Skip to content
LAXMI SUNRISE BANK

म्याग्दीको मालिका गाउँपालिकामा अझै बलेन बिजुली, वायरिङ गरेका खटेनवासी निरास

अर्थ सरोकार

म्याग्दी। म्याग्दीको मालिका गाउँपालिका–३ खटेनमा वायरिङ गरेको दुई वर्षसम्म पनि केन्द्रीय प्रसारण लाइनको बिजुली बलेको छैन । बिजुली बल्ने आशामा वायरिङ गरेका खटेनवासी निरास भएका छन् । विद्युतीकरणका लागि गाउँमा लगिएका सामग्री अलपत्र परेका छन् । मालिका गाउँपालिका–३ का अध्यक्ष मोतिप्रसाद बुढाले विद्युतीकरणमा भएको ढिलाइ र सामग्री अलपत्र परेको विषयमा नेपाल विद्युत् प्राधिकरणको बेनीस्थित कार्यालयमा पुगेर ध्यानाकर्षण गराएको बताए ।

“दुई वर्षदेखि अधुरो विद्युतीकरण योजनालाई पूर्णता दिन प्राधिकरणको कार्यालयको ध्यानाकर्षण गराएका छौँ”, उनले भने, “ पोल गाडेको, तार तानेको र वायरिङ गरेको दुई वर्षसम्म पनि बिजुली नबल्दा स्थानीय निरास बन्नुका साथै विद्युतीकरणका सामग्री बेवारिसे भएका छन् ।”

खटेनका १५० घरधुरीमा विद्युतीकरणका लागि तयारी छन् । वडाध्यक्ष बुढाका अनुसार मिटरबक्स जडान र लाइन जडान गरेमा ती घरधुरीमा बिजुली बल्छ । खटेनवासीले च्युरीबोटमा रहेको दाजुङखोला लघुजलविद्युत् परियोजनाको विद्युत् प्रयोग गर्दै आएका छन् ।

खटेनसँगै रहेको इग्रेमा भने दुई वर्षअघि नै बिजुली बालिएका थिए । खटेन र इग्रेका लागि विद्युतीकरणका लागि जडान गरिएको ट्रान्सफर्मर चार्ज भइसकेको छ । नेपाल विद्युत् प्राधिकरण बेनी वितरण केन्द्रका इञ्जीनियर शिवराज पौडेलले मालिका गाउँपालिकामा विद्युतीकरणका लागि चालु आर्थिक वर्षमा प्राप्त भएको रु= एक करोड ५० लाख बजेटको ठेक्का सम्झौताको तयारी भएको बताए ।

“सामग्री खरिद भइसकेको छ”, उनले भने, “मजदुरको काम गर्न आह्वान गरिएको ठेक्का मूल्याङ्कन गरेर सम्झौताको तयारीमा छौँ ।” मालिका गाउँपालिकाको वडा नं ३ मा खटेनसहित पात्ले, लुक्सीपार, औल भिरवाङ, स्याकलुङमा विद्युतीकरण बाँकी छ । इग्रे, लामखोरे, सराग्दी र किटिनीमा विद्युतीकरण गरेर केन्द्रीय लाइन विस्तार गरिसकिएको छ । –रासस

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK