विराटनगर । मोरङको कानेपोखरी–२ (दर्बेसा र केराउन जोड्ने) स्थित गेउरिया खोलाको पुल निर्माणमा ढिलाइ गर्ने निर्माण कम्पनीलाई कारबाहीको माग गर्दै जिल्ला प्रशासन कार्यालय मोरङमा उजुरी परेको छ ।
गेउरिया खोलाको पुल निर्माण दुई वर्षमा सम्पन्न गर्नेगरी २०७१ साल कात्तिकमा सम्झौता भएको थियो । अहिलेसम्म पुल सम्पन्न भएको छैन । हाल ७० प्रतिशत काम भएपछि निर्माण कम्पनीले विना कारण काम रोकेको छ ।
निर्माण कम्पनीलाई कारबाही गर्नुपर्ने माग गर्दै निवेदन दिनेमा कानेपोखरीका राजेन्द्रकुमार मण्डल र अर्जुन आचार्य रहेका छन् । “दुई वर्षभित्र सक्नेगरी सम्झौता भए पनि सात वर्ष बितिसक्दा पुल निर्माण हुन सकेको छैन । पुल नहुँदा उक्त ठाउँमा सर्वसाधारण जनतालाई आवतजावतमा समस्या छ”, जिल्ला प्रशासन कार्यालयमा दिएको निवेदनमा उल्लेख छ, “गत बुधबार राति आगो निभाउन हिँडेको दमकल खोला तर्ने क्रममा त्यहीँ पल्टिएको थियो । सो स्थानमा यसखालका सवारी साधन पल्टिने, दुर्घटना हुनेक्रम लामो समयदेखि निरन्तर जारी छ । यसको सम्पूर्ण कारण भनेको पुल नहुनु नै हो ।”
पुल निर्माण गर्ने सम्झौता गरेर पुल निर्माण नगर्दा भइरहेको क्षतिको जिम्मेवारी निर्माण कम्पनीले लिनुपर्ने बताउँदै निवेदक मण्डलले पुल निर्माणमा लापर्बाही गर्नेलाई कारबाही गर्नुपर्नेमा जोड दिनुभयो । “आवश्यक छानविन गरी दोषीउपर कारबाही गर्न तथा छिटोभन्दा छिटो पुल निर्माणका लागि पहल गरिदिन हामीले जिल्ला प्रशासन कार्यालयमा निवेदन दिएका हौँ”, उहाँले भन्नुभयो ।
जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी महेशराज तिम्सिनाले निर्माण कम्पनीका सञ्चालक सराजुद्धिन अन्सारीलाई बोलाएर जवाफ माग गर्ने बताउनुभयो । “हामीले जिल्ला प्रशासन कार्यालयमा यस विषयमा छलफल गरेका छौँ”, सहायक प्रजिअ तिम्सिनाले भन्नुभयो, “कानूनअनुसार सरकारले प्रक्रिया अगाडि बढाउँछ, त्यहाँ पुल नहुँदा समस्या छ, म पनि त्यस ठाउँबाट ओहोरदोहोर गरेको छु ।” पुल निर्माण नहुँदा सर्वसाधारणलाई आवतजावत सहज बनाउन निर्माण कम्पनीलाई तुरुन्त निर्देशन दिइने सहयाक प्रजिअ तिम्सिनाको भनाइ छ ।
पुल निर्माणको लागि भुटाहा सुनसरीको फ्युचर र सराउद्दिन निर्माण सेवाले संयुक्तरुपमा ठेक्का पाएका थिए । एक करोड १८ लाखमा पुल निर्माणको सम्झौता भएर ५७ लाख भुक्तानी पनि लगिसकेको सङ्घीय सडक सुपरीवेक्षण तथा अनुगमन कार्यालय इटहरीअन्तर्गतको सडक डिभिजन कार्यालय विराटनगरले जनाएको छ ।
निर्माण कम्पनीका सञ्चालक सराजुद्दिन अन्सारीलाई पटकपटक ताकेदा गर्दा पनि काम नभएको सडक डिभिजन कार्यालयको भनाइ छ । “विश्वास गर्नै गाह्रो भइसक्यो, दसैँ अगाडिदेखि नै काम गर्नभन्दा पनि दसैँपछि, तिहारपछि, छठपछि, एक हप्तापछि भन्दै ढाँट्दै आएको छ”, सडक डिभिजन कार्यालय विराटनगरका प्रमुख इञ्जिनीयर सुदर्शन कार्कीले भन्नुभयो । “हामीले आजमात्रै कार्यालयमा बोलाएर कारबाहीको चेतावनी दिएका छौँ”, उहाँले भन्नुभयो, “ निर्माण कम्पनीले आउँदो आइतबार, सोमबारदेखि काम गर्छु भन्नुभएको छ ।”
यता, निर्माण कम्पनीका सञ्चालक अन्सारीले आफूले पुल निर्माणका लागि रु अढाइ करोड खर्च गरिसकेको बताउनुभयो । पुल ढिलो निर्माण हुनुमा बेस निर्माण गर्ने क्रममा अत्याधिक पानी रहेको कारण खर्च बढेको स्पष्ट पार्नुभयो । यद्यपि आफूले काम सम्पन्न गर्ने उहाँले बताउनुभयो । उहाँले भत्रुभयो, “दुई चार दिनपछि म काम सुरु गर्छु, अहिले बिरामी छु ।” पछिल्लो समयमा विकास निर्माणमा जुटिने निर्माण कम्पनीले पहिलो चरणको रकम भुक्तानी पाएपछि काममा आलटाल गर्ने, ढिलो गर्ने समस्या मोरङमा व्यापक रहेको जनगुनासो सुन्न पाइन्छ ।
निर्माण कार्यमा लापरवाही गर्ने निर्माण कम्पनीका विषयमा निकै चर्चा हुन थालेपछि प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले त्यस्ता निर्माण कम्पनीलाई कारवाही गर्छु र निर्माण कार्य सम्पन्न गराउँछु भनेर जनतालाई आवश्वासन पनि दिइरहनुभएको छ ।-रासस
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्