गलेश्वर । उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३, दानास्थित घनाजङ्गलको बीच भागमा पर्ने मोतिचौरमा १०८ धाराका निर्माण गरिएको छ । प्राकृतिक सुन्दरताको अनुपम उदाहरणका रूपमा वर्णन गरिने मौतिचौरमा दानाबासीले १०८ धारा, मठमन्दिर, स्नानगृहसहित भक्तजनलाई विश्राम गर्ने पाटीपौवा निर्माण गरेका हुन् ।
गाउँपालिकाको रु. ८ लाख सहयोग तथा स्थानीयको पहलमा करिब रु. २५ लाख जुटाएर १०८ पानीको मूल भएको स्थानमा १०८ धारासहित सामान्य मन्दिरलाई व्यवस्थित बनाएको उपभोक्ता समितिका अध्यक्ष गङ्गाबहादुर थापाले बताए । मुक्तिनाथ मन्दिरको जस्तै झल्को दिने गरी भारतको राजस्थानबाट ढुङ्गा र गाईमुखी ल्याइ धारा बनाइएको हो ।
स्थानीयले रु. २० लाखको लागतमा १०८ धारा, रु. तीन लाखमा कपडा फेर्ने घर, ठाँटी भवन मर्मत तथा जस्तापाता फेर्न रु. दुई लाख ७९ हजार खर्च गरेका छन् । मन्दिरलगायतका संरचना बनाउन स्थानीय समाजसेवी बेलबहादुर पुर्जा, दाना स्थायी घर भई हाल यूकेमा बसोबास गर्ने कृष्ण तुलाचन, हरिमाया राम्जाली, आनन्द पुनलगायतले आर्थिक सहयोग गरेका स्थानीय अन्नपूर्ण–३ का वडाध्यक्ष रमेश पुर्जाले बताए ।
हिउँदमा पनि पानी नसुक्ने १०८ वटै मूलबाट पानी ल्याइएकोले पनि यो धाराको विशेष महत्व रहेको छ । १०८ धारासहित निर्मित संरचनाको शनिबार एक कार्यक्रमकाबीच वडाध्यक्ष पूर्जा, समाजसेवी कृष्ण तुलाचन, कार्यपालिका सदस्य आशा गुरूङले संयुक्त उद्घाटन गरेका छन् । सोही अवसरमा वडाध्यक्ष पुर्जाले मौतिचौरको विकासका लागि विस्तृत परियोजना प्रतिवेदन डिपिआर बनाएर अगाडि बढ्ने बताए ।
डेढवर्ष अगाडिसम्म पूजाआजा गर्न आउँदासमेत वन्यजन्तुको आक्रमणबाट त्रसित हुनुपर्ने अवस्था, एकरात काट्नसमेत चरम असुविधा रहेको अवस्थामा अहिले सयौंको सङ्ख्यामा भक्तजन आउने गरेको मन्दिरका मुख्य पूजारी टेकबहादुर थापाको भनाइ छ ।
मोतीचौरमा शिद्घबहार, गुफा मन्दिर र विष्णु लक्ष्मी मन्दिर रहेका छन् । सिद्धबिहार र गुफा मन्दिरमा बलि दिइन्छ भने विष्णुलक्ष्मी मन्दिरमा शाहकारी भाकल गरिन्छ । भाकल पूरा भएपछि भक्तजनले गरेको सहयोगले समेत मन्दिरमा थप संरचना बनाउन सहज भएको व्यवस्थापन समितिको भनाइ छ । मौतिचौरमा प्रत्येक वर्ष जनैपूर्णिमाको अवसरमा विशेष पुजाआजा हुन्छ । सन्तान प्राप्ति, वैदेशिक रोजगार, स्वास्थ्य, शिक्षालगायतका भाकल गर्न विभिन्न स्थानबाट भक्तजन आउने गरेका छन् । –रासस
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्