चितवन । चितवनमा महिला उद्यमीको सङ्ख्या बढ्दो छ । महिलाका नाममा उद्योग सञ्चालन गर्दा दर्तादेखि छुटसम्म सस्तो पर्ने भएकाले पनि महिला उद्यमीहरुको सङ्ख्या बढ्दै गएको हो । घरेलु तथा साना उद्योग कार्यालय चितवनका अनुसार चालु आर्थिक वर्ष २०७८/७९ को दुई चौमासिकमा जिल्लामा ९५८ महिला उद्यमी थपिएका छन् । जिल्लामा ५८९ जना पुरुष उद्यमी थपिँदा महिला उद्यमीको सङ्ख्या लगभग दोब्बरले थपिएको हो ।
घरेलु तथा साना उद्योग कार्यालय चितवनका सूचना अधिकारी नारायणप्रसाद खनालका अनुसार चालु आर्थिक वर्षको पहिलो आठ महिनामा जिल्लामा एक हजार ३७९ उद्योग दर्ता भएका छन् । गत साउनदेखि फागुनसम्म जिल्लामा सबैभन्दा बढी कृषि तथा वनजन्यमा आधारित उद्योगहरु दर्ता भएका छन् । सो अवधिमा जिल्लामा ९३४ कृषि तथा वनजन्यमा आधारित उद्योग दर्ता भएका छन् । तीमध्ये ६४९ महिला र ३४४ उद्योग पुरुषका नाममा दर्ता भएको सूचना अधिकारी खनालले जानकारी दिनुभयो । यी उद्योगले दुई हजार ६०० जनालाई रोजगारी सिर्जना गरेको उहाँको भनाइ छ ।
त्यस्तै जिल्लामा सेवामूलक प्रकृतिका २४५ उद्योग दर्ता भएका छन् । तीमध्ये १७८ महिला तथा ८० पुरुष उद्यमी छन् । यी उद्योगले ७५७ जनालाई रोजगार सिर्जना गरेको सूचना अधिकारी खनालले बताउनुभयो । चालु आर्थिक वर्षको पहिलो आठ महिनामा १८६ उत्पादनमूलक उद्योग दर्ता भएको उल्लेख गर्दै उहाँले ती उद्योगमा १२३ महिला र १५८ पुरुष उद्यमी रहेको जानकारी दिनुभयो । उहाँका अनुसार सो अवधिमा दर्ता भएका उत्पादनमूलक उद्योगले एक हजार ४० जनालाई रोजगार प्रदान गरेको छ । त्यसैगरी जिल्लामा पछिल्लो आठ महिनामा सबैभन्दा कम पर्यटनमूलक उद्योग दर्ता भएका छन् ।
घरेलु तथा साना उद्योग कार्यालय चितवनका अनुसार जिल्लामा १४ वटा पर्यटनमूलक उद्योग दर्ता भएका छन् । ती उद्योगमा आठ महिला र ६ पुरुष उद्यमीको लगानी छ । पर्यटनमूलक उद्योगमा ५३ जनाले रोजगार पाएको कार्यालयले जनाएको छ । चालु आवको पहिलो आठ महिनामा घरेलुको प्राइभेट फार्मतर्फ उत्पादनमूलक ६, कृषि तथा वनजन्य नौ र सेवामूलक एक गरी जम्मा १६ उद्योग दर्ता भएका सूचना अधिकारी खनालले जानकारी दिनुभयो । उहाँका अनुसार साना उद्योगतर्फ प्राइभेट फार्म एक हजार २७३, साझेदारी फार्म ३१ र प्रालि ५९ वटा दर्ता भएका छन् । यस अवधिमा लघु उद्यम भने दर्ता नभएको उहाँको भनाइ छ ।
जिल्लामा थपिएका एक हजार ३७९ उद्योगमा रु तीन अर्ब ५३ करोड ९३ लाख ९४ हजार पूँजी लगानी भएको छ । तीमध्ये कृषि तथा वनजन्य उद्योगमा रु दुई अर्ब १७ करोड २७ लाख ६५ हजार, सेवामूलक उद्योगमा रु ४९ करोड ५९ लाख ७० हजार, उत्पादनमूलक उद्योगमा रु ८३ करोड ९० लाख २२ हजार तथा पर्यटनमूलक उद्योगमा रु तीन करोड १६ लाख ३७ हजार लगानी भएको छ । जिल्लामा नयाँ उद्योग दर्ता हुँदा रु तीन करोड ६३ हजार राजश्व प्राप्त भएको सो कार्यालयले जनाएको छ ।
दर्ता भएका उद्योगमध्ये कृषि तथा वनजन्यबाट रु दुई करोड ४१ लाख, सेवामूलकबाट रु ३० लाख ६६ हजार, उत्पादनमूलकबाट रु २७ लाख ११ हजार तथा पर्यटनमूलक उद्योगबाट रु एक लाख ८५ हजार राजश्व सङ्कलन भएको सूचना अधिकारी खनालले बताउनुभयो । -रासस
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्