×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

पूर्वाधार विकासमा फड्को मार्दै कोहलपुर नगरपालिका, जनप्रतिनिधिप्रति सन्तुष्ट स्थानीयबासी

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

पूर्वाधार विकासमा फड्को मार्दै कोहलपुर नगरपालिका, जनप्रतिनिधिप्रति सन्तुष्ट स्थानीयबासी

Artha Sarokar

१८ चैत्र २०७८, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

राँझा । जनप्रतिनिधि निर्वाचित भएर आएको पाँच वर्षमा बाँकेको कोहलपुर नगरपालिकाले पूर्वाधार विकासमा ठूलो फड्को मारेको छ । नगरपालिकाका प्रत्येक वडामा कालोपत्र सडक, अत्याधुनिक नमूना बसपार्क, नगरस्तरीय अस्पताल, भ्यू टावरलगायत पूर्वाधार विकासका संरचनाले पूर्णता पाउन थालेको हो । नगरपालिकामा साविक कोहलपुर गाविसका सात, रझेना गाविसका छ र शम्शेरगञ्ज गाविसका दुई गरी १५ वडाबाट नगरपालिकाको केन्द्र पुग्ने सडक कालोपत्र गरिएको छ । विगत पाँच वर्षमा नगरपालिकाभित्र भौतिक पूर्वाधार विकासका कामलाई प्राथमिकता दिइएको नगरप्रमुख लुटबहादुर रावतले जानकारी दिनुभयो ।
उहाँका अनुसार दुर्गम वडाको रुपमा रहेका वडा नं ६, ७, १३ र १५ मा पनि विकास निर्माणका कामलाई प्राथमिकताका साथ अघि बढाइएको छ । पाँच वर्षको अवधिमा करिब ३३ किलोमिटर सडक कालोपत्र, १६ किलोमिटर पक्की नाली, ५४ किलोमिटर ग्राभेल सडक र १२ किलोमिटर नयाँ बाटो निर्माण गरिएको छ । नगरपालिकाका सबै वडामा सुविधा सम्पन्न वडा कार्यालय भवन निर्माण गरिएका छन् । आफ्नै भवन नभएका १२ वटा वडा कार्यालयका नयाँ भवन निर्माण गरिएका हुन् । सो अवधिमा स्वास्थ्य चौकीका १५ वटा नयाँ भवन र २० वटा विद्यालय भवन निर्माण गरिएको नगर प्रमुख रावतको भनाइ थियो ।
करिब पाँच किलोमिटर सडक चालु आवमा निर्माण सम्पन्न हुने उहाँले जानकारी दिनुभयो । अत्याधुनिक नमूना बसपार्र्क निर्माण भइरहेको छ । अहिले सञ्चालनमा रहेको बसपार्क साँघुरो भएकाले लामो दूरीमा सञ्चालन हुने बसका लागि चौराह नजिकै नेपालकै नमूनाको रुपमा रहने अत्याधुनिक बसपार्क निर्माण थालिएको हो । कोरोनाको महामारीबीच पनि अहिलेसम्म बसपार्कको ५५% काम सम्पन्न भइसकेको नगरप्रमुख रावतले बताउनुभयो ।
पूर्व–पश्चिम राजमार्गअन्तर्गत कोहलपुर कर्णाली र सुदूरपश्चिम प्रदेशको प्रवेशद्वारको रुपमा रहेकाले यहाँबाट राष्ट्रिय र अन्तर्राष्ट्रि«यबससमेत सञ्चालन हुने भएको छ । बसपार्क बालमैत्री, सूचनामैत्री, प्रविधिमैत्री, खानेपानी, ढल निकास, भूमिगत विद्युतीकरण, रिफ्रेसमेन्ट सेन्टर, सपिङ कम्प्लेक्ससहितको हुने नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टीकाराम ढकालले जानकारी दिनुभयो । नगरपालिकामा पूर्वाधार विकासको क्षेत्रमा देखिने गरी विकास निर्माण गरिएको उहाँको भनाइ थियो ।
नगरपालिका पूर्वाधार विकास शाखा प्रमुख इञ्जिनीयर बालकृष्ण महतराले निर्माण भइसकेका र निर्माणाधीन अवस्थामा रहेका भौतिक संरचनाको प्रगति हेर्दा समयमै सम्पन्न हुने अपेक्षा गरिएको बताउनुभयो । उहाँका अनुसार एकीकृत बस्तीमा २० घर, २० विद्यालय भवन, १३स्वास्थ्य चौकी भवन, १२ वडा कार्यालय र ३५ किलोमिटर कालोपत्र सडक निर्माण भइसकेको छ । गौरवको योजनाका रुपमा रहेका नमूना बसपार्क निर्माण ५५ प्रतिशत, कभर्ड हल ३० प्रतिशत, कोहलपुर नगर अस्पताल ३५ प्रतिशत र भ्यू टावर ८० प्रतिशत निर्माण भइसकेको छ ।
उक्त बसपार्कसहित निर्माणाधीन अवस्थामा रहेका पूर्वाधार विकासका कार्य निर्धारित समयमै सम्पन्न गर्न जनप्रतिनिधिले समेत अनुगमन तथा निर्माण कम्पनीसँग समन्वय गर्दै आएको नगरपालिकाका आर्थिक विकास शाखा संयोजक डिलबहादुर परियारले बताउनुभयो । -रासस
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी