Skip to content
LAXMI SUNRISE BANK

सहकारी बैंकका सदस्यले पाए करिब ५७ लाख संरक्षित पूँजी फिर्ता कोषको रकम

अर्थ सरोकार

ललितपुर । राष्ट्रिय सहकारी बैंकका एउटै सदस्यले करिब ५७ लाख सम्म संरक्षित पुँजी फिर्ता कोष बापतको रकम प्राप्त गरेका छन् । बुधबार बैंकले संरक्षित पुँजी फिर्ता कोषबाट सदस्यहरुले पाउने रकमको बाँडफाँड कार्य गरेसँगै एउटै सदस्यले करिब ५७ लाख रकम प्राप्त गरेका छन् । सहकारी ऐन, २०७४ तथा नियमावली २०७५ को प्रावधान अनुरूप बैंकले सदस्य संघ/संस्थाले जम्मा गरेको बचत रकमको लागि ४० प्रतिशत र कर्जामा तिरेको ब्याजका लागि ६० प्रतिशत भारको आधारमा कुल १७ करोड ७१ लाख ७४ हजार २ सय १९ रुपैयाँ ५७ पैसा संरक्षित पूँजी फिर्ता कोषको रकम बाँडफाँड गरेको छ ।

संरक्षित पूँजी फिर्ता कोषबाट प्राप्त हुने रकम सम्बन्धित सदस्य सहकारी संघ/संस्थाको खातामा जम्मा गरिएको बैंकका प्रमुख कार्यकारी अधिकृत बद्रीकुमार गुरागाईले बताए । उनका अनुसार बचत र कर्जा कारोबार गर्ने १३,७१२ सहकारी संघ/संस्थाहरु को संरक्षित पूँजी फिर्ता कोषबाट लाभान्वित भएका छन् । बचत र कर्जामा उच्च कारोबार गरी योगदान गरेबापत सबैभन्दा बढी रकम फिर्ता पाउने सदस्यले बचत तर्फ ५६ लाख ५२ हजार तथा कर्जा तर्फ १३ लाख ७८ हजार सम्म प्राप्त गर्न सफल भएको प्रमुख कार्यकारी अधिकृत गुरागाईले बताएका हुन्।

“उत्कृष्ट वित्तीय सेवा सहितको सहकारी बैंक” भन्ने परिकल्पनाका साथ अघि बढेको बैंकले संरक्षित पूँजी फिर्ता कोषबाट ५० हजार भन्दा बढी रकम प्राप्त गर्ने सहकारी संघ/संस्थाहरु ६९९ रहेका छन् । हाल बैंकमा करिब १५ हजार भन्दा बढी सदस्य सहकारी संघ संस्थाहरु रहेका छन् । यस अघि बैंकले आफ्ना सदस्य सहकारी संघ/संस्थाहरुलाई आर्थिक वर्ष २०७७/०७८ को लागि बैंकको १८ औँ वार्षिक साधारण सभाबाट पारित गरी १५ प्रतिशत लाभांश वापतको रकम साधारण सभा सम्पन्न गरेको दिन गत पौष ३० गते वितरण गरेको थियो ।

सहकारी ऐन, २०७४ तथा नियमावली २०७५ ले गरेको व्यवस्था पछि सहकारीहरुको केन्द्रीय निकायहरु मध्ये निरन्तर संरक्षित पूँजी फिर्ता कोषबाट सदस्यहरुलाई रकम बाँडफाँड गर्ने बैंक पहिलो हो । सहकारीका अन्य केन्द्रीय निकायहरुले सेयरको आधारमा वितरण गरे पनि बैंकले बचत र कर्जा कारोबारको आधारमा वितरण गर्दै आएको छ । बैंकले नियमित बचत तथा कर्जाको कारोबार गर्ने र संरक्षित पूँजी फिर्ता कोषबाट रकम पाउने सम्पूर्ण सहकारी संघ/संस्थाहरुलाई हार्दिक बधाई व्यक्त गर्दै आगामी दिनहरुमा समेत राष्ट्रिय सहकारी बैंकमा कारोबार गरी संरक्षित पूँजी फिर्ता कोषबाट लाभ लिन अनुरोध समेत गरेको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK