×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

५७ करोड ९ लाख मूल्य बराबरको सुन्तला बिक्री गर्न सफल स्याङ्जाका किसान

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

५७ करोड ९ लाख मूल्य बराबरको सुन्तला बिक्री गर्न सफल स्याङ्जाका किसान

Artha Sarokar

६ माघ २०७८, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

वालिङ । सुन्तलाको स्वाद र उत्पादनका दृष्टिले छुट्टै पहिचान बनाएको स्याङ्जामा यसवर्ष ५७ करोड ९ लाख मूल्य बराबरको सुन्तला बिक्री भएको छ ।

गत वर्षको तुलनामा सुन्तला उत्पादनमा कमी आएको भएपनि बजार मूल्य राम्रो पाएकाले सो मूल्य बराबरका सुन्ताला बिक्री भएको हो । जिल्लामा यसवर्ष १३ हजार ८४० मेट्रिक टन सुन्तला उत्पादन भएको कृषि ज्ञानकेन्द्र स्याङ्जाले जनाएको छ । उत्पादित सुन्तालामध्ये २५ प्रतिशत अर्थात् तीन हजार ४६० मेट्रिक टन किसान/व्यवसायी आफैले उपभोग गरेको र बाँकी १० हजार ३८० मेट्रिक टन अर्थात् ७५ प्रतिशत बिक्री गर्दा उक्त आम्दानी भएको केन्द्रका प्रमुख विनोद हमालले जानकारी दिनुभयो ।

जिल्लामा कूल एक हजार ९६९ हेक्टर क्षेत्रफलमा सुन्तला बगैँचा फैलिएको छ । तीमध्ये एक हजार ३८० हेक्टर क्षेत्रफलमा मात्र सुन्तला खेती गरिएको केन्द्रले जनाएको छ । “यसवर्ष कूल ७६ करोड १२ लाख मूल्य बराबरको सुन्तला फलेको थियो”, प्रमुख हमालले भन्नुभयो, “उत्पादनको २५ प्रतिशत अर्थात् रु १९ करोड तीन लाख मूल्य बराबरको सुन्तला किसान तथा व्यवसायी आफैले उपभोग गरेको देखिन्छ भने बाँकी ७५ प्रतिशत अर्थात् ५७ करोड ९ लाख मूल्य बराबरको सुन्तला बिक्री भएको हो ।”

उहाँका अनुसार जिल्लाभित्रैका स्थानीय बजारमा २० प्रतिशत अर्थात् दुई हजार ७६ मेट्रिक टन बिक्री हुँदा कूल ११ करोड ४१ लाख ८० हजार आम्दानी भएको छ । त्यस्तै जिल्लाबाहिर ८० प्रतिशत सुन्तला अर्थात् आठ हजार ३०४ मेट्रिक टन बिक्री हुँदा ४५ करोड ६७ लाख २० हजार आम्दानी भएको छ । यसवर्ष किसानले प्रतिकिलो थोक मूल्य ५० र खुद्रा मूल्य ८० मा बिक्री गरेका छन् ।

गतवर्ष स्याङ्जामा कूल एक हजार ६५५ हेक्टर क्षेत्रफलमध्ये कूल एक हजार १६० हेक्टर क्षेत्रफलमा सुन्ताला खेती गरिएको थियो । सो खेतीबाट १७ हजार ६३२ टन सुन्तला उत्पादन भएको थियो । यस वर्षभन्दा गतवर्ष सुन्तला उत्पादन धेरै भए पनि उचित बजार मूल्य नपाउनु र मूल्य थोरै भएका कारण किसानले बिक्रीको मात्रा घटाएर कोसेलीकारुपमा प्रयोग गरेको पाइएको प्रमुख हमालले बताउनुभयो । “यसवर्ष मूल्य पनि बढी भएकाले किसानले कोसेलीभन्दा बिक्रीतर्फ बढी जोड दिएको देखियो”, उहाँले भन्नुभयो, “उत्पादन कम हुँदाहुँदै पनि बिक्रीलाई बढी जोड दिएकै कारण आम्दानीमा बृद्धि भएको हो ।”

गतवर्ष जिल्लामा ७९ करोड ३४ लाख ४० हजार मूल्य बराबरको उत्पादन भए पनि जम्मा ५५ करोड मूल्य बराबरको सुन्तला बिक्री भएको थियो । यहाँका किसानले गतवर्ष प्रतिकिलो थोक मूल्य ४५ र खुद्रा मूल्य ७५ मा सुन्तला बिक्री गरेका थिए ।-रासस

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी