म्याग्दी । म्याग्दीस्थित गण्डकी प्रदेशकै प्रमुख पर्यटकीयस्थल घोडेपानी जोड्ने पोखरेबगर–घोडेपानी सडक निर्माणमा भएको ढिलासुस्तीले पर्यटक र स्थानीयवासीलाई सास्ती भएको छ । कालोपत्र, ढलान र ग्राभेल गरेर स्तरोन्नति गर्ने लक्ष्यसहित चार वर्षअघि सुरु भएको सडक निर्माण कार्य अधकल्चो र अधुरो बनेको छ । तत्कालीन राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले विसं २०७५ मङ्सिरमा सुरु गरेको १८ किलोमिटर ५४० मिटर दुरीको अन्नपूर्ण गाउँपालिकाको केन्द्र पोखरेबगरदेखि घार–खिवाङ–शिख–फलाते हँुदै पर्यटकीय बस्ती घोडेपानी नजिकको चित्रे जोड्ने सडकको निर्माण २०७७ जेठ २२ गते सक्ने सम्झौता थियो ।
सडक निर्माण अधुरो हुँदा शिख र घारका दुई हजार ५०० घरधुरीका बासिन्दासहित दैनिक सयाँैको सङ्ख्यामा गाडी तथा मोटरसाइकलमा घोडेपानी जाने आउने पर्यटकलाई सास्ती भएको अन्नपूर्ण–६स्थित बिरौटाका सुवोध बरुवालले बताउनुभयो । “चार पटक म्याद थप्दा पनि काम अधुरो छ”, उहाँले भन्नुभयो, “बेस र सब बेस राखेको सडकमा कालोपत्र नगर्दा आसपासका क्षेत्रमा धुलोले सताएको छ । माथिल्लो क्षेत्रमा प्रारम्भिक चरणको काम पनि थालिएको छैन ।”
जिरोदेखि १६ किमी दुरीको सडक विस्तार, नाली र पर्खाल बनाएर अधिकांश ठाउँमा ढलान, सोलिङ र कालोपत्र गर्ने बेस बिछ्याएका ठेकेदारले सात हजार २२१ घनमिटर मेसिनरी र ग्यावियन पर्खाल लगाउने सम्झौताअनुसारको काम सकेपनि थप काम गर्न भेरियसन अर्डरका लागि गरिएको प्रस्ताव स्वीकृत नभएका कारण देखाएर घोप्टेखर्कदेखि चित्रे खण्डमा प्रारम्भिक चरणको कामसमेत गरेका छैनन् ।
चित्रेका चीनबहादुर गर्बुजाले पोखरेबगरदेखि शिखसम्म विस्तार, नाली, पर्खाल निर्माण र कालोपत्रको तयारी भए पनि घोप्टेखर्कदेखि चित्रेसम्म बजेट अभावका कारण देखाएर काम नगरिएकामा चिन्ता व्यक्त गर्नुभयो । “बजेटको व्यवस्था गरेर बाँकी कामलाई पूर्णता दिएमा स्थानीयवासीका साथै घोडेपानी घुम्न आउने पर्यटकलाई सुविधा हुने थियो”, उहाँले भन्नुभयो, “परिणाम सकिएपछि नाली र पर्खालबिनै बिस्तार गरिएको सडकको दिगोपनामा समस्या छ ।”
मोतीदान–जयमाता जेभीले रु २७ करोड ९१ लाख ३५ हजारमा ठेक्का लिएको यो सडकको हालसम्मको भौतिक प्रगति ७२ प्रतिशत छ । राष्ट्रिय पुनःनिर्माण प्राधिकरण खारेज भएपछि कास्कीस्थित स्थानीय पूर्वाधार विकास कार्यालयमा हस्तान्तरण भएको यो सडकको चौथो पटक म्याद थपिएको म्याद यही चैत महिनामा सकिँदैछ ।
निर्माण व्यवसायीले पर्याप्तमात्रामा मजदुर र उपकरण परिचालन गर्न नसक्नु, आयोजनाका प्रमुख छिटोछिटो परिवर्तन हुनु तथा पछिल्लो समय प्रस्ताव गरिएको भेरियसन अर्डरको प्रस्ताव स्वीकृति नहुनु ढिलासुस्तीका कारण हो । अन्नपूर्ण–६ घारका वडाध्यक्ष कृष्णप्रसाद बरुवालले बिरौटा–शिख खण्डमा कालोपत्र गर्न निर्माण कम्पनीलाई ताकेता गर्नाका साथै घोप्टेखर्क–चित्रे खण्डमा पूर्णता दिन थप बजेटको व्यवस्थाका लागि प्रदेश र सङ्घीय सरकारमा पहल गरिएको बताउनुभयो ।
म्याग्दीको गौरवको आयोजना मानिएको पोखरेबगर–चित्रे सडक आयोजनाको सडक यातायात मात्र नभएर पर्यटन, कृषिको विकासका लागिसमेत उत्तिकै महत्वको छ । सडक स्तरोन्नति भएपछि पर्यटकीयस्थल घोडेपानीमा आन्तरिक पर्यटकको आगमन बढ्ने, शिख र घारका बासिन्दालाई आवतजावतका साथै ढुवानी तथा कृषि, पशु र वनजन्य उत्पादन निकासीमा सहयोग पुग्ने अपेक्षा गरिएको छ । -रासस
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्