स्याङ्जा । स्याङ्जामा यसवर्ष झण्डै ६७ हजार मेट्रिक टन धान उत्पादन भएको छ । जिल्लामा बर्षे धान ६२ हजार २७१ र चैते (हिउँदे) धान चार हजार ४६४ गरी कूल ६६ हजार ७३५ मेट्रिक टन धान उत्पादन भएको हो । स्याङ्जामा यसवर्ष १६ हजार ८३० हेक्टरमा बर्षे धान र एक हजार २४० हेक्टरमा चैते (हिउँदे)धान लगाइएको कृषि ज्ञान केन्द्रका बागबानी विकास अधिकृत सोनी रानाले जानकारी दिनुभयो । वर्षे धानमा ३.७ मेट्रिक टन प्रति हेक्टर र चैते धानमा ३.६ मेट्रिक टन प्रति हेक्टर धानको उत्पादकत्व रहेको उहाँले बताउनुभयो ।
गत वर्षको तुलनामा जिल्लामा यसवर्ष धान उत्पादनको क्षेत्रफल घटेको हो । गतवर्ष १८ हजार १३७ हेक्टर क्षेत्रफलमा ६७ हजार १०६ मेट्रिक टन धान उत्पादन भएको थियो । यहाँका किसान धानखेतीबाट विस्तारै फलफूल जातका खेतीतर्फ लाग्नु र खेतीयोग्य जमिन घर घडेरीका रुपमा परिणत भई उत्पादन हुने भूमि नासिनु जस्ता कारणले गर्दा क्षेत्रफल घटेको उहाँले बताउनुभयो ।
स्याङ्जामा आर्थिक वर्ष २०७६/७७ मा १८ हजार १२० हेक्टर क्षेत्रफलमा ६५ हजार ३३२ मेट्रिक टन धान उत्पादन भएको थियो । पछिल्लो तीन वर्षको तुलनामा गत वर्ष सबैभन्दा धेरै धान उत्पादन भएको तथ्याङ्क कृषि ज्ञान केन्द्रमा छ । स्याङ्जाका चापाकोट टार, जिमुहा, पकान, डौवा, लामागे, ठूलाडिही, साँखर, चिन्नेबाससहित आँधीखोला, ज्याग्दीखोला र दरौंखोला आसपासका क्षेत्र धान खेतीका दृष्टिले पकेट क्षेत्र हुन् । पछिल्लो समय उन्नत जातका धान लगाउने प्रचलन बढेको छ । विशेषगरी रामधान, सावित्री, खुमल ४, ११, १३, सुनौलो सुगन्ध, राधा–४ जस्ता उन्नत धान लगाउने गरिन्छ ।
केही ठाउँहरुमा स्थानीय जातका पहेँले, आँपझुत्ते, मनसरा, गुर्जी, एक्ले, जर्नेली, अनदी, बाटीसरा, झिनुवालगायत जात पनि लगाउने गरिएको पाइन्छ । कृषि ज्ञान केन्द्रले उन्नत जातप्रति किसानको आकर्षण बढ्दै जाँदा स्थानीय जातका धान लोप हुनसक्ने भएकाले त्यसलाई मध्यनजर गर्दै रैथाने बाली तथा बीउ संरक्षणका कार्यक्रम पनि सञ्चालन गरेको बागबानी विकास अधिकृत रानाले जानकारी दिनुभयो । -रासस
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्