खाँदबारी । सङ्खुवासभाको भोटखोला गाउँपालिका–४ को जग्गा ठगी प्रकरणमा मालपोत कार्यालयका नायब सुब्बा महेन्द्र पराजुलीसँग अख्तियार दुरुपयोग अनुसन्धान आयोगले स्पष्टीकरण माग गरेको छ । भोटखोला गाउँपालिका–४ का वडाध्यक्ष किन्साङ भोटे र मालपोत कार्यालयका नायब सुब्बा पराजुरीसहितको टोलीले स्थानीयवासी दलबहादुर तामाङको २७ रोपनी जग्गा जालसाजी गरी आफन्तका नाममा पास गरेको अभियोग लगाइएको छ । जग्गाधनीलाई पत्तो नदिई जग्गा रजिष्ट्रेशन पास गरेपछि आयोगले नायब सुब्बा पराजुलस्सँग स्पष्टीकरण माग गरेको हो ।
किर्ते कागज गरेर मालपोतका नायव सुब्बा पराजुलीको संलग्नतामा जग्गा रजिष्ट्रेशन पास भएको भन्दै आयोगले उहाँसँग स्पष्टीकरण मागेको मालपोत कार्यालय सङ्खुवासभाका प्रमुख चन्द्र मिश्रले जानकारी दिनुभयो । अख्तियारले लिखित स्पष्टीकरण मागेपछि कार्यालयले लिखित जवाफ पठाइएको मालपोत प्रमुख मिश्रले बताउनुभयो ।
मालपोत कर्मचारीसँग बयान लिइँदै
जग्गा ठगी प्रकरणमा मालपोत कर्मचारीसँग बयान लिने क्रम जारी रहेको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका प्रमुख प्रहरी नायब उपरीक्षक लालध्वज सुवेदीले बताउनुभयो ।
मृतक तामाङको नाममा रहेको जग्गा अर्काको नाममा पास गरेको अभियोगमा प्रहरीले वडाध्यक्ष भोटे, सोही वडाका सुरेन्द्र तामाङ, कल्पना भोटे, ङिमा लाजुङ भोटे, खाँदबारी–१ का हाल मालपोल कार्यालय खाँदबारीमा कार्यरत महेन्द्रकुमार पराजुली, मकालु गाउँपालिका–४ घर भाई खाँदबारीमा लेखापढी व्यवसाय गर्ने अनिष गुरुङ र चैनपुर नगरपलिकाका पासाङ शेर्पालाई पक्राउ गरेको थियो । कीर्ते कागज बनाएर स्थानीय दलबहादुर तामाङको २७ रोपनी जग्गा आफन्तको नाममा पास गरेको आरोपमा पक्राउ परेका उनीहरुमाथि अनुसन्धान गरिरहेको छ ।
वृद्धभत्ताको कागज भन्दै औँठा छाप लगाउन लगाई तामाङको फागुन १ मा नागरिकताको प्रतिलिपिसमेत निकालियो । आफ्नो नाममा आएलगत्तै २७५ कित्ताको जग्गा पासाङ शेर्पा र २८० कित्ताको जग्गा कल्पना भोटे र डिमालाजुङ भोटेको नाममा संयुक्त पास गरिएको विममायालाई पत्तै छैन । कल्पनाको हकमा लेखापढी व्यवसायी अनिश गुरुङको नाममा वारेस पास भएको छ । वारेसनामाको कागजपत्र नक्कली भएको प्रहरीले जनायो । मालपोतमा जग्गा पास भइसकेपछि सुरेन्द्रले वृद्धभत्ता भन्दै विममायालाई रु २० हजार दिएको पीडितको भनाइ छ ।
विममायाको नाममा जग्गा नामसारी गर्न वडाध्यक्ष भोटेले सदरमुकाममा बसेर नागरिकताको प्रतिलिपि, घरबाटो प्रमाणित, जग्गा नामसारीको सिफारिस बनाएका थिए । बिक्री भएको दुई कित्तामध्ये २७५ नम्बरको जग्गा फागुन १६ मा पासाङबाट कविता पराजुलीको नाममा रजिष्ट्रेशन पास गरिएको छ । जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक लालध्वज सुवेदीका अनुसार उनीहरूले अपर अरुण जलविद्युत्् आयोजनास्थलको मुआब्जा क्षेत्रमा पर्ने जग्गा मात्रै झुक्याएर पास गरिएको देखिएको छ । अन्य चार कित्ता भने विममायाकै नाममा सुरक्षित छ । मुआब्जाभित्र पर्ने २७ रोपनी जग्गाको केवल रु एक लाखको थैली राखेर पास गरिएको र त्यसमा पनि जग्गा धनी विममायालाई रु २० हजार मात्रै दिइएको प्रहरी अनुसन्धानले देखाएको छ ।
पक्राउ परेकालाई ठगी र किर्ते मुद्दा चलाउने प्रहरीले जनाएको छ । उक्त जग्गा १०६३ मेगावट क्षमताको अपर अरुण जलविद्युत् आयोजना निर्माण क्षेत्रमा रहेको छ । आयोजनाले यो क्षेत्रमा मुआब्जाबापत प्रतिरोपनी कम्तीमा रु पाँच लाख निर्धारण गरेको छ । भोटखोला गाउँपालिकाको २, ४ र ५ नम्बर वडाका विभिन्न स्थानमा उक्त आयोजना निर्माणका लागि अध्ययन, जग्गा सर्भे र जग्गा प्राप्तिको काम तीव्र गतिमा बढी रहेको छ । मुआब्जा धेरै आउने भएपछि यो अपराध भएको प्रहरीले जनाएको छ । विममायाको हातमा अहिले बाबुको मृत्युदर्ता प्रमाणसमेत छैन । वडाध्यक्ष भोटेबाटै मृत्युदर्ताको प्रमाण खोसिएको प्रहरीले जनाएको छ ।
पीडित विममायाले जग्गा फिर्ता गरिदिन भन्दै जिल्ला प्रशासन कार्यालयमा फागुन २२ मा उजुरी दिएकी थिइन् । लगत्तै प्रशासनले जिल्ला प्रहरी कार्यालयलाई आवश्यक छानबिन र अनुसन्धान गरी कारबाही गर्न सिफारिस गरेको थियो । -रासस
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्