Skip to content
LAXMI SUNRISE BANK

फुकोट–कर्णाली जलविद्युत् आयोजनाले स्थानीयवासीलाई १० प्रतिशत सेयर दिने

अर्थ सरोकार

मान्म । फुकोट–कर्णाली जलविद्युत् आयोजनाले स्थानीयवासीलाई १० प्रतिशत सेयर दिने भएको छ । चार सय ८० मेगावाट क्षमताको उक्त आयोजनाले सेयर दिने निर्णय गरेको हो ।

प्रभावित क्षेत्र वा जिल्लाभरका बासिन्दालाई दिने भन्ने निर्णय चाँडै गरिने आयोजनाका प्रमुख हीरामन वाइबाले जानकारी दिए । “स्थानीयलाई सेयर दिने निर्णय गरिएको छ, प्रभावित क्षेत्रकालाई मात्र दिने कि जिल्लाभरकालाई दिने भन्ने निर्णय भएको छैन ।” आगामी वर्षदेखि निर्माण थालिने सो आयोजनाका सरकारले लगानी जुटाउने प्रयास गरिरहेको वाइबाले बताए ।

आयोजनास्थल कालिकोटको सान्नीत्रिवेणी गाउँपालिकामा पर्छ । आयोजनाका संरचना सो गाउँपालिकाको वडा नं १, २ र ३ मा बन्ने छन् । विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार भइसकेको प्रमुख वाइबाले बताए । आयोजनाको अनुमानित लागत रु. ९२ अर्ब ३० करोड रहेको छ ।

आयोजना निर्माण गर्दा एक हजार १४९ परिवार प्रभावित हुने बताइएको छ । आयोजनास्थलमा पूरै जग्गा परेका जग्गाधनीले  ७५ र आंशिक परेकाले ६६ प्रतिशत मुआब्जा पाएको वाइबाले जानकारी दिए । हालसम्म रु. ५० करोडभन्दा बढी रकम मुआब्जावापत वितरण गरिएको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK