×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेपालमा चिनियाँहरुको ‘कल सेन्टर धन्दा’ : सोझा नेपालीहरुबाट करोडौँ ठगी, दुई दिनमै सयौँ पक्राउ !

PRIME CA

नेपालमा चिनियाँहरुको ‘कल सेन्टर धन्दा’ : सोझा नेपालीहरुबाट करोडौँ ठगी, दुई दिनमै सयौँ पक्राउ !

९ श्रावण २०७९, सोमबार

पढ्न लाग्ने समय: < ३ मिनेट

काठमाडौँ । ‘तपाईंलाई चिठ्ठा परेको छ । बधाई !’
ह्वाट्स एप नम्बरमा श्रीजना (नाम परिवर्तन)लाई मेसेज मात्र आउँदैन, कल नै गरेर कोहि नेपालीले नै नेपाली लबजमा फोन गर्छ । नेपालीमै कुरा गरेपछि नपत्याउने कुरै भएन । ती व्यक्तिले उनलाई चिट्ठा परेको र चिट्ठावापतको ठुलो रकम लिन केहि रकम करका रुपमा तिर्नुपर्ने बताउँछन् । नेपालीले नै बोलेको सुनेपछि श्रीजनाले पनि उनले भनेको नम्बरमा पैसा पठाउँछिन् । तर पैसा पठाएपछि चिट्ठाको रकम होइन, थप पैसा पठाउनुपर्ने बहानाबाजीसहितको कल आउँछ । श्रीजना पैसा बुझाउँदै जान्छिन् । तर उताबाट चिठ्ठा होइन, थप पैसा मागिन्छ । तर उताबाट निरन्तर पैसा मागेको माग्यै गरेपछि, बल्ल थाहा भयो, उनी ठगीमा परेकी रहेछिन् ।
जुन बेला श्रीजनालाई आफु ठगिएको थाहा भयो, त्यो बेलासम्म निकै ढिलो भईसकेको थियो । उताबाट कल गर्नेले कसैलाई पनि नभन्नु भनेकाले उनले यो कुरा कसैलाई भनेकी पनि थिइनन् । ‘श्रीमानलाई सर्प्राइज’ दिन्छु भनेर सोचेकी उनले जव आफु ठगिएको थाहा पाइन्, तवसम्म उनको निकै ठुलो रकम ठगले आफ्नो बनाईसकेको थियो । पछि उनले प्रहरीकहाँ उजुरी पनि गरिन् । प्रहरीले यस्ता केस धेरै भईरहेको बताएपछि बल्ल उनी आफु ठगको मारमा नमज्जासँग फसेको र आफ्नो पैसा अव लगभग नफर्किने स्थितिमा रहेको बुझिन् ।
श्रीजना त एउटी प्रतिनिधि पात्र मात्र हुन्, यसरी नेपालमा सयौँ मान्छे यसरि ठगिएका छन् । कतिपयले भएभरको पैसा त्यस्ता ठगलाई बुझाएका छन् । कतिको घरबार नै सकिएको छ । तर गोप्य सूचनाका आधारमा प्रहरीले केहि कल सेन्टरहरुमा छापा मारी यस्तो धन्दा गर्नेहरुलाई पक्राउ गर्न सफल भएको छ ।
बुटवलको कल सेन्टरबाट दर्जनौँ समातिए
यस्तै धन्दा महिनौंदेखि चलाउने गरेको एउटा कल सेन्टरमा प्रहरीले आइतबार छापा मार्यो । प्रहरीले रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नं. २ मा रहेको ब्लु स्काइ कल सेन्टरमा छापा मारेर ७ सञ्चालक सहित डेढ सय युवा युवतीलाई पक्रेको छ । उनीहरुलाई पक्राउ गरेपछि बल्ल थाहा भयो कि उनीहरुलाई यस्तो ठगीको काम सिकाउने डिजाइनरको समूह चिनियाँ समूह रहेछ । जानकीनगरमा ३ वटा फ्ल्याट भाडामा लिइ कार्यालय नै राखेर सर्वसाधारणलाई म्यासेज पठाई ट्रयापमा पारेको प्रहरी अनुसन्धानबाट भेटिएपछि उनीहरुलाई अहिले हिरासतमा राखिएको छ ।
