×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

धान र अलैँचीको उत्पादन घट्यो खोटाङमा, स्थानीय कृषक चिन्तित

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

धान र अलैँचीको उत्पादन घट्यो खोटाङमा, स्थानीय कृषक चिन्तित

Artha Sarokar

१ पुष २०७८, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

खोटाङ । गत वर्षको तुलनामा यस वर्ष खोटाङमा धान उत्पादन करिब पाँच हजार मेट्रिकटन घटेको छ । जिल्लाभर १२ हजार ८९८ हेक्टर क्षेत्रफलमा धानखेती हुँदै आएको जिल्लामा यस वर्ष सत प्रतिशत रोपाइँ भए पनि गत वर्षको तुलनामा यो वर्ष चार हजार ६४३.२८ मेट्रिकटन उत्पादन घटेको हो ।

आर्थिक वर्ष २०७७/७८ मा २९ हजार ७९४.३८ मेट्रिकटन धान उत्पादन भएको जिल्लामा आर्थिक वर्ष २०७८/७९ मा उत्पादन घटेर २५ हजार १५१.१० मेट्रिकटन मात्र उत्पादन भएको जिल्ला कृषि ज्ञान केन्द्र खोटाङका निमित्त प्रमुख हरिनारायण राईले बताउनुभयो ।

“यस वर्ष समयमै वर्षा भएका कारण जिल्लाभर १२ हजार ८९८ हेक्टर क्षेत्रफलमा उन्नत जात र स्थानीय जातका धान समयमै रोपाइँ भएको थियो”, उहाँले भन्नुभयो, “बेमौषमी वर्षा र हावाहुरीका कारण फूल खेल्दै गरेको धानको बोट ढलेर खेतमै नष्ट हुँदा यस वर्ष उत्पादनमा कमी आएको हो ।”

स्थानीय जातका धान ढिला फुल्ने गरेकाले पनि बेमौषमी वर्षा र हावाहुरीले यस वर्ष धानबालीमा ठूलो क्षति भएको किसानले बताएका छन् । बेमौषमी वर्षा र हावाहुरीका कारण पाँच हजार ५२२.६२ हेक्टर अर्थात् ४२.८२ प्रतिशत क्षेत्रफलमा लगाइएको धानबालीमा क्षति हुन पुगेको हो ।

जिल्लामा यस वर्ष धान उत्पादनमा कमी भएपछि स्थानीय जातका धानको मूल्य अकासिने अनुमान गरिएको छ । गत वर्ष प्रतिपाथी १२० मा बिक्री भएको धान यस वर्ष बढेर १६० पुगेको कृषकले बताएका छन् ।

जिल्लामा यस वर्ष अलैँची उत्पादनमा पनि कमी आउने देखिएको कृषि ज्ञान केन्द्रले जनाएको छ । अलैँची उत्पादनको तथ्याङ्क संकलन हुन बाँकी रहे पनि करिब ३०/३५ प्रतिशतले उत्पादन घट्ने अनुमान गरिएको ज्ञान केन्द्रका निमित्त प्रमुख राईले जानकारी दिनुभयो ।

एक हजार ४०२ हेक्टर क्षेत्रफलमा अलैँचीखेती हुँदै आए पनि कृषकको भनाइअनुसार यो वर्ष अलैँची उत्पादन कम भएको र उत्पादन घटेर जाने निश्चित भएको छ । दश स्थानीय तह रहेको जिल्लामा आव २०७७/७८ मा ७८७.३६ मेट्रिकटन अलैँची उत्पादन भएको थियो ।

गत वर्ष जिल्लामा प्रतिहेक्टर ०.७४ मेट्रिकटन अलैँची उत्पादन भएको कृषि ज्ञान केन्द्रको तथ्याङ्कमा उल्लेख छ । केन्द्रका अनुसार गत वर्ष एक हजार ६४ हेक्टरमा लगाइएको अलैँचीले फल दिएको र बाँकी ३३८ हेक्टरमा भने बिरुवा नै थियो । यस वर्ष अलैँचीको उत्पादन घटे पनि मूल्य भने बढेको कृषकले बताएका छन् । मूल्य बढे पनि उत्पादन घटेपछि धान खेत मासेर व्यावसायिकरूपमा अलैँची खेती सुरु गरेका कृषक चिन्तित भएका छन् ।-रासस

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी