तुलसीपुर । सडकमा निर्माणका लागि गाडिएका छड, त्यत्तिकै अलपत्र छन् । निर्माणका लागि ल्याइएका तारजाली पनि सडकमै छताछुल्ल पारी राखिएको छ । सडक धुलैधुलो हुँदा वरपर बस्ने नागरिकलाई समस्या छ । तर सडक निर्माणको काम विगत छ महिनादेखि ठप्प छ । दाङको दङ्गीशरण गाउँपालिकाको पोटली-मिरौली-चखौरा-रावतगाउँ हुँदै एकली जोड्ने सडक निर्माण कार्य अहिले ठप्प छ । चार किलोमिटर सडक कालोपत्र गर्नका लागि रु आठ बजेट विनियोजन भएको छ । तीमध्ये अहिलेसम्म करिब रु एक करोड मूल्य बराबरको काम भएको बताइएको छ । त्यसपछि लामो समयदेखि निर्माण ठप्प छ ।
निर्माण ठप्प हुँदा त्यहाँ कार्यरत मजदुरसमेत मारमा परेका छन् । करिब दुई महिना काम गरेका मजदुरले पारिश्रमिक नपाएको गुनासो गरेका छन् । ठेकेदार कम्पनीले पटक-पटक दिन्छु भनेर आश्वासन दिए पनि अहिलेसम्म पारिश्रमिक नपाएको मजदुरले बताएका छन् । झन्डै ८० जनाले पारिश्रमिक नपाएको मजदुर गणेश डाँगीको गुनासो छ । “अस्सी मजदुरले सडक निर्माण सम्बन्धी काम गर्नुभएको हो”, उहाँले भन्नुभयो, “तर कसैले पनि पारिश्रमिक पाउनुभएको छैन ।”
भुसाल गायत्री बस्नेत जेभी कन्स्ट्रक्शनले सो ठेक्का लिएको बताइएको छ । गत वर्ष जेठ १ गतेदेखि काम सुरु भएको थियो । त्यसपछि करिब दुई महिनामात्रै काम भएको बताइएको छ । त्यसपछि सडक निर्माणको काम रोकियो । त्यतिबेला रोकिएको काम कात्तिकमा सुरु भयो र मङ्सिरमा पुनः ठप्प भयो । ठप्प रहेको काम अझै पनि सुरु हुनसकेको छैन ।
पसलमा पनि त्यत्तिकै उधारो छ । त्यस ठाउँमा पसल गर्ने आशाराम चौधरीको पसलबाट सामान लिएको भए पनि त्यो सामानको पैसा अझै नआएको उहाँले बताउनुभयो । उहाँको किराना पसलबाट लिएको खाद्यान्न, तरकारीलगायत बापत रु एक लाख २० हजार बाँकी छ । लुम्बिनी प्रदेशसभा सदस्य धमकली चौधरीले सो सडक कालोपत्र गर्नका लागि आफ्नै पहलमा बजेट आएको र अहिले काम ठप्प भएको सुन्दा दुःख लागेको बताउँदै सडक निर्माणको कार्य सुरु गराउन आफूले पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । “मैले ठेकेदार कम्पनीसँंग पटक-पटक संवाद र छलफल गरिरहेको छु, सडक पूर्वाधार कार्यालयसँग पनि छलफल भइरहेको छ”, उहाँले भन्नुभयो, “अब तत्काल काम सुरु हुन्छ ।”
वैशाख ३ गतेदेखि काम गर्ने भनी ठेकेदारले प्रतिबद्धता जनाएकाले त्यतिबेलादेखि काम सुरु नभए ठेक्कासमेत रद्द गर्न सक्ने चेतावनी दिएको उहाँले बताउनुभयो । प्रदेशसभाको रु आठ करोड बजेटमा सडक पूर्वाधार कार्यालय दाङमार्फत उक्त सडक निर्माणको काम अघि बढेको हो । सडक निर्माणको जिम्मा पाउनुभएका भुसाल गायत्री बस्नेत जेभी कन्स्ट्रक्शनका सञ्चालक आकाश भुसालले निर्माण काम तत्काल सुरु गर्ने बताउनुभयो । उहाँले वैशाख ३ गते आफू दाङ आउने त्यसपछि काम सुरु गर्ने उहाँको भनाइ छ ।
अहिले निर्माण सामग्री पनि महङ्गो भएकाले पनि निर्माण कार्यमा समस्या आएको उहाँले बताउनुभयो । “निर्माण कार्यमा धेरै पुरोना पनि होइन, सिक्दै छु, मसँग धेरै पैसा पनि हुँदैन, अहिले निर्माण सामग्रीको मूल्य पनि उत्तिकै बढेकाले समस्या भयो”, उहाँले भन्नुभयो, “म तत्काल अब काम सुरु गर्छु ।” अझै पनि सम्झौता भएको समय बाँकी रहेकाले समयमै सक्नेसमेत उहाँले बताउनुभयो । आउँदो माघमा सक्ने गरी सम्झौता भएको छ । यो भित्रै काम पूरा गर्ने प्रतिबद्धतासमेत उहाँले व्यक्त गर्नुभयो । सडकमा नाला र पर्खाल निर्माण गरी कालोपत्र गर्ने काम तोकिएको छ । मजदुरले आफ्नो ट्र्याक्टर पल्टाइदिएर क्षति बनाएपछि काममा अवरोध आएकोसमेत उहाँको भनाइ छ । उहाँको ट्र्याक्टर अहिले इलाका प्रहरी कार्यालय हेकुलीमा राखिएको छ । उहाँले भाग्यलक्ष्मी क्रसर उद्योगको जेसिवी पनि प्रयोग गर्नुभएको थियो । त्यो जेसिवी पनि उद्योगले लगिसकेको छ । -रासस
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्