काठमाडौं । देशभर विभिन्न घटना घट्छन् । केहि सामान्य समाचारका विषय हुन्छन्, केहि समाचारले असामान्य कम्पन पैदा गरिदिन्छन् । केहि तस्विर फगत तस्विरमात्र हुन्छन् भने केहि तस्विरले देश बोल्दछन् । हामी हरेक दिन सातै प्रदेशका त्यस्ता तस्विरहरुलाई प्रकाशन गर्छौँ, जसले देश र जनताको आर्थिक स्थिति प्रतिनिधित्व गर्छ । समसामयिक विषयमा राज्यलाई खबरदारी गर्छ र जनताको जीवन बोल्छ ।
आज कुन-कुन ठाउँमा के-के भयो ? यी दृश्यहरु आफैं बोलिरहेछन् । आजको अंकमा हामीले फेवाताल किनारमा चट्पट बेच्दै कास्कीकी महिलादेखी मौरी स्याहार्दै बागलुङका किसानसम्मका तस्विरलाई फोटोमा समेटेका छौं ।
हेरौं फोटो समाचार :
पोखरा–१८ खपौदीको फेवाताल किनारमा चट्पट बेच्दै कास्की नाउँडाँडाकी चन्द्रकली सुनार । दुई वर्षदेखि यस ठाउँमा चट्पट बेचेर दैनिक गुजारा चलाउँदै आउनुभएकी सुनार दैनिक रु ८०० देखि एक हजारसम्मको व्यापार हुने बताउनुहुन्छ ।
बागलुङको जैमिनी नगरपालिका–७ स्थित जैदीबोरका किसान चुर्णबहादुर राना मौरी स्याहार्दै । व्यावसायिक रुपमा रानाले ४५ घारमा मौरीपालन गर्नुभएको छ । उहाँले मह बेचेर राम्रो कमाइ गर्दै आउनुभएको छ ।
मौसम खुलेसँगै उपल्लो डोल्पामा रहेको नेपालकै गहिरो र रङ फेर्ने तालको रुपमा परिचय बनाएको शे फोक्सुण्डो ताल । वारिपारि हिमालको बीचमा रहेको यो तलमा जीवित कुनै पनि प्राणी नभएको विश्वास छ ।
मनाङमा चिसो बढेसँगै अधिकांस खोला नालाका पानी हिउँमा परिणत । सदरमुकाम चामे आसपासका पानीको मुहानमा हिउँ जम्मेपछि पिउने पानी समेत पाउन कठिन भएको छ । यहाँको दैनिक तापक्रम माइनस १५ डिग्रीदेखि २० डिग्री सम्म पुग्ने गरेको छ ।
बागलुङ नगरपालिका–८, सिगानामा रहेको सुन्तला बगान । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत ‘सुन्तला जोन’ कार्यक्रममा सिगानामा पनि समावेश छ ।
म्याग्दीको पर्यटकीयस्थल टोड्केबाट देखिएको संसारको सातौँ अग्लो धौलागिरि हिमाल ।