उदयपुर । उदयपुरको सदरमुकाम गाईघाटबाट पहाडी जिल्ला खोटाङको सदरमुकाम दिक्तेलसम्म जोड्ने गाईघाट–दिक्तेल सडकखण्डअन्तर्गत सुनकोसी नदीमा हालै बेलिब्रिज जडान भएको छ । पुल जडानसँगै गाईघाटबाट दिक्तेलसम्म र दिक्तेलबाट गाईघाटसम्म सिधा यातायातका साधन सञ्चालन भएका छन् । मङ्सिरको दोस्रो हप्तादेखि उदयपुरको रौतामाई गाउँपालिका–५ स्थित फोक्सिङटार र खोटाङको खोटेहाङ गाउँपालिका-१ लिच्की राम्चेबीचमा पर्ने सुनकोसी नदीमा बेलीब्रिज जडान सुरु गरेर बिहीबार सम्पन्न भएको हो ।
औपचारिकरूपमा उदयपुरको गाईघाटदेखि दिक्तेलसम्म यातायातका साधन सिधै सञ्चालन सुरु भएको गाईघाट–दिक्तेल सडक कार्यालयका प्रमुख गोपालप्रसाद खकुरेलले बताउनुभयो । पचास मिटर लम्बाइ र ६।५ मिटर चौडाइको उक्त बेलीब्रिज जडान रेग्मी कन्स्ट्रक्शन निर्माण कम्पनी प्रालि गाईघाटले ७६ लाखको बजेटमा सम्पन गरेको सो कम्पनीका प्रोपराइटर महेश रेग्मीले बताउनुभयो ।
सुनकोशीमा बेलिब्रिज जडानसँगै छ महिनासम्म सिधा यातायात सेवा बन्द थियो । गाईघाट–दिक्तेल सडकअन्तर्गत प्रत्येक वर्ष हिउँदमा जडान गरिने र वर्षायाममा सुनकोसीको पानी बहाव बढेसँगै सुनकोसीको बेलिब्रिज छ महिनाका लागि खोलिने गरेको गाईघाट–दिक्तेल सडक कार्यालयले जनाएको छ ।
गत जेठमा खोलिएको उक्त बेलिब्रिज छ महिनापछि फेरि हिउँद लागेसँगै जडान गरिएको हो । सुनकोसीमा स्थायी पुल निर्माण सम्पन्न नहुँदा अस्थायीरूपमा यातायात सञ्चालन गर्न सुनकोसीमा छ महिना हिउँदमा बेलिब्रिज जडान गरिने र छ महिना बर्खामा खोलिने गरेको छ । वर्षमा ६ महिनासम्म गाईघाट–दिक्तेल सडकमा यातायात सञ्चालन बन्द हुँदा खोटाङ उदयपुरका पहाडी क्षेत्र जाने र पहाडी क्षेत्रबाट तराई झर्ने यात्रुहरूले दुःखकष्ट भोग्दै आउनुपरेको हिमाली यातायात व्यवसायी संघ गाईघाटले जनाएको छ ।-रासस