हुम्ला । हुम्लासहित कर्णाली प्रदेशका उच्च हिमाली जिल्लामा केही दिनयता हवाई उडान हुन सकिरहेको छैन् । हुम्ला, मुगु, जुम्ला र डोल्पामा नियमित रुपमा उडान गर्दै आएका तारा, समिट र सीता एअरलाइन्स पर्यटक बोक्न पूर्वतर्फ लागेपछि विमानस्थलमा बिरामी तथा सर्वसाधारण र कर्मचारीलगायत यात्रु अलपत्र परेका छन् ।
हुम्लाको दक्षिण भेगका नागरिक गाडीमार्फत जिल्लाबाहिर जान सके पनि सर्केगाड, खार्पुनाथ, सिमकोट र उत्तरी नाम्खा गाउँपालिकाका नागरिकलाई जिल्लाबाहिर जान थप समस्या बनाएको छ । सिमकोटमा रहेका सरकारी तथा गैरसकारी कार्यालयका कर्मचारीलाई काम विशेषले जिल्लाबाहिर जान र जिल्ला पुग्न थप समस्या निम्तिएको हो ।
सदरमुकाम सिमकोट राष्ट्रिय सडक सञ्जालसँग जोडिन सकेको छैन भने अन्तरजिल्ला जोड्ने एक मात्रै हवाई सेवाको उडान आइतबारदेखि हुन नसकेको सिमकोट विमानस्थलले जानकारी दिएको छ । उडान ठप्प हुँदा जिल्लाबाहिर जाने यात्रु सिमकोट विमानस्थलमै अलपत्र परेका छन् । नेपालगञ्ज र सुर्खेतबाट जिल्ला पुग्ने यात्रुलाई समेत चर्को होटल भाडा तिरेर बस्नुपर्ने बाध्यता भएको नेपालगञ्जमा टिकट नपाएर भौँतारिरहनुभएका विशाल परियारले गुनासो पोख्नुभयो ।
निजी जहाज लुक्ला, पोखरा, जोमसोमलगायत पर्यटकीय स्थानमा व्यस्त भएपछि कर्णालीका हिमाली जिल्लामा उडान हुन पाएको छैन । पर्यटक आउने मौसममा त निजी एअरलाइन्सले हुम्लालाई बेवास्ता गर्ने गरेको स्थानीय बासिन्दाको गुनासो छ । निजी एअरलाइन्सले हुम्लामा दैनिक एक–एक उडान अनिवार्य गर्नुपर्ने नियम भए पनि उक्त नियमलाई उल्लङ्घन गरी उडान ठप्प गरेका बताइएको छ ।
नेपाल वायु सेवा निगमका उडान कम
नेपाल वायु सेवा निगमले नेपालगञ्जबाट हुम्लाका लागि कम उडान भर्दै आएको छ । टिकट वितरणमा पक्षपात भएको नेपालगञ्जमा रहेका यात्रुले गुनासो पोखेका छन् । नेपालगञ्जमा रहेका निगमका कर्मचारीले आफन्त तथा ठूलाबडाको फोनका आधारमा आफ्नो मानोमानी ढङ्गले टिकट वितरण गरिरहेको पाइएको छ ।
सो कार्यालयका कर्मचारीले गरेको व्यवहारले लामो समयदेखि हुम्ली नागरिकले ठूलो समस्या झेल्नु परेको छ । विभिन्न कामका लागि जिल्लाबाहिर नेपालगञ्जको राँझा एअरपोर्टमा सयौँ सेवाग्राही अलपत्र परेका छन् । गत फागुन अन्तिम सातादेखि हवाई उडान नहँुँदा हुम्लाका करिब ४० देखि ६० नागरिक होटलमा बस्न बाध्य छन् ।
हुम्ला उडान भर्ने टिकटका लागि दैनिक नेपाल एयरलाइन्सको कार्यालय जाँदा सो कार्यालयका कर्मचारीले उल्टै धम्काउने गरेको सेवाग्राहीले गुनासो गरेका छन् ।
हुम्लाकै सङ्गीता फडेराले भन्नुभयो, “गोजीमा पैसा छैन, धेरै दिनदेखि बिहानबाटै बेलुकासम्म लाइनमा बस्दा पनि निगमका कर्मचारीले सुनुवाइ गरेका छैनन्, निगमका कर्मचारीले बाहिरबाटै फोनका भरमा टिकट वितरण गर्दा अन्य हुम्लाका गरिब, निमुखा नागरिक टुलुटुलु हेरिरहनुपर्ने बाध्यता छ ।”
त्यस्तै आर्थिक अभावका कारण नेपालगञ्जमा बिरामीकै अवस्थामा रहेका ७९ वर्षीय टक्कबहादुर शाहीले फागुनको अन्तिमदेखि घर फर्कनका लागि धेरै प्रयास गरे पनि टिकटको अझै अत्तोपत्तो नभएको बताउनुभयो । टिकटका लागि गएका सिद्धबहादुर बुढा भन्नुहुन्छ, “नेपाल एअरलाइन्सको कार्यालयमा जाँदा त्यहाँका कर्मचारीले उल्टै धम्क्याउने गरेका छन् ।” -रासस
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्