प्रहरीका अनुसार सो कल सेन्टरमा चिनियाँ समूहले लगानी गरेको पाइएको छ । सर्वसाधारणको मोबाइलमा ह्वाट्सप र फेसबुकमा चिट्ठा पर्‍यो भन्दै म्यासेज पठाउने, अश्लिल सन्देश पठाउने र ठगी गर्ने गरेको प्रारम्भिक अनुसन्धानका क्रममा पाइएको ईलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायव उपरीक्षक ठगबहादुर केसीले जानकारी दिएका छन् । कर्मचारी पक्राउ परे पनि चिनियाँ समूह भने पक्राउ परेको छैन । पक्राउ परेका कर्मचारीहरुले आफुहरु जब लिंक भन्ने संस्थामार्फत त्यहाँ काम गर्न आएको बताईरहेका छन् । प्रहरीले यस घटनामा जब लिंकको समेत मिलेमतो छ भन्ने आशंकामा थप अनुसन्धान गरिरहेको छ । उनीहरुले त्यहाँ नेपालीलाई ठगी गर्ने र त्यस आधारमा आएको पैसा बाड्नेगरी जागिर खाएको बयान प्रहरीलाई दिएका छन् ।
तिनकुनेमा पनि प्रहरीले छापा मार्यो, चिनियाँ लगानीको कल सेन्टरबाट ठगहरु पक्राउ !
यता बुटवलमा मात्र होइन, काठमाडौँको तिनकुनेबाट पनि प्रहरीले ठगहरुलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर, काठमाडौंको टोलीले विशेष सूचनाको आधारमा छापा मारेको र केहिलाई पक्राउ गरिएको एसएसपी भरत बोहोराले बताएका छन् । उनका अनुसार तिनकुनेमा एक घर नै भाडामा लिएर उनीहरुले ठगी धन्दा चलाउँदै आएका थिए । सो घरबाट ल्यापटपलगायतका विद्युतीय उपकरणहरु बरामद गरिएको बताइएको छ ।
चिनियाँहरुको ‘अपराधिक क्रियाकलाप’ बढ्यो !
यसो त नेपालमा थुप्रै अपराधिक काममा चिनियाँहरुको डिजाइन र मिलेमतो रहेको तथ्य यसअघि पनि सार्वजनिक भईसकेको तथ्य हो । यसअघि चिनियाँ डिजाइनमै नेपालमा एटिएम ह्याकको प्रयास भएको थियो । त्यतिबेला पनि थुप्रै चिनियाँहरु पक्राउ परेका थिए । पछिल्लो समय धेरै अपराधिक क्रियाकलापमा चिनियाँहरुको मिलेमतो पाइएपछि प्रहरीले विशेष अपरेशन नै चलाएर यसरी ठगि धन्दा चलाउने चिनियाँहरुलाई पक्राउ गरेको थियो । केहि बर्ष अघि पनि प्रहरीले काठमाडौंका विभिन्न स्थानमा सर्च अपरेशन चलाएर १२२ जना चिनियाँ नागरिकलाई पक्राउ गरेको थियो । अहिले सो घटना सेलाएसँगै नेपालमा चिनियाँहरुको आर्थिक अपराधिक क्रियाकलापहरु बढेको छ ।
उनीहरुलाई अध्यागमन विभागले डिपोर्ट गरेपछि लिन चीनले चार्टर्ड जहाज नै पठाएको थियो । यो अपरेशनलाई नेपाल र चीनका प्रहरीको हालसम्मकै सबैभन्दा ठूलो संयुक्त अपरेशन भनिने गरिएको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: