भक्तपुर । कोरोना भाइरस सङ्क्रमणको तेस्रो लहर आएसँगै सूर्यविनायक नगरपालिकाले आफ्ना नगरवासीका साथै अन्य नागरिकको उपचार गर्न २५ शैयाको सूर्यविनायक नगर अस्पताल सञ्चालनमा ल्याउने भएको छ । अक्सिजन प्लान्टसहित सञ्चालन गर्ने अस्पतालका लागि पाँचवटा भवनलगायतका आवश्यक पूर्वाधार निर्माण सम्पन्न भएकाले नगरपालिका अब अस्पताल सञ्चालनको तयारीमा लागेको सूर्यविनायक नगरपालिकाका प्रमुख वासुदेव थापाले जानकारी दिनुभयो ।
अरनिको राजमार्गसँगै जोडिएको सूर्यविनायक नगरपालिका–८ जगाती चोकस्थित भक्तपुर इँटा तथा टायल कारखानाले प्रयोग गर्दै आएको नेपाल सरकारको २५ रोपनी क्षेत्रफलमा अस्पताल सञ्चालनका लागि भवन निर्माणलगायतका पूर्वाधार निर्माण सम्पन्न गरेको उहाँले जानकारी दिनुभयो । नगरप्रमुख थापाले भन्नुभयो, “हामी निर्वाचित भएर आएपछि चुनावमा गरेका सबै घोषणा पूरा गरेका छौँ, दुर्गम मानिएको गाउँ–गाउँमा सडक, खानेपानी, सामुदायिक भवन, विद्यालय भवन, स्वास्थ्यचौकी पुर्याउने काम सम्पन्न गरेका छौँ, अब आफ्नै नगर अस्पताल सञ्चालन गर्ने धोको पूरा भएको छ, अबको एक महिनाभित्र अस्पताल सञ्चालनमा ल्याउँछौँ, हाम्रा जनताले उपचार नपाएर ज्यान गुमाउनुपर्ने अवस्था नआओस् भनेर लागिरहेका छौँ ।”
नगरपालिकाले अस्पताल सञ्चालनसँगै बिरामीलाई गुणस्तरीय सेवा प्रदान गर्दै चुस्त व्यवस्थापनका लागि केही महिना अगाडि मात्रै टेकु अस्पतालबाट अवकाशप्राप्त विशेषज्ञ डा सागर राजभण्डारीलाई अस्पतालको निर्देशकका रूपमा नियुक्ति दिएर अस्पतालमा काम सुरु गरिसक्नुभएको उहाँले जानकारी दिनुभयो ।
अस्पतालको प्रशासनिक भवन, आकस्मिक कक्ष, आइसीयू तथा भेन्टिलेटर कक्ष, एचडीयू, ओपिडी, जनरल वार्डलगायतका संरचना निर्माण सम्पन्न भएर अस्पतालको कम्पाउण्डभित्र कालोपत्र गर्ने तयारी भइरहेको अस्पताल निर्माण समितिका संयोजक एवं वडा नं ८ का वडाध्यक्ष किरण थापाले जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो, “कालोपत्र सकिएपछि नगरपालिकामा रहेका आफ्नै जनशक्ति र नेपाल सरकारले पठाएका चिकित्सकको टोलीबाट अस्पतालको सेवा सुरु गर्ने भएका छौँ, एक महिनाभित्र अस्पताल सञ्चालनमा ल्याउनका लागि हामी अहोरात्र खटिएका छौँ, पछि आवश्यकतानुसार प्रदेश सरकारबाट अनुमति लिएर अस्पतालको शय्या तथा जनशक्ति थप गर्दै लैजाने नगरपालिकाको योजना छ ।”
सांसद महेश बस्नेतको सांसद विकास कोष, बस्नेतकै पहलमा केन्द्रीय सरकारबाट आएको ७५ लाख र बाँकी सूर्यविनायक नगरपालिकाको बजेट गरी करिब आठ करोडको लागतमा अस्पताल सञ्चालनमा आउन लागेको हो । अस्पताललाई आइसीयू र भेन्टिलेटर सञ्चालनका लागि बस्नेतले एक करोड ५० लाखको बजेट व्यवस्था गर्नुभएको छ ।
नगरपालिकाले वडा नं ५ दधिकोटको स्वास्थ्यचौकीको स्तरोन्नति गरेर १० शैयाको सूर्यविनायक नगर अस्पताल सञ्चालन गरिरहेको छ । अब जगातीमा नगर अस्पताल सञ्चालन गर्न दधिकोटको सोहीको जनशक्ति र नगरपालिकाका विभिन्न स्वास्थ्यचौकीमा अतिरिक्त सङ्ख्यामा रहेका स्वास्थ्यकर्मी एवं जनशक्तिलाई यहाँ ल्याएर अस्पताल सञ्चालनमा ल्याइने भएको छ । कोरोना सङ्क्रमण बढ्दै गएपछि नगरपालिकाले नागरिकलाई कोरोना सङ्क्रमणमा शैया नपाएर भौतारिन नपरोस् र उपचार नपाएर ज्यान गुमाउनु नपरोस् भन्ने उद्देश्यका साथ सञ्चालनमा ल्याउन लागेको नगरपालिकाले नागरिकका लागि आफ्नै अस्पतालबाट स्वास्थ्य बिमा सेवासमेत दिने भएको छ ।-रासस
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्