टीकापुर । कैलालीस्थित हुलाकी सडकखण्ड स्तरोन्नतिको काम सुरु भएको २३ महिना पुगिसक्दा पनि ३५ प्रतिशतभन्दा माथि नभएकामा स्थानीयवासीले गुनासो गरेका छन् । तीस महिनामा सम्पन्न गर्नुपर्ने सडक ३५ प्रतिशतमात्रै निर्माण भएपछि स्थानीयवासीले समयमै काम सक्नुपर्ने जनाउँदै दबाब दिन थालेका छन् । स्थानीयवासी सुधा चौधरी सडक स्तरोन्नतिमा भइरहेको ढिलाइबारे निर्माण कम्पनीलाई कडाइ गर्न आवश्यक रहेको बताउँछन् । “जताततै सडक धुलाम्मे छन्, मानिसलाई आवतजावतमा समेत समस्या छ”, उनले भने, “यसले मानिसलाई समस्या भएको छ । दुई वर्ष पुग्न लाग्दा पनि सडक पूरा नहुँदा नागरिकलाई कति सास्ती भएको छ भन्न सकिँदैन ।”
सम्झौता मितिअनुसार काम सम्पन्न गर्न अब सात महिनामात्र बाँकी छ । तीनवटा नयाँ र दुईवटा पुराना खण्ड गरी पाँच खण्डमा विभाजन गरेर काम भइरहेको छ । पुरानो खण्डको काम अन्तिम चरणमा पुगिसकेको भए पनि नयाँ खण्डको भने कामको प्रगति सन्तोषजनक नरहेको हुलाकी राजमार्ग योजना कार्यालय धनगढीका इञ्जीनियर पदम मडै बताउँछन् ।
“पुराना ठेक्का भएका सडकको काम सन्तोषजनक छ, वि.सं २०७७ मा भएका नयाँ ठेक्काहरूको प्रगति सन्तोषजनक छैन”, उनले भने, “नयाँ ठेक्का भएका काममा ढिलाइ भइरहेको छ ।” योजनाको काम समयमै सम्पन्न नहुँदा स्थानीय नागरिकदेखि निर्माण व्यवसायीलाई समेत घाटा हुने देखिन्छ । त्यस विषयमा आफूहरु पनि सचेत रहेको र निर्माण व्यवसायीलाई पटक–पटक ध्यानाकर्षण गराएको तथा कोरोना महामारीबाहेक अन्य बहानामा काम नगर्ने निर्माण व्यवसायीलाई कारबाही गरिने इञ्जीनियर मडैले बताए । ‘‘हामीले एकदम ताकेता गरेका छौँ, पटक–पटक छलफल गरेका छौँ, स्थानीय सरकारसँग पनि सहजताका लागि छलफल गरेका छौँ”, उनी भन्छन्, “सडक निर्माणका लागि कुनै समस्या छैन, ढिलाइ हुनुमा निर्माण व्यवसायीकै कमजोरी छ । अब समयमै काम नगरेको दोष उनीहरुले नै पाउनुपर्छ ।”
टीकापुर नगरपालिकाको सत्तीबाट धनगढी उपमहानगरपालिकाको क्याम्पस चोकसम्म १८ किलोमिटरबाहेक ४४ किलोमिटर सडकको स्तरोन्नतिका लागि ३० महिनाभित्र काम सम्पन्न गर्ने गरी स्वच्छन्द जोशी जेभीले काम गरिरहेको छ । स्वच्छन्द जोशी जेभीले रु. ९७ करोड ५७ लाखमा २०७७ असारमा हुलाकी राजमार्ग निर्देशनालयसँग ठेक्का सम्झौता गरी काम सुरु गरेको हो । यो सम्झौताअनुसार निर्माण व्यवसायीले २०७९ पुस मसान्तसम्म निर्माण सम्पन्न गरिसक्नु पर्नेछ ।
तर निर्माण कम्पनी स्वच्छन्द जोशी जेभीका सञ्चालक गणेश जोशी भने आफूले ठेक्का सम्झौता गरिसकेपछि कोरोनाका कारण दुईपटक बन्द हुँदा काममा ढिलाइ भएको बताए । “समयमै काम सम्पन्न गर्न त सक्दैनौँ”, उनले भने, “काम सम्पन्न गर्न सम्झौता मितिमा एक वर्ष समय थप गर्नुपर्ने आवश्यक छ । हामीले म्याद थपका लागि अनुरोध गर्छौँ ।”
तीस महिनाभित्र काम सम्पन्न गर्ने गरी सम्झौता भएको योजनाको काम २३ महिना बितिसक्दा अर्थात् सम्झौता मितिको ७५ प्रतिशत समय सकिँदा पनि ३५ प्रतिशतमात्रै कामको प्रगति हुनु राम्रो नभएको सरोकारवाला बताउँछन् । सडक निर्माण भइरहेको क्षेत्रमा स्थानीय सरकारले समेत निगरानी र कडाइ गर्न आवश्यक रहेको स्थानीयवासीको माग छ । –रासस
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्