तनहुँ । तनहुँमा यस वर्ष सुन्तला उत्पादन वृद्धि भएको छ । गत वर्षको तुलनामा यस वर्ष १५ प्रतिशतले सुन्तला उत्पादनमा वृद्धि भएको हो । कृषि ज्ञान केन्द्र तनहुँका प्रमुख कुलप्रसाद तिवारीले यस वर्ष ढिला गरी सुन्तला पाकेको र वर्षा राम्रो भएका कारण सुन्तला उत्पादनमा वृद्धि भएको बताउनुभयो । “जिल्लाका विभिन्न ठाउँमा गरिएको अनुगमन र कृषकको भनाइअनुसार यस वर्ष सुन्तला उत्पादनमा वृद्धि भएको छ”, उहाँले भन्नुभयो, “जिल्लाका कृषकले सुन्तला बिक्री गरेर मनग्य आम्दानी गर्दै आएका छन् ।”
गत वर्ष जिल्लामा आठ हजार मेट्रिकटन सुन्तला उत्पादन भएको थियो । उत्पादितमध्ये धेरै सुन्तला जिल्ला बाहिर निर्यात हुने गरेको छ । जिल्लामा उत्पादित सुन्तला काठमाडौं, पोखरा, नारायणगढलगायतका ठाउँमा बिक्री हुने गरेको छ । यसका साथै जिल्लाकै दमौली, दुलेगौडा, खैरेनीटार, भिमादलगायतका ठाउँमा समेत यहाँको सुन्तला बिक्री हुने गरेको किसान बताउँछन् । यस वर्ष जिल्लाबाट २४ करोड बराबरको सुन्तला बिक्री वितरण हुने अनुमान छ ।
सुन्तला खरिदका लागि ठेकेदार सुन्तला बगानमै पुग्ने गरेका छन् । तनहुँमा एक हजार ६०० हेक्टरभन्दा बढी क्षेत्रफलमा सुन्तला उत्पादन हुँदै आएको कृषि ज्ञान केन्द्रले जनाएको छ । जिल्लाको म्याग्दे गाउँपालिका–२ र ३ स्थित उमाचोकमा सबैभन्दा बढी सुन्तला उत्पादन हुने गरेको छ । व्यास नगरपालिका-११ तनहुँसुर, वडा नं १३ को बेनीकोट, देवघाट गाउँपालिका-२, ३ र ४, आँबुखैरेनी गाउँपालिका–२ पतेनी, शुक्लागण्डकी नगरपालिका–११ राइपुर, भीमाद नगरपालिका–९ भानुमतिलगायतका ठाउँमा व्यावसायिकरुपमा सुन्तला उत्पादन हुँदै आएको छ ।
म्याग्दे गाउँपालिका–२ उमाचोकका सुकनारायण श्रेष्ठ, विश्वबहादुर अधिकारी, निर्मल अधिकारी, रामबहादुर अधिकारी लगायतले वार्षिक लाखौँ मूल्य बराबरका सुन्तला बिक्री गर्दै आउनुभएको छ । बन्दीपुर गाउँपालिकाले सुन्तला उत्पादन वृद्धिका लागि पकेट क्षेत्रसमेत घोषणा गरेको छ । यसले कृषकलाई उत्साहित बनाएको छ । बन्दीपुर गाउँपालिका–६ काफलस्वाँरामा व्यावसायिकरुपमा सुन्तलाखेतीका लागि पकेट क्षेत्र घोषणा गरिएको गाउँपालिकाका अध्यक्ष पूर्णसिं थापाले बताउनुभयो ।
कार्यक्रमका लागि गाउँपालिकाले पाँच लाख ५० हजार अनुदान दिनेछ । दुई लाख ७२ हजार ५०० कृषकले लागत सहभागिता बेहोर्नुपर्ने हुन्छ । दुई सय ५० रोपनी क्षेत्रफलमा सञ्चालन हुने कार्यक्रममार्फत यस गाउँमा सुन्तला उत्पादन वृद्धि गर्ने लक्ष्य राखिएको छ । काफलस्वाँरा गाउँपालिकाको राम्रो सुन्तला उत्पादन हुने क्षेत्र हो । यहाँका ३२ घरधुरीले सुन्तलाखेती गर्दै आएका छन् । यहाँबाट वार्षिक करिब २० लाखसम्म सुन्तला उत्पादन हुने गरेको छ । सुन्तलाको पकेट क्षेत्रको रुपमा घोषणा गरिएपछि यहाँ वार्षिक रुपमा सुन्तला उत्पादन वृद्धि हुने लक्ष्य लिइएको छ ।-रासस
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्