टीकापुर । स्थानीय तह निर्वाचन सकिएसंगै कैलालीमा किसान धान खेतीमा जुटेका छन् । यसका लागि मल, बीउको जोहो , कुलो सरसफाइ, खेत जोत्नेजस्ता कार्यमा व्यस्त भएका हुन् । उनीहरु धानखेती गर्न एक महिनादेखि तयारीमा लाग्ने गरेको बताउँछन् । टीकापुर वनगाँउका बडघर तेजबहादुर चौधरीले धान रोप्न कुलाको मर्मतसम्भार र सरसफाइ गरिरहेका बताए । “हामी हरेक वर्ष खेती गर्नुपूर्व एक महिनाअघि नै कुला सरसफाइ, मर्मतका काम गर्छौँ, यस वर्ष पनि सबै किसान कुलो सरसफाइमा खटेका छौँ”, उनले भने, “बर्खा लाग्नु पहिले बर्सेनि किसान सामूहिकरूपमा मूल कुलो, शाखा कुला, प्रशाखा कुला सरसफाइ गर्ने परम्परा छ ।”
कुला खन्न किसानले प्रथाका रूपमा समाजमा जनश्रमदानस्वरुप काम गर्ने गर्दछन् । यसका लागि घरपिच्छे एक जना जानुपर्ने हुन्छ । जुन घरबाट कुलो खन्न जाँदैनन्, ती किसानबाट क्षतिपूर्ति समेत लिने चलन छ । यसरी किसान आफ्नो खेतसम्म सिँचाइ सुविधाका लागि कुलो सरसफाइ गरिरहेको विपतपुरका बड्घर वीरबहादुर घर्तीमगर बताउँछन् । “हरेक घरबाट एक–एक जना किसान मर्मतका लागि जाने गर्नाले सजिलो हुन्छ”, उनी भन्छन्, “सिँचाइ सुविधा नभए खेती उत्पादन राम्रो हुँदैन, त्यसैले यहाँका किसानले मिलेर कुलो सरसफाइ गर्ने, खेतसम्म सिँचाइ सुविधा पुर्याउने चलन छ ।”
रानी जमरा कुलरिया सिँचाइ आयोजनाअन्र्तगत रहेका रानीमूल कुलोका १४ प्रशाखा कुला जमरा मूल कुलोका १५ शाखा कुला, कुलरिया मूल कुलोका १९ शाखा कुलो रहेका र ती मूल कुलोका शाखामार्फत बनेका ८६३ उपशाखा कुलो रहेका छन् । यसरी यी शाखा र प्रशाखा कुलोमार्फत किसानका खेतसम्म पानी लैजाने कार्य हुन्छ । ती शाखा तथा प्रशाखा कुलो सरसफाइ र मर्मत नगरे पानी भए पनि किसानलाई पर्याप्त पानी पुग्दैन । त्यसका लागि कुलोको सरसफाइ गर्न आवश्यक हुने हुँदा सरसफाइ गर्ने गरिएको किसान बताउँछन् ।
जमरा जलउपभोक्ता समितिका अध्यक्ष मानबहादुर चौधरी किसानले बर्खाको समयमा कुलामा पर्याप्त पानी आउने र खेतीपाती गर्न सहज हुने भएकाले किसानले अनिवार्य सरसफाइ गर्ने गरेका बताउछन् । “यो सामूहिकरूपमा गरिन्छ, सामूहिकरूपमा गर्दा खासै समस्या पनि हुँदैन”, चौधरी भन्छन्, “किसानले यसरी वर्षमा एकपटक कुला सरसफाइ गरिन्छ । सरसफाइ नगरेमा कुलाको उचाइ बढ्ने गर्दछ । कुलामा बालुवा थुप्रिने, फोहर जम्ने कारणले सिँचाइमा समस्या हुने हुनाले सरसफाइ गरिन्छ ।”
किसानहरू यसरी खेतीको तयारीमा जुटिसक्दासमेत बीउ, मल अभावजस्ता समस्या समाधान हुन नसकेका किसान गुनासो गर्छन् । खेतीमा निर्भर किसानका लागि आवश्यक बीउ, मल, सिँचाइ, प्राविधिक ज्ञानजस्ता आवश्यक कुरा सरकारले दिनुपर्ने भए पनि किसान खेती गर्ने समयमा सधैँ समस्या झेल्न बाध्य छन् । टीकापुर–४ का किसान सुरवीर चौधरीले खेती गर्ने किसानलाई प्रोत्साहन गर्ने र खेतीमा अनुदानजस्ता कार्यक्रम थपिएमा कृषिमा किसान रमाएर लाग्ने वातावरण बन्ने बताए । जिल्लामा सञ्चालित सो आयोजनाले किसानलाई बीउ, मल, विषादिमा अनुदान दिने गरेको छ । आयोजनाले कृषि यान्त्रिकीकरण, सहकारीलाई बीउ उत्पादन, भण्डारण, प्रोसेसिङ, पूर्वाधारमा सहयोग गर्ने गरेको छ । यसैगरी केरा र च्याउखेती तथा पशुपालनमा नश्ल सुधार र पशु स्वास्थ्य व्यवस्थापनमा किसानलाई आयोजनाले सहयोग गर्दै आएको छ । –रासस
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्