×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

झण्डै पाँच वर्ष पहिले सुरु भएको लामाटार सडक निर्माणको कार्य अन्तिम चरणमा

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

झण्डै पाँच वर्ष पहिले सुरु भएको लामाटार सडक निर्माणको कार्य अन्तिम चरणमा

Artha Sarokar

२८ मंसिर २०७८, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । बिस्तारको क्रममा रहेको इमाडोल-लामाटार सडक निर्माण अन्तिममा पुगेको छ । झण्डै पाँच वर्ष पहिले निर्माण सुरु भएको सो सडकमा झण्डै ९५ प्रतिशत सकिएको छ । सडकमा अहिले अन्तिम काम मात्रै बाँकी रहेको काठमाडौं उपत्यका सडक विस्तार आयोजनाले जनाएको छ । डिभिजन सडक कार्यालय ललितपुरले गोदावरी पुल नजिकै निर्माण गर्नुपर्ने भएपनि नगरेकाले अहिले आयोजनाले नै गरिरहेको छ । पहिले घर भत्काउन बाँकी भएकाले निर्माण अघि बढ्न सकेको थिएन भने अहिले सो स्थानमा घर भत्किसकेको छ । उहाँले भन्नुभयो, “निर्माणस्थल खाली भइसकेकाले अहिले काम भइरहेको छ ।”

विगतका आर्थिक वर्षमा स्थानीयवासीको अवरोधका कारण सडक निर्माण अघि बढ्न सकेको थिएन । दुई वर्ष पहिले सरकारले विस्तारका सबै सडक उपलब्ध चौडाइमा कालोपत्र गर्ने निर्णय गरेपछि सडक निर्माण अघि बढेको हो । तीन वर्ष पहिले २० मिटर चौडाइ कायम गर्ने गरी ठेक्का सम्झौता भए पनि अहिले त्योभन्दा कम चौडाइमा कालोपत्र भइरहेको आयोजनाले जनाएको छ ।

सडकको चौडाइ कम भएकै कारण पैदल यात्रुमार्ग, नालीलगायतका पूर्वाधारसमेत निर्माण हुन सकेको छैन । सो सडक कृष्ण मन्दिरबाट गोदावरी खोलासम्म मात्रै २० मिटर कायम भएको छ । त्यसभन्दा अघि मापदण्डको आधाभन्दा कम चौडाइमा निर्माणको काम भएको छ । उपलब्ध चौडाइमा निर्माण गर्दा बजार क्षेत्रमा चौडाइ अति कम छ ।

आयोजनाले तीन ठेक्कामा सो सडक निर्माण अघि बढाएको थियो । डाँफे–समानान्तर जेभी, आशिष सिएम ड्रागन जेभी तथा लामा र समानान्तर जेभीसँग फरकफरक समयमा ठेक्का सम्झौता भएको थियो । एउटा ठेक्का सम्झौता विसं २०७३ र दुई ठेक्का विसं २०७४ मा भएको थियो ।

आयोजनाले उपत्यकाका दश सडकमा विस्तारको काम गरिरहेकामा अहिलेसम्म दुई सडक मात्रै सम्पन्न भएका छन् । सुरुका वर्षमा जग्गा प्राप्त हुन नसक्दा सडक निर्माण सुरु हुनै सकेको थिएन । उपलब्ध चौडाइमा कालोपत्र गर्ने सरकारको निर्णयपछि अहिले अधिकांश सडक अन्तिम चरणमा छन् । आयोजनाले नयाँ सडकमा विस्तारको योजना नबनाएर निर्माणाधीन सडकमा कालोपत्र सकाएर ठेक्का अन्त्य गर्ने योजना बनाएको छ ।-रासस

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी