK

कालिकोटमा चार करोड लागतमा बाढीपीडितका १०१ घर निर्माण हुँदै

अर्थ सरोकार

कालिकोट । विसं २०७७ साउनमा आएको बाढीपहिरोका कारणले विस्थापित भएका कालिकोट जिल्ला नरहरिनाथ गाउँपालिका–४ भाटगाउँ, खाती रुप्सा, पाङ र वडा नं ७ बागाछान्ना र घोडेसिल्ला गाउँमा चार करोड लागतमा १०१ घर निर्माण हुने भएका छन् । बाढीपहिरो विस्थापित घरपरिवारलाई चालु आर्थिक वर्षमा नै नरहरिनाथ गाउँपालिकाकोे वडा नं ४ को डाँडासुन्दर बस्तीमा १०१ घर निर्माण हुने भएका हुन् ।

विसं २०७७ मा आएको बाढीपहिराका कारणले नरहरिनाथ गाउँपालिकामा १६ जनाले ज्यान गुमाएका थिए भने २०६ घरपरिवार विस्थापित भएका थिए । विस्थापित भएकामध्ये आर्थिक वर्षमा एक करोड ७० लाख लागतमा ५५ घर निर्माण गरिएका र थप १०१ घर निर्माण गरिने गाउँपालिकाका उपाध्यक्ष मनशोभा बुढाले जानकारी दिनुभयो । “गत आर्थिक वर्षमा कर्णाली प्रदेश सरकारको सहयोगमा ५५ घर निर्माण गरेर एकीकृत बस्ती बसालेका छौँ”, उहाँले भन्नुभयो, “थप त्यही ठाउँमा चालु आर्थिक वर्षमा १०१ घर निर्माण हुनेछन् ।”

नमूना बस्तीमा ४० लाख विद्यालय भवन निर्माण हुने र प्रधानमन्त्री रोजगार कार्यक्रमबाट २६ लाख लागतमा विद्यालयको फिल्ड निर्माण गरिने उपाध्यक्ष बुढाले बताउनुभयो । “हामीले नमूना बस्तीमा ५५ घर निर्माण गरेर समुदायलाई हस्तान्तरण गरिसकेका छौँ । खानेपानी, विद्यालय निर्माणलगायत भौतिक पूर्वाधारका संरचना निर्माण गरिसकेका छौँ”, उहाँले भन्नुभयो, “बस्ती पुनःनिर्माणको कामलाई यथाशीघ्र बढाई समयमै काम सम्पन्न गर्ने गरी कामको थालनी भएको छ ।”

गाउँपालिकाभरि बाढीपहिराबाट पूर्णरूपमा क्षति भएका घरको पुनःनिर्माणका काम थालनी गरिने त्यसका लागि वडा कार्यालयमार्फत लगत सङ्कलन भइरहेको उपाध्यक्ष बुढाले जानकारी दिनुभयो । “हामीले पूर्णरूपमा क्षति भएका घरको गाउँपालिकाले १० प्रतिशत लगानी गर्ने र बाँकी सङ्घीय सरकारसँग सहयोगका लागि पहल गर्ने योजना छ ।” उहाँले भन्नुभयो, “त्यसका जिल्ला प्रशासन कार्यालयमार्फत अहिले पहल थालिएको छ ।”

जिल्ला विपद् व्यवस्थापन समितिका संयोजकसमेत रहनुभएका कालिकोटका प्रमुख जिल्ला अधिकारी, जिल्ला प्रहरी कार्यालयका प्रमुख र विपद् व्यवस्थापन समितिका अन्य पदाधिकारीले बाढीपहिरो पीडितसँग भेटघाट तथा गत आवमा बनेका घरको अनुगमन साथै नयाँ बन्ने घर निर्माणका लागि समुदायसँग भेटघाट गरिएको उपाध्यक्ष बुढाले जानकारी दिनुभयो ।-रासस

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK