काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाको अध्यक्षतामा महासंघका पूर्व महासचिव स्वर्गीय माधवमणि राजभण्डारीको सम्झनामा भर्चुअल माध्यमबाट मिति २०७९ जेष्ठ २२ गते, आइतबार सम्पन्न शोक सभाबाट देहायको शोक प्रस्ताव पारित भएको छ । नेपाल उद्योग वाणिज्य महासंघका पूर्व महासचिव माधवमणि राजभण्डारीको यही जेठ १२ गते बिहिबारका दिन असामयीक निधन भएको थियो । यो खबरबाट निजी क्षेत्र मर्माहत भएको छ । उनको जन्म आजभन्दा ७५ वर्ष अगाडि दोलखा जिल्लामा भएको थियो । उनि पछिल्लो पटक स्वास्थ्यमा समस्या आएपछि ह्याम्स अस्पतालमा उपचाररत थिए।
विक्रम सम्बत २०३२-३४ मा कार्यकारिणी समिति सदस्य र २०३५–४१ को कार्यकालमा उनि महासचिव पदमा निर्वाचित भएका थिए। आफ्नो कार्यकालमा महासंघको संस्थागत विकासमा महत्वपूर्ण भूमिका निभाएका थिए। तत्कालिन अवस्थामा त्यति उद्योग व्यवसाय फस्टाएको थिएन तैपनि उद्योग व्यवसायको विकासमा के गर्न सकिन्छ भनेर त्यसवेलाको टिममा स्वर्गीय राजभण्डारी सधै सक्रिय भएर लगेको कुरा सुन्न पाइन्छ । महासंघको सचिवालयको सुदृढीकरणमा पनि उनले आफनो कार्यकालमा निकै मेहनत गरेका कुरा महासंघका त्यस बेलाका दस्तावेजहरुमा उल्लेख गरिएको पाइन्छ । समकालिन अन्तर्राष्ट्रिय व्यवसायिक संघ संस्थाहरुसँग महासंघको संस्थागत सहकार्यको थालनी गर्नमा उनको ठूलो योगदान रहेको थियो ।
तत्काल निर्णय गर्न सक्ने क्षमताका साथै निजी क्षेत्रमा स्पष्ट वक्ताको रुपमा परिचित स्वर्गिय राजभण्डारी महासंघको प्रतिनिधित्व गरी विभिन्न देशहरुमा भएका व्यापारिक भ्रमणमा नेपालको आर्थिक औद्योगिक, व्यवसायिक, श्रम, व्यापारका विषयहरुमा सशक्त एवं बलियो आवाज राख्ने व्यक्तित्वको रुपमा परिचित थिए। देशको अर्थतन्त्र बलियो भए मात्र विकास सम्भव छ भन्ने मान्यता राख्ने पूर्व महासचिव स्वर्गीय राजभण्डारीले आफ्नो कार्यकालमा निर्वाह गरेको महत्वपूर्ण भूमिका, योगदानका साथै देशको उद्योग व्यवसाय विस्तारमा निभाएका भूमिकालाई सम्पूर्ण निजी क्षेत्रले निरन्तर स्मरण गरिरहने छ ।
विभिन्न सामाजिक एवं शैक्षिक संघ संस्था,गुठी, शैक्षिक प्रतिष्ठानमा रहेर स्वर्गीय राजभण्डारीले उद्योग व्यवसाय, शिक्षा, स्वास्थ्य, सामाजिक, सामुदायिक, पत्रकारिता क्षेत्रमा उल्लेखनीय योगदान दिएको पाइन्छ । राजनीतिमा पनि उनि निकै सक्रिय थिए । उनको जन्म जिल्ला दोलखामा शैक्षिक र धार्मिक संघ संस्था मार्फत उनले निकै धेरै परोपकारी कामहरु गरेका थिए। स्वर्गीय राजभण्डारीका श्रीमती, तीन छोरी र एक छोरा छन्। पूर्व महासचिव स्वर्गीय राजभण्डारीको निधनबाट निजी क्षेत्रलाई अपूरणीय क्षति पुग्न गएको छ । महासंघले आफ्ना अग्रज गुमाएको छ । दुःखको यस घडिमा महासंघ परिवार, सोक सन्तप्त परिवारजनमा गहिरो समवेदना प्रकट गर्दै स्वर्गीय आत्माको चिर शान्तिको कामना गर्दछ । शोक सभामा महासंघका पदाधिकारी, कार्यकारिणी समितिका सदस्यहरू, उद्यमी व्यवसायीहरू, स्वर्गीय राजभण्डारीका सुपुत्र नितिन राजभण्डारी, महासंघ सचिवालयका महानिर्देशक सहित कर्मचारीहरूको उपस्थिति थियो ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्