×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

सनराइजका सीइओको दाबी- ‘म आएपछि बैंकको ग्रोथ बढेको छ, लफडा हुँदा पनि कुर्सीमा टाँसीरहनुपर्ने मान्छे म होइन’

काठमाडौँ । केहि समय अगाडी जनक शर्मा पौड्याल र संचालक समितिबीच भएको टसलकै कारण सनराइज बैंकका तत्कालीन सीइओले सनराइज बैंक छोडेका थिए । त्यतिबेला नै राष्ट्र बैंकले दुवै पक्षलाई बोलाएर कुरा मिलाएको थियो भने बैंकलाई मर्जरमा जान भनेको थियो । अहिले सनराइज बैंक र अर्को एक बैंकबीच प्राप्तिको कुरा चलिरहँदा पुन: व्यवस्थापन र संचालकबीच मनमुटाव भईरहेको खबर बाहिर आएको छ । सनराइज बैंकका दुई जना संचालकले आफुहरुले सीइओको राजिनामा मागेको बताईरहेका छन् भने बैंकका प्रमुख कार्यकारी अधिकृत सुमन शर्मा आफुलाई राजिनामा मागेकोबारे थाहा नभएको दाबी गरिरहेका छन् । यसैबीच उनै सीइओ शर्मासँग हामीले कुराकानी गरेका छौँ ।
१. सनराइज बैंकमा दुई संचालकले तपाईंको राजिनामा मागेको कुरा बाहिर आयो, खास कुरा के हो ?
मलाई यस विषयमा थाहा छैन । मेरो अगाडी कुनै पनि संचालकले राजिनामा माग्नुभएको छैन । बोर्डमा पनि मेरो राजिनामा मागिएको कुरा थाहा छैन ।
२. राजिनामा माग्दा पनि तपाईंले सुनेको नसुन्यै गर्नुभयो भन्ने आरोप तपाईंमाथि छ नि ?
हेर्नुहोस्, म टसल गरेर बस्ने मान्छे नै होइन । मेरो राजिनामा मागियो भने म कुर्सीमा टाँसीएर बस्नुपर्ने मान्छे पनि होइन । मलाई लफडा मन पर्दैन । लफडा गरेर काम गर्न पनि सकिँदैन । मलाई राजिनामा मागिएको जानकारी छैन । म आफ्नो हिसावले काम गरिरहेको छु ।
३. संचालक समितिमा तपाईंको कार्यक्षमतालाई लिएर कुरा उठ्यो भन्ने छ नि, कुरा के हो त ?
म बैंकमा आएको डेढ बर्ष भयो । यो बीचमा मैले कति काम गरेको छु र त्यसको नतिजा कसरी आएको छ भन्ने कुरा छर्लंग छ । म आएपछि बैंकको कति ग्रोथ भएको छ, त्यो पनि देखिएकै कुरा हो । त्यसैले यस विषयमा अरु मैले के भन्नु र ?
४. भनेपछि संचालकसँग कुनै टसल नै छैन ?
मेरो हिसावले छैन । अव तपाईंलाई संचालकहरुले किन र के कुरा भन्नुभयो, त्यो मलाई थाहा भएन । तर अहिले मैले हेर्ने हो भने सौहार्द्ध वातावरणमा काम भईरहेको छ । मलाई लाग्छ, अहिले बैंकले जे जति प्रगति गरेको छ, त्यो सबैको सहयोगकै कारण भएको हो । टसलले कसैको राम्रो गर्दैन । टसल गरेर कसैलाई फाइदा पनि छैन ।
५. पछिल्लो समय तपाईं आएपछि केहि स्वीकृत नगर्नुपर्ने फाइल अगाडी बढे, र त्यसले टसल निम्त्यायो भन्ने छ नि ?
कहाँ गलत भएको छ, त्यो जानकारी पहिला मलाई हुनुपर्यो । जहाँसम्म तपाईंले एउटा ऋणको कुरा गर्नुभएको छ, त्यस विषयमा म पनि बुझ्छु । गलत भए कानुनी कार्वाही हुन्छ । तर अहिलेसम्म बैंक राम्रोसँग नै चलिरहेको छ । यसमा कुनै पनि शंका गर्ने ठाउँ छ जस्तो लाग्दैन ।
६. अन्त्यमा ?
मलाई मेरो राजिनामाको कुरा उठेको विषय थाहा छैन । राजिनामा माग्नुभएको रहेछ भने म लफडा गरेर, कुर्सीमा टाँसीएर बस्दिन । म त्यसरी बस्नुपर्ने मान्छे पनि होइन । अहिले सबै काम सबै संचालकको सहयोगमा नै भईरहेको छ । अरु कुरा कुन संचालकले कसलाई के भन्नुभयो, त्यो मलाई थाहा भएन ।
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: