×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

विद्युत् प्राधिकरणको नाफा १६ अर्ब

काठमाडौँ । कुनै समय सञ्चित घाटा रु. ३२ अर्ब बराबर पुगेको नेपाल विद्युत् प्राधिकरणले नाफामा वृद्धि गर्न सफल भएको छ । पछिल्लो पटक प्राधिकरणको वार्षिक नाफा करिब १६४ प्रतिशतले वृद्धि भएको छ । आर्थिक वर्ष (आव) २०७७/७८ मा रु. छ अर्ब १० करोड खुद नाफामा सीमित भएको प्राधिकरणले आव २०७८/७९ मा नाफालाई बढाएर रु. १६ अर्ब नौ करोड बराबर पुग्ने प्रक्षेपण गरेको छ ।

प्राधिकरणको आव २०७८/७९ को वित्तीय विवरण (अपरिष्कृत) अनुसार वार्षिक आम्दानी रु. एक खर्ब नाघेको कार्यकारी निर्देशक कुलमान घिसिङले जानकारी दिए । योसँगै सार्वजनिक संस्थाहरुमध्ये सबैभन्दा बढी आम्दानी भएको र नाफा आर्जन गर्ने संस्थाका रुपमा प्राधिकरण स्थापित भएको छ ।

‘ऊर्जा खपत २७ प्रतिशत वृद्धि हुँदा बिक्री आम्दानी बढ्यो, विद्युत् निर्यात वृद्धि भयो, प्राधिकरणका स्वामित्वका विद्युत् गृहबाट विद्युत् उत्पादन करिब १६ प्रतिशतले वृद्धि गर्न सफल भयौँ, विद्युत् चुहावट घट्यो, प्रभावकारीरुपमा खर्च नियन्त्रण गरियो, अन्य आम्दानी बढ्यो, यसले गर्दा प्राधिकरणको खुद नाफा बढेको हो’, कार्यकारी निर्देशक घिसिङले भने ।

आव २०७२/७३ मा रु. आठ अर्ब ८९ करोड घाटामा रहेको प्राधिकरण त्यसपछिका वर्षहरुमा निरन्तर नाफामा छ । आव २०७३/७४ मा रु. एक अर्ब ५० करोड नाफा कमाउँदै प्राधिकरणले नाफालाई आव २०७६/७७ मा रु. ११ अर्ब ७५ करोड पुर्याएको थियो । तर, आव २०७७/७८ मा भने घटेर रु. छ अर्ब १० करोडमा झरेको थियो ।

विद्युत् आपूर्ति भरपर्दो र गुणस्तरीय हुँदै गएपछि यसको प्रत्यक्ष सकारात्मक प्रभाव प्राधिकरणको वित्तीय अवस्थामा परेको घिसिङले बताए । प्राधिकरणले विद्युत् बिक्रीबाट रु. ८८ अर्ब आम्दानी गरेको छ । विद्युत् महसुल सङ्कलन विनियमावली बमोजिम समयमै महसुल तिर्ने ग्राहकलाई करिब रु. ९८ करोड छुट दिइएको छ । यसबाट विद्युत् बिक्रीबाट रु. ८७ अर्ब खुद आम्दानी भएको छ । जुन अघिल्लो आवको तुलनामा २२ प्रतिशतले बढी हो ।

विद्युत् चुहावट १५.३८ प्रतिशतमा झर्यो

प्राविधिक तथा गैह्रप्राविधिक चुहावट नियन्त्रण गर्न सञ्चालन गरिएका अभियानबाट विद्युत् चुहावट १५ दलमलव ३८ प्रतिशतमा झारिएको छ । विद्युत् प्रणालीमा आव २०७२/७३ मा २५ दशमलव ७८ प्रतिशत चुहावट रहेकोमा त्यसपछिका वर्षहरुमा निरन्तर घटाएर आव २०७६/७७ मा १५ दशमलव २५ प्रतिशतमा झारिएकोमा आव २०७७/७८ भने बढेर १७ दशमलव १८ प्रतिशत पुगेको थियो ।

