मुलुकको पर्यटन प्रवद्र्धनमा सहकार्य गर्ने उद्देश्यले नेपाल उद्योग वाणिज्य महासंघ(एफएनसीसीआई) र नेपाल पर्यटन बोर्ड बीच एक समझदारीपत्रमा हस्ताक्षर भएको छ । यो समझदारी पछि दुवै संस्थाहरु पर्यटन उद्योगको प्रवद्र्धन र अवधारणा विकासमा सहकार्य गर्ने छन् । समझदारीपत्रमा महासंघका अध्यक्ष शेखर गोल्छा र पर्यटन वोर्डका प्रमुख कार्यकारि अधिकृत डा. धनन्जय रेग्मीले आज महासंघ सचिवालयमा हस्ताक्षर गरे। यसका लागि महासंघको पर्यटन विकास समितिले विशेष भूमिका निर्वाह गरेको थियो ।
आपसी समझदारी अनुसार पर्यटन विकासमा विभिन्नतहमा सरोकारवालाहरूको बैठक आयोजना गरी उदीयमान पर्यटकिय प्रवृत्तिहरू( Emerging tourism trends) को अवधारणा विकास गर्ने र तीनको आदान प्रदान गर्ने, नेपालका विभिन्न अन्तराष्ट्रिय र आन्तरिक विमानस्थलहरूको सौन्दर्यकरण र सेवा सुधारमा सहकार्य गरिने छ । त्यसैगरी नेपाली पर्यटनको डिजिटल मार्केटिङ, अन्तराष्ट्रिय बजारीकरण, पर्यटनसंग सम्बन्धित सरोकारवालाहरूको क्षमता विकास, सम्भावित पर्यटन उत्पादनहरू (हिल स्टेशन, पार्क लगायत अन्य पर्यटकीय गतिविधिहरू) मा सहकार्य हुनेछ ।
समझदारीपत्र हस्ताक्षर कार्यक्रमलाई संवोधन गर्दै महासंघका अध्यक्ष गोल्छाले मुलुकको पर्यटन उद्योगलाई नयाँ दिशा दिन यो सहमती कोशेढुंगा हुने विश्वास व्यक्त गरे । अध्यक्ष गोल्छाले समझदारीपत्रको अक्षरश कार्यान्वयनको प्रतिवद्धता पनि जनाए। कोभिडले थलिएको पर्यटन उद्योगको पुनरूत्थानका लागि पर्यटनसंग आवद्ध सवै संस्थाहरूको सहभागितामा छिट्टै एउटा वृहद कार्यक्रम आयोजनाको प्रस्ताव पनि गरे । कार्यक्रमबाट यस क्षेत्रलाई माथि उठाउन कम्तिमा ठोस कार्ययोजना तयार गरी सोही अनुसार अगाडि बढ्नुुपर्नेमा उनको जोड थियो ।
पर्यटन पूर्वाधार विकास, सार्वजनिक सवारी साधन एवं स्थानहरुको गुणस्तर सुधार अत्यावश्यक भएको भन्दै यसमा केन्द्रीत हुनुपर्नेमा जोड दिए । अध्यक्ष गोल्छाले भैरहवा विमानस्थललाई यस क्षेत्रकै सस्तो र सुलभ विमानस्थल बनाउनेतर्फ पहल हुनुुपर्नेमा जोड दिदै भने–यो सम्भव पनि छ । यसका लागि सरकारको सहयोग आवश्यक छ । साथै नेपालले गुणस्तरीय पर्यटक भित्रयाउनेतर्फ पहल गर्नुपर्ने सुझाव अध्यक्षको थियो । काठमाडौं विमानस्थललाई अलि बढी पर्यटन लक्षित गरी सेवा विस्तार, गुणस्तर सुधारमा जोड दिनुपर्ने धारणा उनको थियो । अध्यक्ष गोल्छाले छिट्टै नेपाल भारत लगानी सम्मेलन गर्ने तयारी रहेको र सो क्रममा भारतीय शहरहरुमा रोड शो गरिने योजना रहेकाले यसमा पर्यटनलाई पनि संगै लैजान सकिने बताए ।
वोर्डका प्रमुख कार्यकारि अधिकृत डा. रेग्मीले निजी क्षेत्रको छाता संस्थासँग सहकार्य गर्न पाएकोमा खुशी व्यक्त गरे । पर्यटन विकासमा महासंघका अध्यक्षले राखेका सुुझाव निकै मननीय भएकाले कार्यान्वयनमा लैजानेतर्फ पहल गर्ने विश्वास दिलाए ।पर्यटनसंग सम्बन्धित कार्यक्रम आयोजना गर्ने सम्बन्धमा महासंघको प्रस्तावलाई छिट्टै अगाडि बढाउन उनले आग्रह गरे । सो अवसरमा दुवै जनाले भारतीय र चिनिया पर्यटक आकर्षणमा विशेष कार्यक्रम ल्याउनु पर्नेमा जोड दिए । महासंघको पर्यटन तथा हवाई यातायात समितिका सभापति ज्योत्सना श्रेष्ठले थलिएको पर्यटन उद्योगलाई माथि उठाउन यो सहकार्य गरिएको बताइन् ।
महासंघका महानिर्देशक गोकर्ण राज अवस्थीले धन्यवाद मन्तव्य दिदै समझदारी अनुसारका कामलाई छिट्टै अगाडि बढाइने प्रतिवद्धता बनाए। सो अवसरमा महासंघका उपाध्यक्ष दिनेश श्रेष्ठ, पर्यटन तथा हवाई यातायात समितिका सदस्यहरू, बोर्डका वरिष्ठ निर्देशक नन्दिनी लाहे थापा, निर्देशक मणिराज लामिछाने, महासंघ सचिवालयका वरिष्ठ अधिकृतहरूको उपस्थिति थियो ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्