काठमाडौं । देशभर विभिन्न घटना घट्छन् । केहि सामान्य समाचारका विषय हुन्छन्, केहि समाचारले असामान्य कम्पन पैदा गरिदिन्छन् । केहि तस्विर फगत तस्विरमात्र हुन्छन् भने केहि तस्विरले देश बोल्दछन् । हामी हरेक दिन सातै प्रदेशका त्यस्ता तस्विरहरुलाई प्रकाशन गर्छौँ, जसले देश र जनताको आर्थिक स्थिति प्रतिनिधित्व गर्छ । समसामयिक विषयमा राज्यलाई खबरदारी गर्छ र जनताको जीवन बोल्छ ।
आज कुन-कुन ठाउँमा के-के भयो ? यी दृश्यहरु आफैं बोलिरहेछन् । आजको अंकमा हामीले बागलुङ नगरपालिका–२ मरेपिपलमा सडक नाली बिस्तार गरिँदै । यहाँ साँघुरो नाली हुँदा समस्या भएपछि बागलुङ नगरपालिकाले नाली बिस्तार गर्न थालेकोदेखि बेनी–जोमसोम–कोरला सडक आयोजना अन्तर्गत म्याग्दीको रघुगङ्गा गाउँपालिका–२ बैँसरी क्षेत्रमा सडक कालोपत्रे गरिँदै । सम्मका तस्बिरलाई फोटोमा समेटेका छौँ ।
हेरौं फोटो समाचारः
बागलुङ नगरपालिका–२ मरेपिपलमा सडक नाली बिस्तार गरिँदै । यहाँ साँघुरो नाली हुँदा समस्या भएपछि बागलुङ नगरपालिकाले नाली बिस्तार गर्न थालेको हो ।बेनी–जोमसोम–कोरला सडक आयोजना अन्तर्गत म्याग्दीको रघुगङ्गा गाउँपालिका–२ बैँसरी क्षेत्रमा सडक कालोपत्रे गरिँदै ।
मनाङको नासो गाउँपालिका–८, ताचैवासी गहुँ चुट्दै । आधुनिक ओैजारहरु भित्रिए पनि केन्द्रीय प्रसारण लाइन यहाँ नहुँदा परम्परागत विधि अपनाएर किसान गहुँ, उवा र करु चुट्छन् ।
चाबहिल–साँखु सडक खण्डअन्तर्गत कागेश्वरी मनोहरा नगरपालिकाको थलीस्थित सडकको खाल्डोमा पसेको ट्याक्सी । सो सडक निर्माण सुरु भएको पाँच वर्षभन्दा बढीको समय बितिसक्दा पनि थलीमा हालसम्म कालोपत्रे भएको छैन । सडकको दुरावस्थाका कारण सवारी साधन दुर्घटनामा पर्ने गरेको छ ।
प्रधानमन्त्री शेरबहादुर देउवा बिहीबार नेपाल प्रज्ञा–प्रतिष्ठानको ६५ औँ वार्षिकोत्सव तथा राष्ट्रिय कविता महोत्सव कार्यक्रम उद्घाटन गर्दै ।
ताप्लेजुङको सुकेटार विमानस्थलको धाउनमार्ग । सुकेटार विमानस्थलमा निरन्तर वर्षा र तुँवालोका कारण एक महिनादेखि उडान अवरुद्ध हुँदै आएको छ ।
जिल्ला प्रशासन कार्यालय तनहुँमा मतदाता नामावली सङ्कलनका लागि राखिएको दर्तास्थलमा पालो पर्खिदै सर्वसाधारण । फोटोसहितको मतदाता नामावली सङ्कलनका लागि उत्साहजनक सहभागिता देखिएको छ ।
भक्तपुर नगरपालिका–८, लिवालीमा दही बनाउन दूध उमाल्दै महिला । भक्तपुरमा उत्पादन गरिने जु जु धौको माग उच्च छ ।
काभ्रेपलाञ्चोकको पनैती नगरपालिकाको खोपासी फाँटमा देखिएको हरियाली धानखेती ।
शुक्लाफाँटा नगरपालिकाका किसानलाई बिहीबार कृषि सामग्री वितरण गर्दै नगर प्रमुख रणबहादुर महरा । किसानलाई पचास प्रतिशत अनुदानमा नगरपालिकाको कृषि शाखाले स्प्रेटङ्की २७, फुट स्प्रे तीन, सिल्पोलिन प्लाष्टिक १९, डिजिटल तराजु सात, क्रेट ४९, हजारी १२ र सिकेचर र कैँची नौ वटा वितरण गरेको छ ।
प्रतिनिधिसभाको बिहीबार बसेको बैठकमा सहभागी ।
महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वर नगरपालिका–८ बजराही गाउँमा टर्कीपालन गरिएको फर्मअगाडि टर्की चारा चर्दै ।
मकै खान आउने बाँदर धपाउनका लागि म्याग्दीको मङ्गला गाउँपालिका–२, सल्यानस्थित खेतमा टहरा बनाएर बसेका कृषक । बाँदरले मकै खाएर हैरान गरेपछि किसान उज्यालो भएदेखि बेलुका अबेरसम्म बाली कुरेर खेतमै बस्ने गर्छन् ।
पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको म्याग्दे गाउँपालिका –६ स्थित तुरतुरेमा सडक विस्तार गरिँदै ।
रुकुम(पूर्व) को प्रमुख पर्यटकीयस्थलका रुपमा रहेको कमल दह । जुन सिस्ने गाउँपालिका– ५ मा अवस्थित छ । रुकुमकोटमा अवस्थित यस दहमा अहिले ढकमक्क कमल फूल फुलेको छ भने दहभरी कमलको पातको हरियालीले यसको रौनकता थपेको छ । दहमा कमल फूल्न सुरु गरेसँगै आन्तरिक पर्यटकहरुको सङ्ख्या पनि बढ्न थालेको छ ।