आव २०७८/७९ मा चुहावट नियन्त्रणका लागि चालिएका कदमलाई थप व्यवस्थित र प्रभावकारी बनाई चुहावट अघिल्लो वर्षको तुलनामा एक दशमलव ८० प्रतिशत विन्दुले घटाएर १५ दशमलव ३८ प्रतिशतमा झारिएको कार्यकारी निर्देशक घिसिङले बताए ।

“चुहावट नियन्त्रणबाट मात्र प्राधिरकणलाई अघिल्लो वर्षको तुलनामा करिब रु. दुई अर्ब थप आम्दानी भएको छ, चुहावट नियन्त्रणका लागि चोरी नियन्त्रण गर्ने, महसुल वक्यौता असुलीमा कडाइ गर्ने, प्राविधिक चुहावट घटाउन ट्रान्सफर्मर, वितरण लाइन तथा सबस्टेशनको सुदृढीकरणलगायतका काम अभियानकैरुपमा अझै थप प्रभावकारी र व्यवस्थितरुपमा चलाउँ छौँ”, उनले भने ।

विद्युत् निर्यात बढ्यो, खुद आयात घट्यो

आव २०७८/७९ मा भारतर्फको विद्युत् निर्यात बढेको छ भने आयात घटेको छ । अहिले नेपालमा खपत गरी अतिरिक्त भएको विद्युत् दैनिकरुपमा करिब तीन सय ६४ मेगावाटदेखि करिब चार सय मेगावाटसम्म भारततर्फ निर्यात भइरहेको छ ।

आव २०७७/७८ मा चार करोड ४० लाख युनिट (४४ गिगावाट घण्टा) विद्युत् निर्यात भएकोमा आव २०७८/७९ मा ४९ करोड ३० लाख युनिट (चार सय ९३ गिगावाट घण्टा) निर्यात भएको छ । विद्युत् निर्यातबाट प्राधिकरणले रु. तीन अर्ब ८८ करोड आम्दानी गरेको छ ।

अघिल्लो वर्षको तुलनामा आव २०७८/७९ मा आन्तरिक विद्युत् खपत २१ दशमलव २८ प्रतिशतले वृद्धि हुँदासमेत प्राधिकरण विद्युत् आयातलाई घटाउन सफल भएको छ ।

आन्तरिक माग धान्न आव २०७७/७८ मा दुई अर्ब ८० करोड ६० लाख युनिट विद्युत् आयात गरिएकोमा आव २०७८/७९मा ४५ दशमलव ०५ प्रतिशत घटेर एक अर्ब ५४ करोड ३० लाख युनिटमा झरेको छ ।

आव २०७७/७८ मा रु. २१ अर्ब ८२ करोडको विद्युत् आयात भएको थियो । आव २०७८/७९मा आयात घटेर रु. १५ अर्ब ४५ करोडमा झरेको छ । प्राधिकरणले आयात गरेको विद्युत्बाट निर्यात गरेको विद्युत् घटाउँदा खुद आयात एक अर्ब पाँच करोड युनिट बराबर हुन्छ । रकमका आधारमा रु. ११ अर्ब ५८ करोडको मात्र खुद आयात भएको छ । प्रणालीमा उपलब्ध ऊर्जामध्ये खुद आयातको हिस्सा नौ दशमलव ४९ प्रतिशतमा झरेको छ ।

कार्यकारी निर्देशक घिसिङले चालु आवबाट खुद आयातको अन्त्य भई खुद निर्यात सुरु हुने बताए । आव २०७८/७९मा विद्युत पिक डिमान्ड एक हजार सात सय ४७ मेगावाट पुगेको छ । विद्युत प्रयोग गर्ने ग्राहकको सङ्ख्या सामुदायिकसहित ५३ लाख पुगेको छ ।

Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: