×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

एक करोड ३४ लाखको लागतमा पर्यटकीयस्थल आँधीमूल जाने सडक कालोपत्र सम्पन्न

दमौली । तनहुँको आँबुखैरेनी गाउँपालिका–१ स्थित पर्यटकीयस्थल आँधीमूल जाने सडक कालोपत्र गरिएको छ । गाउँपालिकाकै प्रमुख पर्यटकीय धार्मिकस्थलका रुपमा रहेको आँधीमूलसम्म जाने सडक कालोपत्र गरिएको हो । पृथ्वीराजमार्गको एक हजार ७०० देखि साढे दुई किलोमिटरको दूरीमा आँधीमूल रहेको छ । हाल ९०० मिटर दूरीमा कालोपत्र सम्पन्न भएको आँबुखैरेनी गाउँपालिकाका इञ्जिनीयर पङ्कज चितौरे मगरले जानकारी दिए ।

गाउँपालिका र सङ्घीय सरकारको रु. एक करोड ३४ लाखको लागतमा कालोपत्र सम्पन्न भएको उनले बताए । गत वर्षदेखि उक्त सडक कालोपत्रका लागि काम सुरु भएको थियो । नुवाकोटस्थित मेगा डेभलपमेन्ट कन्स्ट्रक्सन प्रालीले सडक कालोपत्रको ठेक्का पाएका थिए । त्यहाँबाट आँधीमूलसम्मको बाँकी सडक कालोपत्रका लागि पनि ठेक्का लागेर काम भइरहेको इञ्जिनीयर मगरले बताए । “बाँकी रहेको ठाउँमा पनि कालोपत्रका लागि ठेक्का लागेर काम सुरु भइसकेको छ, यही वर्षभित्र सडक कालोपत्र सम्पन्न हुन्छ”, उनले भने ।

गणेशकुण्ड विएम सिजल जेभीसँग कालोपत्र, ढलान र नाला निर्माणका लागि गत वैशाख १ गते सम्झौता भएको थियो । सम्झौता भएको एक वर्षभित्र काम सम्पन्न गर्नुपर्ने म्याद रहेको छ । रु. तीन करोड आठ लाख २० हजार ३८० मा सडक कालोपत्रका लागि सम्झौता भएको छ । यसअघि कच्ची सडक हुँदा पनि आँधीमूलमा पर्यटकको भीड रहने गरेकामा सडक कालोपत्र भएपछि त्यो सङ्ख्या अझै बढ्ने विश्वास गरिएको छ । आँबुखैरेनी गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले सडक कालोपत्र सम्पन्न भएपछि आँधीमूलसम्म पुग्न पर्यटकलाई सहज हुने बताए ।

आँधीमूल पर्यटकीय गन्तव्यस्थलका रुपमा विकास भइरहेको छ । आँधीमूलमा रहेको मन्दिर, २३ वटा धारालगायतले यहाँ आउने पर्यटकलाई लोभ्याउने गरेको छ । आँधीमूलमा ठूलो एकादशीका दिन पनि विशेष मेला लाग्ने गरेको छ । आँधीमूल मन्दिरको दर्शन गरे मनोकाङ्क्षा पूरा हुने जनविश्वास रहेको पाइन्छ । आँधीमूलस्थल रमणीय भएकाले पूजाअर्चनाका साथै वनभोजका लागि मानिस टाढाटाढादेखि आउने गर्छन् । यो मन्दिरमा साउन महिना र औँसीबाहेकका सबै दिनमा पूजा हुने गर्छ । आँधीमूल देवीको मन्दिरमा परेवा उडाउने, बोका र कुखुरालाई बलि दिने प्रचलन पनि रहेको छ ।

पर्यटकको चहलपहल बढ्न थालेसँगै यस ठाउँमा थप पूर्वाधार निर्माण गर्ने सोच राखिएको गाउँपालिकाले जनाएको छ । यस क्षेत्रको संरक्षण र विकासका लागि गाउँपालिकाले गत वर्ष तारबार लगाउनुका साथै हावाहुरी आउँदा र पानी परेको समयमा बस्न सहज बनाउने उद्देश्यले ट्रष्ट निर्माण गरेको छ । गाउँपालिकाले धार्मिक पर्यटकीय गन्तव्य आँधीमूलको विस्तृत आयोजना प्रतिवेदन तयार गर्न लागेको छ ।

प्यागोडाशैलीको मन्दिर, पार्क, दुई पोखरी र माछाको आकृतिका २३ वटा धारालगायत संरचना रहेको आँधीमूलमा दर्शन गरेमा मनले चिताएको पुग्ने जनविश्वासका कारण तनहुँ, कास्की, स्याङ्जालगायत विभिन्न स्थानबाट दर्शनार्थी आउने गरेका छन् । कञ्चन पानी रहेको पोखरीमा पौडिरहने माछा यस तीर्थस्थलको प्रमुख आकर्षण हो । जलदेवताका रुपमा विश्वास गरिने यहाँका माछा मरेमा अनिवार्यरुपमा संस्कार (काजकिरिया) गर्नुपर्ने प्रचलनले यहाँको सांस्कृतिक महत्वलाई थप उजागर गरेको छ ।

प्राचीनकालदेखि नै यहाँस्थित रुखको फेदमा आँधीमूल बाराहीको पूजा गरिँदै आइएकोमा वि.सं २०३५ मा स्थानीय पाकुली परियारको विशेष सक्रियतामा मन्दिर निर्माण गरिएको थियो । परापूर्वकालदेखि नै हरिबोधनी एकादशीका दिन फूलको डोली ल्याएर विसर्जन गर्ने एवं मन्दिर परिसरमा तोरण टाङ्ने कार्य चलिआएको छ । जल, जङ्गल, जमिनलाई पुज्दै आएका स्थानीय मगर समुदायले खेतबारीमा बाली लगाउने र भित्र्याउने समयमा पनि पूजाआजा गर्ने गरेका छन् । मन्दिरका पुजारी युवराज मास्के मगरका अनुसार यहाँ दर्शन गरेमा मनले चिताएको पुग्ने जनविश्वासका कारण पछिल्ला वर्षमा देशका विभिन्न भागबाट दर्शनार्थी आउनेक्रम बढ्दै गएको छ । गण्डकी प्रदेश सरकारले पनि प्रदेशमा रहेका ११० पर्यटकीय गन्तव्यमध्येमा आँधीमूललाई राख्दै यसको विकासका लागि पनि चासो दिएको छ ।

Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: