×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

चोरी–तस्करी बढ्दा सत्ती भन्सार कार्यालयको राजस्व संकलनमा कमी

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

चोरी–तस्करी बढ्दा सत्ती भन्सार कार्यालयको राजस्व संकलनमा कमी

Artha Sarokar

११ माघ २०७८, मंगलवार

पढ्न लाग्ने समय: २ मिनेटभन्दा कम

भजनी । खुला सीमानाकाबाट चोरी–तस्करी बढेपछि सत्ती भन्सार कार्यालयको राजस्व संकलनमा कमी आएको छ । कोरोनाको दोस्रो लहरका कारण जनजीवन प्रभावित भएको अवस्थामा सीमानाकामा गरिएको कडाइका कारण चालु आर्थिक वर्षको दुई महिनामा लक्ष्य भन्दाबढी राजस्व संकलन गरेको भन्सार कार्यालयले सीमानाकामा आवागमन सहज भएसँगै चोरी–तस्करीका घटना बढेपछि भन्सार कार्यालयको राजस्व संकलनमा कमी आएको हो ।

भन्सार कार्यालय सत्तीका प्रमुख विमलकुमार शाहले खुला सीमाका कारण आवागमनमा सहज हुन थालेपछि चोरी–तस्करीबाट सामानको आयात हुन थालेपछि राजस्व संकलनमा कमी आएको बताउनुभयो । “साउन, भदौतिर मोहोना नदीबाट सहजरूपमा आवतजावत हुँदैन । त्यस समयमा भन्सारबाट सामान भित्रिने भएका कारण चोरी–तस्करी कम हुन्छ र राजस्वमा वृद्धि भएको देखिन्छ”, कार्यालय प्रमुख शाहले भन्नुभयो, “अहिले नदीबाट सहज आवतजावत हुनु र सीमा पूर्णरूपमा खुला भएकै कारण पनि राजस्व संकलनमा निकै कमी आएको छ ।” उहाँले सीमानाकामा रहेको सशस्त्र प्रहरीको निगरानी कम भएका कारणले पनि चोरी–तस्करीका घटना बढ्दै गएको बताउँदै प्रहरीको काम नै चोरी–तस्करी कम गर्ने भए पनि त्यसमा प्रहरीको चासो कम भएको बताउनुभयो ।

सत्ती भन्सार कार्यालयले पुस महिनामा लक्ष्यभन्दा निकै कम राजस्व संकलन गरेको छ । भन्सार कार्यालयले पुसमा एक करोड ७७ लाख ६६ हजार राजस्व संकलन गर्नुपर्ने लक्ष्य रहेकामा रु ६९ लाख ५४ हजार ४१५ मात्रै संकलन भएको छ । भन्सार कार्यालयले असोजदेखि लक्ष्यअनुसारको राजस्व संकलन गर्न सकेको छैन । असोजामा रु एक करोड ६५ लाख ५० हजार, कात्तिकमा रु एक करोड ७३ लाख ७६ हजार र मङ्सिरमा रु एक करोड ७६ लाख ५२ हजार राजस्व उठाउने लक्ष्य राखेकामा असोजमा रु एक करोड २० लाख ८३ हजार १२, कात्तिकमा रु एक करोड नौ लाख पाँच हजार ४४७ र मङ्सिरमा रु एक करोड १० लाख ९६ हजार १९४ राजस्व संकलन गरेको छ । प्रतिशतमा पनि असोजमा ७३, कात्तिकमा ६२ दशमलव ७६, मङ्सिरमा ६४ र पुसमा ३९ प्रतिशतमात्रै राजस्व संकलन भएको छ ।

चालु आवको साउन र भदौमा भने भन्सारमा लक्ष्यभन्दा बढी राजस्व संकलन भएको भन्सार कार्यालयका प्रमुख शाह बताउँनुहुन्छ । उहाँका अनुसार साउनमा रु एक करोड ७२ लाख २० हजार ८८५ र भदौमा रु एक करोड ९० लाख नौ हजार ७३४ राजस्व संकलन भएको थियो । साउन र भदौमा रु एक करोड २२ लाख ५४ हजार र एक करोड ६५ लाख ९७ हजार राजस्व संकलनको लक्ष्य थियो । २० करोड ५८ लाख ६१ हजार राजस्व संकलनको लक्ष्य लिएको सत्ती भन्सार कार्यालयले छ महिनाको अवधिमा सात करोड ७२ लाख ६९ हजार ६८७ मात्रै संकलन गरेको कार्यालय प्रमुख शाह बताउँनुहुन्छ ।

उहाँले वार्षिक लक्ष्य भेट्टाउन मुस्किल देखिएको बताउँदै बजारमा देखिएको आर्थिक मन्दीका कारणले पनि पुसमा सामान आयात कम भएको बताउनुभयो । “एकातिर आर्थिक मन्दीको असर पनि पर्यो । अर्कातिर सीमानाका खुला हुँदा दैनिक उपभोग्य सामानको लागि भारतीय बजार जानेका कारण नेपाली बजारमा कारोबार कम भएकाले पनि भन्सारको राजस्वमा असर परेको देखिन्छ, सीमानाकामा कडाइ हुनसक्यो र आयात हुने सामान भन्सार भएर आउने वातावरण बन्यो भने वार्षिक लक्ष्य भेट्टाउन त्यत्ति गाह्रो छैन ।”

गत आवमा सीमानाकामा भएको कडाइका कारण भन्सारले लक्ष्यभन्दा ११ प्रतिशत बढी राजस्व संकलन गरेको थियो । १४ करोड २३ लाख ४८ हजार लक्ष्य रहेकामा भन्सारले १५ करोड ८३ लाख सात हजार ९७३ राजस्व संकलन गरेको थियो ।-रासस

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी