काठमाडौं । देशभर विभिन्न घटना घट्छन् । केहि सामान्य समाचारका विषय हुन्छन्, केहि समाचारले असामान्य कम्पन पैदा गरिदिन्छन् । केहि तस्विर फगत तस्विरमात्र हुन्छन् भने केहि तस्विरले देश बोल्दछन् । हामी हरेक दिन सातै प्रदेशका त्यस्ता तस्विरहरुलाई प्रकाशन गर्छौँ, जसले देश र जनताको आर्थिक स्थिति प्रतिनिधित्व गर्छ । समसामयिक विषयमा राज्यलाई खबरदारी गर्छ र जनताको जीवन बोल्छ ।
आज कुन-कुन ठाउँमा के-के भयो ? यी दृश्यहरु आफैं बोलिरहेछन् । आजको अंकमा हामीले माटोका भाँडा निर्माण गर्दै कञ्चनपुरका कुमालदेखी सडक कालोपत्रे गर्दै गलकोटका कामदारसम्मका तस्विरलाई फोटोमा समेटेका छौं ।
हेरौं फोटो समाचार :
शुक्लाफाँटा नगरपालिका- १२ कालागौँडीमा कुमाले माटोका भाँडा बनाउँदै । माटोका भाँडा बनाएर बिक्री गरी कुमालेका तीन परिवारको खर्च धानिँदै आएको छ । तीन पुस्तादेखि भारतीय कुमालेले यहाँ माटोका भाँडा बनाउँदै आएका छन् ।
सडक बोर्ड र बागलुङ नगरपालिकाको साझेदारीमा बागलुङ बजारदेखि बोक्से सडकअन्र्तगत सेरामा सडक कालोपत्रे गरिँदै । पछिल्लो चार वर्षमा देउराली चोकदेखि बोक्सेसम्मको २.६ किलोमिटर सडक २ करोड ५० लाखको लागतमा पक्की भएको छ ।
म्याग्दीको धवलागिरि गाउँपालिका–४ मुदीको लिप्सिबा खर्कमा रहेको भेडीगोठ । यस क्षेत्रमा परम्परागत घुम्तीगोठ राखेर भेँडापालन हुँदै आएको छ ।
म्याग्दीको बेनी नगरपालिका–५ पछैमा निर्माण हुन लागेको रावण पार्कमा राखिने रावणको मूर्ति बनाउँदै कालीगड । बेनी नगरपालिका र पर्यटन मन्त्रालयको साझेदारीमा पछैमा रावण पार्क निर्माण सुरु भएको छ ।
पाँचथरको कुम्मायक गाउँपालिका र तेह्रथुमको म्याङ्लुङ नगरपालिका जोड्ने तमोर नदीस्थित लुबुघाटमा झोलुङ्गेपुलबाट मोटरसाइकलमा यात्रा गर्दै नागरिक । लुबुघाटमा १० वर्ष अघि निर्माण गर्न थालिएको पुलको काम पूरा नहुँदा स्थानीयवासीले सास्ती व्यहोर्दै आएका छन् ।
स्याङ्जाको वालिङ–५, पित्लेकस्थित पित्लेक अर्गानिक फर्ममा परम्परागत झल्को दिने गरी निर्माण गरिएको घुमाउने घर । घरबास सञ्चालनमा रहेको उक्त ठाउँमा आउने पाहुनालाई स्वागत तथा आवासका लागि प्रयोग गरिएको छ ।