गलकोट । गलकोटको लक्ष्मीनारायण मन्दिरमा सञ्चालन गरिएको धार्मिक महोत्सवबाट साढे तीन करोड संकलन भएको छ । गलकोट नगरपालिका-९ छिसमा रहेको गलकोटकै पुरानो मन्दिरमा महोत्सव सञ्चालन भएको थियो । यही मङ्सिर ६ गतेदेखि मन्दिरमा आयोजना गरिएको महायज्ञ तथा विश्व जागरणात्मक धार्मिक महोत्सव सोमबार सम्पन्न भएको थियो ।
धार्मिक महोत्सवमा स्थानीयवासीले दान र चन्दा सहयोग गरेका महोत्सव व्यवस्थापन समितिका कोषाध्यक्ष यज्ञप्रसाद सापकोटाले जानकारी दिनुभयो । धार्मिक महोत्सवमा सुप्रसिद्ध कथा वाचिका यशोदा माता र युवा व्यास प्रखर भागवत वक्ता सुदर्शन रामानुजदास सन्तोषले श्रीमद्भागवत कथाको प्रवचन दिनुभएको थियो । बाजागाजा, पञ्च कलश, शोभायात्रासहित शुभारम्भ भएको धार्मिक महोत्सवमा सवा करोड दीप प्रज्ज्वलन गरिएको उहाँले बताउनुभयो ।
सो अवसरमा प्रखर धर्मगुरुहरूको आतिथ्यतासँगै सन्तहरुको कुम्भमेला गरिएको थियो । महोत्सव अवधिभर दैनिक भजनकीर्तन, साङ्गीतिक झाँकीसहितका सांस्कृतिक प्रस्तुतिहरु गरिएको महोत्सव मूल आयोजक समितिले जनाएको छ । पाँच करोड आर्थिक संकलन गर्ने लक्ष्यसहित धार्मिक महोत्सव सञ्चालन गरिएको थियो । महोत्सवलाई स्वदेश तथा विदेशबाट सहयोगदाताले उल्लेख्य सहयोग गरेका छन् । महोत्सवमा कलाकार, आर्थिक सहयोगदाता तथा विभिन्न क्षेत्रबाट महोत्सवलाई सफल पार्न सहयोगी भूमिका निर्वाह गर्नुहुने व्यक्तित्व एवं संघसंस्थालाई अभिनन्दन गरिएको थियो ।
मन्दिरलाई धार्मिक महोत्सवबाट संकलित रकममार्फत लक्ष्मीनारायण मन्दिरको जीर्णोद्धारसँगै विविध सेवासहितको प्रसिद्व दिव्यधाम निर्माण, गौशाला निर्माण, वृद्धाश्रम, संस्कृत विद्यालय स्थापना, वेदशास्त्रसमेतको सेवा गर्दै भगवानको पूर्ण आराधना गर्ने स्थलका रूपमा विकास गरिने महोत्सव व्यवस्थापन समितिका अध्यक्ष इन्द्रमणि सापकोटाले जानकारी दिनुभयो ।
महोत्सवले लक्ष्मीनारायण मन्दिरलाई धार्मिक पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न महत्वपूर्ण टेवा पुगेको उहाँले बताउनुभयो । विसं २०२५ माघ ७ मा प्राणप्रतिष्ठासहित शुभारम्भ गरिएको मन्दिरमा वैदिक पाञ्चरात्र विधिअनुसार पूजाअर्चना हुँदै आएको छ ।-रासस
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्