×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

तपाईंको यो अदम्य साहसका लागि साधुवाद तिलकजी !

काठमाडौँ । अधिकांस मान्छे आफैंमा ‘लोभी-पापी’ स्वभावको हुन्छ । आफ्ना लागि एउटा मान्छे अरुलाई मार्न पनि तयार हुन्छ । आफ्नो स्वार्थका लागि अरुको घाँटी निमोठ्न तयार हुन्छ । आफ्नो मुखमा माँड हाल्न, अरुको गाँस कटाउन तयार हुन्छ । मान्छेको स्वभाव नै हो, ‘मान्छे फगत आफ्ना निम्ति बाँच्न खोज्छ ।’ आम मान्छेको साधारण गुण, वा सोच यस्तै यथार्थबीच ढुलमुल हुन्छ ।
तर खास मान्छेहरु अरुका लागि पनि बाँच्छन् । खासमा तीनै मान्छेहरु ‘खास’ हुन्, जो अरुका लागि बाँच्ने साहस राख्छन् । यो दुनियाँमा त्यस्ता खास मान्छेहरु कम भएपनि भेटिन छोडेका छैनन् । नेपालको सेयर बजारमा तिलक कोइराला तिनै एक खास पात्र हुन्, जो लाखौँ लगानीकर्ताको हितका लागि मर्न तयार भए । १० दिनसम्म भोको रहेर, विहानको अत्यासलाग्दो घामसँग लडे, बेलुकीको कठोर गोधुलीसँग जुधे । रातको अविरल झरी, हावाहुरी र सँगै मात्र केहि मान्छेको साथ हुँदा पनि, अहँ उनी डगमगाएनन् ।
खुसीमा साथ दिनेहरु, दु:ख पर्दा बाटो मोडेर गए । उनको ज्यान कमजोर हुँदा मै हुँ भन्नेले छोडेर गए । अनेक तानाबानाको सिकार भए तिलक । अनेक जालझेलसँग जुधेर पनि अहँ खुट्टा कमाएनन् उनले । पेटसँग आम लगानीकर्ताको आशा साटेनन् ।  बरु अठोटलाई साहसमा बदलेर उनले जितीछाडे लगानीकर्ताको मन ।
भोलि-भोलि भन्ने नियामकलाई उनले ‘आज’को महत्व बुझाए । ‘हुन्न- हुन्न’ भन्ने सरकारी निकायलाई नभई हुन्न भन्नेसम्म बनाए । संसदमा जनताका प्रतिनिधिलाई सेयर बजारबारे बोल्न बाध्य गराए, सडकमा लगानीकर्ताको जमात कत्रो छ भन्ने तथ्य बुझाए । समग्रमा उनी मात्र जितेनन्, नेपालको सेयरबजारले जित्यो । ५२ लाख लगानीकर्ताले जिते ।
बजार घट्छ, बढ्छ । हिजो घट्यो, आज बढ्यो । भोलि पनि यहि लयमा बजार आफ्नै गतिमा बग्नेछ । तर गर्नुपर्ने काम गर्नैपर्छ भनेर नियामकलाई ठुलो धक्का दिन उनी पक्का सफल भए । नगरे पनि के हुन्छ र ? भनेर सोच्ने नियामकलाई ‘गरेनौ भने के हुन्छ थाहा छ ?’ भनेर प्रश्न गरे । समग्रमा सरकारदेखि नियामकसम्म ज्यानको बाजी थापेर सबैलाई झकझाकाए उनले ।
सुकेको ज्यान, उराठलाग्दो दैनिकी, र अस्वस्थ शरीर बोकेर उनी निरन्तर लढीरहे, डटीरहे । ५२ लाख लगानीकर्ताको ढुकढुकी बनेर फेरि तिलकसँगै आशा उदाएको छ, भरोसा झाँगिएको छ । र एउटा अपेक्षाको सुन्दर फूल मुस्कुराउँदै भनिरहेको छ- ‘तपाईंको यो अदम्य साहसका लागि साधुवाद तिलकजी’
तपाईंको ज्यानलाई बाजी राखेर, लगानीकर्तालाई साक्षी राखेर ल्याएको ‘खुसी’ र कार्यान्वयनका हरेक अंशहरुलाई हामी खबरदारी गरिरहनेछौँ ।
पत्रकारितामा ‘पावर’ हुन्छ भन्नुहुन्थ्यो, आज त्यहि ‘पावर’ले तपाईंको ‘पावर’लाई ‘पावरफुल’ तरिकाले साथ दिन पाउँदा सार्है खुसी लागेको छ ।
स्वास्थ्यको ख्याल गर्नुहोला ।
हामी फेरि जुट्नेछौं
उठ्नुपरे फेरि उठ्नेछौँ ।
फेरि पनि साधुवाद तिलकजी ! कोटी साधुवाद तिलक कोइराला !!
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: