रामपुर (पाल्पा) । रामपुर–४ देवीस्थान बस्ने मायादेवी श्रेष्ठ मकै बालीमा फौजी किराको आक्रमणले सताएपछि चिन्तित भएका छन् । हरियाली बनेको मकैखेतीमा किराले सताउन थालेपछि जति मिहेनत र परिश्रम गरे पनि बालीमा क्षति हुँदै गएकाले उत्पादनमा असर पुग्ने उनको गुनासो छ । कृषक श्रेष्ठ भन्छन्, “करिब छ रोपनी जमिनमा मकैखेती लगाइएकामा बोटमा किरा लागेर हैरान पारेको छ, गत वर्ष पनि यस्तै समस्याले पिरोलेका थिए, अहिले पनि समस्या उस्तै छ, किसानलाई खेती गरेर जीवन धान्न विभिन्न रोग र किराको प्रकोपले समस्या सिर्जना गर्छ ।”
किराले सताएर मकैबाली नै सखापै पार्ने अवस्थामा रहेको कालिका कृषक समूहका अध्यक्ष कृष्ण राना बताउछन् । करिब तीन हप्ता अघिदेखि मकैमा किरा लागेर डाँठ, पात र गुभो खाएर बाली नै जोगाउनै मुस्किल परेको र बाली जोगाउन विषादी छर्कने गरे पनि नियन्त्रण भइनसकेको उनको गुनासो छ । फौजी किराको प्रकोपले सताएर कार्यालयमा आउने किसानलाई प्राविधिक सेवा र ‘इमामेक्टिन बेन्जोएट’ नामक विषादी निःशुल्क उपलब्ध गराउँदै आएको बताउछन्, रामपुर नगरपालिकाका कृषि शाखा प्रमुख रामहरि पाण्डेय । यहाँका विभिन्न ठाउँमा किराको प्रकोप बढिरहेको हुँदा दैनिकजसो कार्यालयमा समस्या लिएर किसान आउने गरेको उनको भनाइ छ ।
रम्भा गाउँपालिका–१ सघाहका कृषक टङ्कराज कडरिया अघिल्लो वर्षभन्दा बढी मात्रामा यस वर्ष मकैमा किरा देखिन थालेको छ भन्छन् । करिब दश रोपनी जग्गामा मकैबाली लगाएका उनी वर्षेनी मकैखेती दुःखसँग गरेको खेतीमा किराको असरले उत्पादन घट्ने हुँदा आफूहरु मारमा परेको बताउछन् । मकैमा फौजी किरा लाग्न थालेपछि किसानको मिहेनत खेर जाने अगुवा कृषक ऋषिराम अर्याल बताउछन । बोट उम्रन थालेदेखि नै किराले आक्रमण गरेर समस्या पार्ने भएकाले बाली नै जोगाउन सकस पर्ने उनको भनाइ छ । “दुःख गरेर गरेको खेतीबाट उत्पादन लिन नपाउँदा किसानलाई ठूलो मार परेको छ, रम्भाको सघाहामा धेरै किसानका खेतमा लगाइएका मकैमा किराको आक्रमण छ, पानी नपरेका समय किराले बढी मात्रामा सताउँछ भने आकाशबाट पानी पर्दा केही कम हुन्छ, किराको प्रकोपले सताउन थालेकाले सूर्यमुखी खेती सुरु गरेको छु”, अर्याल भन्छन् ।
मकैखेतीका अलवा अन्य बालीमा पनि फौजी किराको प्रकोप देखिन थालेको छ । महामारी भएमा कार्यालयले आकस्मिक र स्थलगत रूपमा सेवा दिने कृषि ज्ञान केन्द्रका प्रमुख कामना अधिकारी बताउछन् । “अहिलेसम्म ज्ञान केन्द्रमा फौजी किराको प्रकोपबारे जानकारी आएको छैन, समस्या देखिएपछि किसान आ–आफ्नो पालिकाको कृषि कार्यालयमा पुग्नुभएको खबर भने हामीलाई प्राप्त छ, महामारीकै रूपमा प्रकोप देखिएमा कार्यालयले जुनसुकै समय पनि सेवा दिनेछ, अहिलेको मौसम सुक्खा हँुदा प्रकोप फैलिन सक्ने भएकाले सबै किसान सर्तक रहनुहोला”, उनी जोड दिन्छन् । अघिल्लो वर्षजस्तै मकैखेतीमा फौजी किराको सङ्क्रमण देखिएपछि किसान चिन्तित बनेका हुन् । फौजी किराको प्रकोप देखिएपछि भर्खरै उम्रेका बोट सखाप भएको किसानले बताएका छन् । यस वर्ष मकै उत्पादनमा ह्रास आउने देखिएको छ । फौजी किरा रातिको समयमा बढी सक्रिय हुने गरेको छ । किराको प्रकोप देखिएको ठाउँमा विषादीको प्रयोग गरेर नियन्त्रण गर्न सकिन्छ ।
साधारणतया मकै छरेदेखि भाँच्ने बेलासम्म विभिन्न प्रकारका किराहरूले आक्रमण गर्दछन् । यस किराले मकैको पातमा लाम्चा आकारका झिल्लीमात्र छाडेर मकैको पातलाई कोतरेर खानाका साथै मकैको घोगा, पात, जुँगा र गुभोमा पनि क्षति गर्दछ । गुभोमा काठको धुलोजस्तो किराको दिसा भेटिएमा गुभो खोलेर हेर्दा फौजी किराको लार्भा देखिन्छ । ती लार्भा धेरै खन्चुवा हुन्छ । मकै लगाएको आठदेखि १० दिनमै यसले क्षति गर्ने भएकाले खेतबारीको नियमित अनुगमन गर्नुपर्ने कृषि प्राविधिक बताउँछन् । बालीमा रोग लाग्न नदिनका लागि माटोमा पहिले नै विषादी छर्नुपर्दछ । खेताबारीमा पानी जमेमा किरा नलाग्ने प्राविधिकको भनाइ छ । यदि मकैमा किराले आक्रमण गरे त्यसको नियन्त्रणका लागि ‘इमामेक्टिन बेन्जोएट’ ०.५ ग्राम प्रतिलिटर पानीमा मिसाएर स्प्रे गर्नुपर्दछ । –रासस
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्