म्याग्दी । म्याग्दीका माथिल्लो क्षेत्र यतिखेर आन्तरिक पर्यटकले भरिभराउ भएका छन् । हिउँमा खेल्न लेकमा जाने आन्तरिक पर्यटकले जिल्लाका माथिल्लो क्षेत्र भरिएका हुन् । हिउँसँग रमाउन र दृश्यावलोकन गर्न लेकतर्फ उक्लिएको बेनी नगरपालिका–२ का सन्तोष खड्काले बताउनुभयो । “मैले अहिलेसम्म हिउँमा खेल्न पाएको थिइनँ, यस वर्ष हिउँ खेल्न लेकतिर उक्लिएको हुँ”, उहाँले भन्नुभयो, “धेरै वर्षपछि लेकमा पुगेर साथीहरूसँग हिउँ खेल्दा निकै आनन्द आयो ।”
उहाँसँगै हिउँ खेल्न जिल्लको पर्यटकीय क्षेत्र टोड्केमा पुग्नुभएका सुमन रिजालले पनि पहिलोपटक हिउँ खेल्न पाउँदा निकै आनन्द आएको बताउनुभयो । “चिसो लाग्ला भन्ने डरलाई हिउँ खेल्दाको आनन्दले जित्यो”, उहाँले भन्नुभयो, “यहाँको दृश्य र हिउँको रमाइलोले सबै कुरा बिर्साउँदोरहेछ ।”
जिल्लाका छवटै स्थानीय तहका माथिल्लो क्षेत्रमा तीन दिनसम्म भारी हिमपात भएको थियो । सरदमुकाम बेनी बजारबाट नै गाउँका डाँडामा परेको हिउँको दृश्यावलोकन गर्न सकिने भए पनि हिउँसँग खेल्न लेकमा नै उक्लनुपर्दछ । जिल्लाका पर्यटकीयस्थल घोडेपानी, रुइसे, टोड्के, झाँक्रीपानीलगायतका स्थानमा हिउँ खेल्न शनिबार उल्लेख्य मात्रामा आन्तरिक पर्यटक पुगेका थिए । सदरमुकाम बेनीबजारबाट ती क्षेत्रमा पुग्न गाडीमा दुईदेखि पाँच घण्टाको समय लाग्छ । यातायातको सुविधा भएको हुनाले पनि पछिल्लो समय म्याग्दीका पर्यटकीय क्षेत्रमा आन्तरिक पर्यटकको भीड लाग्ने गरेको पर्यटन व्यवसायी बताउँछन् ।
बेँसीबाट हिउँ खेल्न मानिस पहाड चढ्दा त्यहाँका व्यवसायीको व्यापार पनि बढेको छ । “हिउँमा खेल्न आएका मानिसले केही न केही खानेकुरा किनेर खाने गर्छन्, यसका कारण यहाँको व्यापार बढेको छ”, होटल व्यवसायी मोहन खत्रीले बताउनुभयो । हिउँ खेलेपछि मानिस खाजाका लागि प्रायः होटलमा छिर्ने गरेको जनाउँदै उहाँले हिमपातका कारण स्थानीय होटल व्यवसायीलाई बढी फाइदा भएको जानकारी दिनुभयो ।
शनिबार म्याग्दीको पर्यटकीयस्थल टोड्केमा मात्रै हिउँ खेल्नका लागि ३०० भन्दा बढी युवायुवती पुगेका टोड्के हिल रिसोर्ट प्रालिले जनाएको छ । समुद्री सतहदेखि दुई हजार ५०० मिटरको उचाइमा रहेको टोड्केबाट संसारको सातौँ अग्लो हिमाल धवलागिरि, दशौँ अग्लो अन्नपूर्ण तथा निलगिरि, माछापुच्छे, गुर्जा, चुरेन, मानापाथीलगायतका दर्जनौँ मनोरम हिमशृङ्खला देखिनुका साथै यस समय वनैभरि राताम्यै फुलेको लालीगुराँससग रमाउन पाइन्छ ।-रासस
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्