काठमाडौँ । विभिन्न मागसहित कर्मचारी आन्दोलित नै रहेका बेला स्वावलम्बन लघुवित्त वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत (सीइओ) उदय राज खतिवडाले पदबाट राजीनामा दिएका छन् । कर्मचारीका मागहरु नसुनी कामको सिलसिलामा फिल्डमा गएको भन्दै बहाना बनाउने उनको राजीनामा कम्पनीको आइतबार बसेको सञ्चालक समितिको बैठकले सोमबारदेखि लागू हुने गरी स्वीकृत गरेको हो ।
मागहरु कार्यान्वयन गर्नेपर्ने हुँदा कम्पनीका सीइओलगायत उच्च पदका पदाधिकारी अहिले फिल्डका नाम भागेको त्यहाँका कर्मचारीको आरोप छ । केहि समय अघि मात्रै विगतमा गरेको सम्झौता कार्यान्वयन गराउनुपर्ने, कानुन मिचेर गरिएको सरुवा रोकिनुपर्ने, नेपाल राष्ट्र बैंकबाट जारी गरिएका निर्देशनहरु कार्यान्वयन गरिनुपर्ने, कर्मचारीमाथि गरिएको शोषण र दमन बन्द गरिनुपर्ने, केन्द्रीय कार्यालयको घरभाडा तथा अन्य अनियमितता तत्काल छानविन गरिनुपर्नेलगायतका माग गर्दै स्वावलम्बन बैंक कर्मचारी संगठन आन्दोलनमा उत्रिएको थियो ।
यस्तै संस्थाले कर्मचारी युनियनका पदाधिकारीहरुलाई बर्खास्त गर्ने मनसाय राखीगत हप्ता आधिकारिक ट्रेड युनियनका ७ जना पदाधिकारीलाई पत्र काटेको पनि उनीहरुको भनाई छ । व्यवस्थापन र कर्मचारी युनियनबीच गत माघ २८ गते १७ बुँदे सहमति भएकोमा माग कार्यान्वयन नभएको आधिकारिक ट्रेड युनियनका अध्यक्ष पूर्णचन्द्रराज अवस्थीले बताए । पटक-पटक सरकारले तोकेको न्यूनतम पारिश्रमिक माग गर्दा पनि संस्थाले सम्बोधन नगरेको उनीहरुको आरोप छ ।
आइतबार बसेको सञ्चालक समितिको बैठकले अर्को निर्णय नभएसम्मका लागि कम्पनीमा वरिष्ठक्रममा रहेका नायव महाप्रवन्धक गोविन्द चापागाईंलाई कायम मुकायम प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी दिने निर्णय पनि गरेको छ ।