×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बन्ने भो दूधकोसी जलविद्युत् आयोजना ! झन्डै २५ हजार रोपनी जग्गा अधिग्रहणको काम सुरु

PRIME CA

बन्ने भो दूधकोसी जलविद्युत् आयोजना ! झन्डै २५ हजार रोपनी जग्गा अधिग्रहणको काम सुरु

२३ चैत्र २०७८, बुधबार

पढ्न लाग्ने समय: < १ मिनेट

खोटाङ । दूधकोसी जलाशययुक्त जलविद्युत् आयोजनाका लागि तीन जिल्लामा करिब २५ हजार रोपनी जग्गा अधिग्रहणको काम सुरु भएको छ । राष्ट्रिय गौरवको आयोजनाअन्तर्गत पर्ने दूधकोसी आयोजनाका लागि खोटाङको १३ हजार रोपनी, ओखलढुङ्गाको नौ हजार रोपनी र सोलुखुम्बुको ५०० रोपनी जग्गा अधिग्रहणको प्रक्रिया अघि बढाइएको हो ।
खोटाङको रावाबेँसी गाउँपालिका–३ लामीडाँडा र ओखलढुङ्गाको चिसङ्खुगढी गाउँपालिका–६ भदौरेको सिमानामा पर्ने दूधकोसीस्थित रभुँवाघाटमा ६३५ मेगावाट क्षमताको जलविद्युत् आयोजनाको काम अघि बढ्दैछ । ओखलढुङ्गाको जग्गा प्राप्ति (अधिग्रहण) का लागि गत फागुन २३ गते गोरखापत्र दैनिकमा सूचना प्रकाशित गरिएको थियो ।
जलविद्युत् आयोजना सञ्चालनका लागि सरकारी जग्गाबाहेक करिब २० हजार रोपनी जग्गा अधिग्रहण गर्नुपर्ने अनुमान गरिएको आयोजनाका उपनिर्देशक सीताराम प्रखाछेँले जानकारी दिनुभयो । खोटाङको रावाबेँसी गाउँपालिकाका पाँच हजार ३०४ कित्ता, ऐसेलुखर्क गाउँपालिकाका ५२२ कित्ता र ओखलढुङ्गाको चिसङ्खुगढी गाउँपालिकाका दुई हजार ४०९ कित्ता जग्गा अधिग्रहणको तयारी छ ।
सोलुखुम्बुको जग्गा अधिग्रहणका लागि केही समयपछि जग्गा प्राप्तिसम्बन्धी सूचना आह्वान गरिनेछ । सम्बन्धित क्षेत्रका जिल्ला प्रशासन कार्यालयमार्फत जग्गा प्राप्तिको प्रक्रिया थालेसँगै प्राप्ति गरिने जग्गा रोक्का भएको र उक्त क्षेत्रमा कुनै पनि संरचना बनाउने वा थप्ने काममा रोक लगाइएको छ । खोटाङतर्फको जग्गा गत असार २३ गतेदेखि नै रोक्का गरिएको प्रमुख जिल्ला अधिकारी फणिन्द्र दाहालले जानकारी दिनुभयो । हलेसी तुवाचुङ नगरपालिका–८ धितुङमा निर्माण गरिने विद्युतगृह, क्याम्प तथा लामीडाँडामा निर्माण गरिने बाँध र क्याम्पका लागि आवश्यक जग्गा अधिग्रहण गर्न सूचना प्रकाशित गरिएको छ ।
धितुङ र लामीडाँडामा थप दुई हजार रोपनी जग्गा अधिग्रहण गरिने आयोजनाले जनाएको छ । खोटाङमा मुआब्जा वितरण गर्न जग्गाको मूल्याङ्कन गर्ने काम अन्तिम चरणमा पुगेको मुआब्जा निर्धारण उपसमितिका संयोजक एवं सहायक प्रमुख जिल्ला अधिकारी विकल श्रेष्ठले जानकारी दिनुभयो ।
लामीडाँडाको रभुँवाघाटस्थित कोसी किनारमा रहेको बजारमा २०० मिटर अग्लो बाँध निर्माण गरी बनाइने जलाशययुक्त जलविद्युत आयोजनाबाट १३/३० किलोमिटर हेडरेस सुरुङमार्फत धितुङमा पानी खसालेर विद्युत् उत्पादन गर्ने लक्ष्यका साथ आयोजना अघि बढिरहेको छ । रभुँवाघाटमा निर्माण गरिने बाँधदेखि सोलुखुम्बुतर्फ दूधकोसी किनारमा १०, खोटाङतर्फको रावाखोलामा आठ र ओखलढुङ्गाको ठोट्नेखोला किनारमा चार किलोमिटर क्षेत्रफल डुबान हुने बताइएको छ ।
दूधकोसी आयोजनाबाट तीन जिल्लाका एक हजार १५० परिवार प्रभावित हुने छन् । खोटाङका ६५७, ओखलढुङ्गाका ४७९ र सोलुखुम्बुका १४ परिवार आयोजनाबाट प्रभावित हुने भएका छन् । जापान सरकारको सहयोगमा कोसी बेशिन अध्ययन गुरुयोजनाअन्तर्गत २०४२ सालमा पहिचान भएको दूधकोसी आयोजनाको काम अघि बढाउन सरकारलाई सिफारिस गरिएको विद्युत् प्राधिकरणले जनाएको छ । आयोजना बनेपछि विद्युतीय सेवासँगै दूधकोसी जलाशयमा डुङ्गा शयर, माछापालन तथा पर्यटन प्रवद्र्धनमा सहयोग पुग्ने अपेक्षा गरिएको छ । आयोजना सञ्चालन हुँदा रभुँवामा बन्ने जलाशयमा हलेसी आउने पर्यटकलाई डुङ्गा शयर गराउन सकिने छ । -रासस
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: