टीकापुर । कैलालीको टीकापुरमा खानेपानी तथा ढल व्यवस्थापन विभागद्वारा सञ्चालन भएको बृहत् ढल निकासको काम १२ किलोमिटर निर्माण भएको छ । यही पुस १५ गतेसम्म २९.५ किलोमिटर ढल निर्माण गरिसक्नुपर्ने सम्झौता भए पनि अहिलेसम्म १२ किमी मात्र निर्माण भएको छ । निर्माण कम्पनी टुँडी कन्ट्रकसनले कोरोना महामारीलगायतका विविध कारणले समयमै काम नसकिने बताउँदै आएको छ । वर्षात्का समयमा आकाशको पानीबाट हुने डुबानलाई रोक्ने उद्देश्यले सुरु गरिएको बृहत् ढल निर्माण कार्यअन्तर्गत यही असार महिनासम्म १३ किमी निर्माण गरिसक्ने गरी काम भइरहेको सहरी खानेपानी तथा सरसफाइ आयोजना क्षेत्रीय आयोजना व्यवस्थापन कार्यालय पश्चिम क्षेत्र आयोजना कार्यान्वयन समूहका परामर्शदाता अरुण रोस्याराले जानकारी दिए ।
“ढल बनिरहेको छ । चालू आर्थिक मसान्तसम्म १३ किमी पूरा हुन्छ”, रोस्याराले भने, “ढल निर्माणाधीन अवस्थामा छ । यो नियमित निर्माण भइरहन्छ । ढल बनेमा टीकापुरमा आकाशे पानी निकासमा सहज हुन्छ ।” रोस्यारा आफूहरूले निर्माण कम्पनीलाई काम समयमै सक्न ताकेता गरिरहेका बताए । “दुई वर्षमा काम सक्नुपर्ने सम्झौता हो । अब निर्माण सक्नुपर्ने समय छ महिना बाँकी छ”, उनी भन्छन्, “कोरोना महामारीका कारण भएका लकडाउन लगायतका कारणले निर्माण कार्यमा केही ढिलाइ भएको देखिन्छ ।”
ढल निर्माण कार्य सुरु हुँदा टीकापुरका नागरिक ढल निकासको समस्या समाधान हुनेमा खुसी छन् । ढल बनेमा टीकापुरलाई आकाशे पानीको डुबानबाट जोगाउन सहयोग पुग्ने भए पनि निर्माण कार्य धमाधम गर्नुपर्ने स्थानीय पवन तिमिल्सिना बताउँछन् । “ढल बनेमा आकाशे पानीका कारण हुने डुबानबाट मुक्ति मिल्ला भन्ने आशा हामीले गरेका छौँ । निर्माण कार्यमा सघाउनु हाम्रो दायित्व पनि हो”, तिमिल्सिना भन्छन्, “तर काम समयमै गर्नुपर्छ । निर्माण कार्य धमाधम गर्न आवश्यक छ । बर्खा लागिसकेकाले दुर्घटनाको जोखिम हुन्छ ।” २९.५ किमी लम्बाइको ढल निकासको पानी जमरा र ज्ञानी कुलामा व्यवस्थापन गरिनेछ । सडकमा आएको पानी सडकमा जम्मा नभई नालीमार्फत व्यवस्थापन हुने र डुबानका कारण बर्सेनि खेप्दै आएको सास्ती कम हुने टीकापुर नगरपालिकाका प्रमुख रामलाल डगौरा थारु बताउँछन् ।
“निर्माणाधीन अवस्थामा रहेकाले जताततै खाल्डाखुल्डी हुँदा नागरिकलाई केही समस्या हुनसक्छ । हामीले ढल निकास नभएका कारण हुने समस्या समाधानका लागि काम गरिरहेका छौँ”, नगर प्रमुख थारु भन्छन्, “निर्माणका कार्य सम्पन्न गराउन सबैको सहयोग चाहिन्छ । धुलोधुवाँ, बाटो अवरुद्ध जस्ता कार्य हुन्छन् । यसमा नागरिकको सहयोग आवश्यक छ ।” यसका साथै टीकापुर नगरपालिका आफैँले बर्खामा डुबान हुने क्षेत्र तथा ब्लकमा अस्थायी ढल निर्माण थालेको छ । नगरपालिकाले प्रधानमन्त्री रोजगार कार्यक्रममा आबद्ध युवा परिचालन गरेर निकास गर्नुपर्ने ठाउँमा ढल खन्ने र आवश्यक ठाउँमा ह्युमपाइप राखेर निकास खोल्ने काम गरिरहेको जनाएको छ । ढल निकास र मानव मलमूत्र व्यवस्थापन गरी रु. ६० करोड ६९ लाख तीन हजार लगानीमा निर्माण भइरहेको आयोजनामा कूल लागतको ८५ प्रतिशत रकम एडिबीले सहयोग गरेको छ भने बाँकी १५ प्रतिशत टीकापुर नगरपालिकाले लगानी गरेको छ । मानव मलमूत्र व्यववस्थापन निर्माण सकिएर सञ्चालनमा आएको छ भने ढल निर्माण कार्य जारी छ । –रासस
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्