Skip to content
LAXMI SUNRISE BANK

डिजिटल कारोबारमा अर्थमन्त्रीको चासो, भन्छन् – ‘अवैध कारोबारका कारण दैनिक ५० करोड रुपैयाँ बाहिरिन थाल्यो’

अर्थ सरोकार

काठमाडौँ । अर्थमन्त्री जनार्दन शर्माले अहिले अवैध डिजिटल कारोबारका कारण दैनिक ५० करोड रुपैयाँसम्म नेपाली मुद्रा बाहिरिन थालेको बताएका छन् । रुकुम सदरमुकाममा पत्रकार महासंघ शाखा कार्यालय, रुकुमले सोमबार बिहान आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै मन्त्री शर्माले मौलाएको अवैध डिजिटल कारोबारका कारण पनि अहिले मुलुकको वित्तीय प्रणालीले तरलता संकेट खेपिरहेको बताएका हुन् ।
क्रिप्टो, नेटवर्किङलगायतका डिजिटल प्रविधिबाट मोटो रकम बाहिरिने गरेपछि सरकारले यस्ता मुद्रा कारोबारमा अंकुशसमेत लगाएको छ । यस्ता डिजिटल कारोबार रोक्नका लागि गैरकानुनी घोषणा गरी कारवाही प्रक्रिया अघि बढाइएको अर्थमन्त्रीको भनाई छ । साथै अर्थमन्त्री शर्माले यस्ता गतिविधि रोक्न सबै संयन्त्र परिचालन गरिएको पनि बताएका छन् ।
अर्थमन्त्री शर्माले सरकारले तरलता समस्या समाधान गर्न गहन तरिकाले काम गरिरहेको पनि बताएका छन् । अर्थ मन्त्रालय यतिबेला  बजेट निर्माणमा केन्द्रित हुन थालेको भन्दै उनले कृषिलाई पहिलो प्राथमिकतामा राखेर कार्यक्रम बनाउन सुरु गरिएको जानकारी दिए ।
अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम, सुन–चाँदी, खाने तेल, प्लास्टिक, डण्डी तथा डण्डीजन्य बस्तु, ढुवानीमा प्रयोग हुने पानीजहाज तथा कन्टेनरको भाँडादरलगायतको मूल्य वृद्धिले नेपालमासमेत मूल्यवृद्धिमा चाप परिरहेको उनले बताए । यद्यपि मूल्यवृद्धिका लागि राखिएको बार्षिक लक्ष्यको बाञ्छित सिमा भित्रै रहेकाले अत्तालिनुपर्ने स्थिति नरहेको अर्थमन्त्री शर्माको भनाई छ ।
Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK