भक्तपुर । किसानको जिल्ला भनेर चिनिने भक्तपुरमा रासायनिक मलको अभाव चुलिएको छ । यसवर्ष जेठमै वर्षा सुुरु भएकाले कतिपय ठाउँमा रोपाइँ गर्न तयारी गरिए पनि रासायनिक मल नहुँदा किसान मर्कामा परेका छन् । केही सहकारीले बेलैमा ल्याएको मल बिक्री सुरु गरेकाले पाँच किलो मल लिन किसानलाई रातभर लाइनमा बस्नु परेको छ । पैसा तिरेर पनि मल नपाउँदा किसान सरकारसँग आक्रोशित हुँदै आएका छन् । सिद्धि गणेश कृषि सहकारी संस्था लिका अध्यक्ष पूण्यराम दुमरुले पाँच किलो मल लिन ३०० देखि ४०० किसान रातिदेखि नै लाइनमा बसेको जानकारी दिए । संस्थाले केही दिन अगाडि ल्याएको ४० बोरा युरिया, ४० बोरा डिएपी मल र पाँच बोरा पोटास किसानका लागि कनिका छरेजस्तो भएको उनको भनाइ थियो ।
अध्यक्ष दुमरुले भने, “सरकारले मल दिँदैन, बल्लतल्ल ल्याएको मल वितरण गर्ने भने पछि रातिदेखि नै ४०० किसान लाइनमा बसे, पाँच–पाँच किलो मल दिँदा पनि पुगेन, कनिका छरेजस्तै भयो, यो असारको बेलामा किसानले मल नपाउनु कृषि प्रधान देश नेपालको लागि निकै दुर्भाग्य हो ।” जुनसुकै पार्टीको नेतृत्वमा सरकार रहँदा पनि कृषि प्रधान देशका लागि चाहिने मल आफ्नै देशमा उत्पादन गर्न मल कारखाना खोल्न नखोज्नुले सरकार कमिसनको चङ्गुलमा फस्ने गरेको प्रष्ट हुने उनको आरोप थियो ।
कृषि सामग्री कम्पनीले समयमै मल ल्याउन नसक्दा यस वर्ष पनि किसानले मलको हाहाकार खेप्नुपरेको हो । असार लाग्न लागिसक्दा पनि मल नपाउँदा उत्पादनमा ह्रास हुने भन्दै किसान चिन्तित हुन थालेकाले मलको हाहाकार रोक्न तत्काल सरकारले कदम चाल्नु पर्नेमा अध्यक्ष दुमरुले जोड दिए । भक्तपुरकै शिलादेवी कृषि सहरकारी संस्था लिमिटेडका अध्यक्ष राजु सुवालले मल अभावले किसान धान रोप्नै अन्योलमा परेको बताए । किसान मल खोज्न सहकारी संस्था धाउदै हिँडे पनि धान रोप्ने बेलामा मल नपाएर भौतारिएको देख्दा कृषि प्रधान देश भन्न पनि लाज लागेको उनको भनाइ थियो ।
सोही संस्थाका उपाध्यक्ष गोकुल वनले सरकारले तत्काल मल ल्याउने व्यवस्था नगरे किसान आन्दोलनमा उत्रन सक्ने बताए । उनले भने, “यो यस वर्षको मात्र समस्या होइन, देशमा गणतन्त्र र लोकतन्त्र आएपछिको समस्या हो, पञ्चायतकालमा बरु किसानले सजिलै मल पाउँथे, अहिले पैसा तिर्दा पनि मल नपाइने भो, किसानको धैर्यताको बाँध नफुट्दै सरकारले मलको व्यवस्था गरोस् ।”
भक्तपुर नगरपालिकाका–९ का किसान कृष्णराम प्रजापतिले मल नल्याए आन्दोलनमा उत्रने बताए । उनले भने, “सरकारले किसानलाई पेन्सन दिने कुरा गर्छ, आधुनिक औजार दिने कुरा गर्छ, जमिन बाँझो राख्न पाइँदैन भन्छ, तर अत्यावश्यक मल दिने कुरै गर्दैन, मल कारखाना खोल्ने बजेट ल्याउदैन, पेन्सन त परेको कुरा, हामीलाई अहिले मल चाहियो सरकार, मल देऊ ।”सूर्यविनायक नगरपालिका–८ सिपाडोलका रामभक्त थापाले किसानले मल नपाउँदा धान उत्पादननै घट्ने निश्चित भयो भन्दै चिन्ता व्यक्त गरे । सरकारप्रति आक्रोशित हुँदै उनले भने, “खै कुनै पनि सरकारले मल ल्याउन सकेन, बरु पञ्चायतकालमा सरकारले मल दिन्थ्यो, गणतन्त्र आएपछि मल आउनै छाड्यो ।”
सरकारले मलमा अनुदान दिएको छ । अनुदानमा मल दिने भए पनि सरकारी निकायले समयमै मल ल्याउने व्यवस्था गर्न नसक्दा हरेक वर्ष मलको हाहाकार हुँदै आएको छ । काठमाडौँ उपत्यकामा भक्तपुरलाई कृषिको राजधानी मानिन्छ । भक्तपुर र मध्यपुरथिमिमा कृषि भूमि कम रहे पनि सूर्यविनायक र चाँगुनारायणमा कृषियोग्य जमिन धेरै रहेकाले मलको आवश्यकता पनि उच्च रहने गरेको छ । रासायनिक मल समयमै उपलब्ध भए भक्तपुरमा धान उत्पादन राम्रो हुने गरेको छ । किसानले मल नपाएपछि नेपाल मजदुर किसान पार्टी निकट नेपाल क्रान्तिकारी किसान सङ्घले आजबाट आन्दोलन सुरु गरेको छ । सरकारलाई मल ल्याउन दबाब दिने उद्देश्यले आज काठमाडौँको रत्नपार्कबाट जुलुस निकाली विभिन्न ठाउँको परिक्रमा गर्दै भोटाहिटी पुगेर सभामा समापन गर्ने सङ्घले बताएको छ । –रासस
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्