×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

पर्यटकको आकर्षणको केन्द्र बन्दै बाबाताल

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

पर्यटकको आकर्षणको केन्द्र बन्दै बाबाताल

रासस

९ भाद्र २०७९, बिहीबार

पढ्न लाग्ने समय: २ मिनेटभन्दा कम

बन्दीपुर (सिरहा) । पछिल्लो केही समय यता सिरहाको कर्जन्हा नगरपालिका–१ बन्दीपुरस्थित बाबाताल आन्तरिक तथा बाह्य पर्यटकको मुख्य आकर्षणको केन्द्र बन्दै गएको छ ।

पूर्वपश्चिम राजमार्गस्थित बन्दीपुर बजारबाट करिब दुई किलोमिटर उत्तर चुरे क्षेत्रमै टाँसिएर निर्माण गरिएको बाबाताल र वरिपरिको हरियाली वातावरणले आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित बनाएको हो ।

बाबाताल वरिपरिको वन, वनभोजस्थल, शिव मन्दिर र निर्माण गरिएको आकर्षक पार्कका कारण पर्यटकको आकर्षण बढ्दै गएकामा थप आकर्षण बनाउन दृश्यावलोकन स्तम्भ ९भ्यूटावर०समेत निर्माण गरिएको छ ।

नेपाल सरकारको पर्यटन बोर्डले निर्माण गरेको भ्यूटावरबाट पर्यटकले बाबातालको मनोरम दृश्यावलोकन गरेर बेग्लै सौन्दर्यको अनुभूति गरिरहेको बाबाताल घुम्न आएका पर्यटकले बताएका छन् । बाबाताल र त्यस वरिपरिको मनमोहक दृश्यावलोकनका लागि अहिले दैनिक एक सयदेखि एक सय ५० सम्म आन्तरिक पर्यटक आउने गरेको बाबाताल चुरे संरक्षण संवद्र्धन समितिका अध्यक्ष अञ्जनीकुमार दाहालले बताए ।

“अरु दिनभन्दा सार्वजनिक बिदाका दिन र शनिबारका दिन अलि बढी नै पर्यटक बाबातालमा घुम्न आउने गर्छन्”, अध्यक्ष दाहालले भने, “विस्तारै तालमा घुम्न आउने पर्यटकको सङ्ख्या बढ्दै गएको छ, त्यही हिसाबले हामीले पनि पर्यटकलाई रमणीय र आकर्षित बनाउने गरी भौतिक पूर्वाधारका काम गरिरहेका छौँ ।”

उनका अनुसार चुरे क्षेत्र नजिकै रहेको उक्त तालमा घुम्न गर्मीयामभन्दा जाडोको मौसम अर्थात् कात्तिकदेखि माघसम्म बढी पर्यटक आउने गर्दछन् । बाबातालप्रति पर्यटकको थप आकर्षण बढाउन ताल क्षेत्रभित्रै फूलको बँगैचा, बालबालिकाका लागि बालपार्क निर्माण गर्नुका साथै पर्यटकका लागि तालमा बोटिङ गर्ने व्यवस्थासमेत मिलाइएको छ ।

“बातातालमा घुम्न आउने पर्यटकका लागि तालमा छवटा बोटिङ सञ्चालनमा ल्याएका छौँ”, समितिका सचिव उद्धव काफ्लेले भने, “चारवटा समितिकै बोटिङ छन्, दुईवटा अन्य व्यक्तिबाट भाडामा ल्याएर बोटिङ चलाइरहेका छौं ।” अहिलेसम्म बोटिङ्ग पनि राम्रै चलिरहेको उनको भनाइ छ ।

बर्सेनि खेतीयोग्य जग्गालाई बगरमा परिणत गर्ने चुरेको फेदबाट बग्दै आएको खहरे खोलालाई घेरबार गरी आर्थिक वर्ष २०६०/६१ मा भू–संरक्षण कार्यालय सिरहाबाट निर्माण गरिएको बाबाताल क्षेत्रमा आर्थिक वर्ष २०७१÷७२ मा राष्ट्रपति चुरे संरक्षण कार्यक्रमअन्तर्गत उदयपुरको बेलसोथस्थित नेपाली सेनाको राष्ट्र विकास गणले वनभोजस्थल, शिव मन्दिर, बालपार्क बनाएर व्यवस्थित बनाएको थियो ।

अहिले पर्यटकीय क्षेत्रका रूपमा विकास हुँदै गएको बाबाताल क्षेत्र अवलोकनका लागि सर्वसाधारणदेखि देशका विभिन्न जिल्लाबाट स्कुल तथा कलेजका विद्यार्थीसमेत आउने गरेको सचिव काफ्लेको भनाइ छ । अरु बेलाभन्दा पनि नयाँ वर्ष तथा चाडपर्वका बेला तालमा पर्यटकको बढी घुइँचो लाग्ने गरेको छ ।

अहिले ताल क्षेत्रभित्र नेपाली, मैथिली तथा भोजपुर चलचित्रको छायाङ्कनसमेत हुन थालेको छ । दैनिकजसो कलाकार आउने र सुटिङ गर्ने गरेका छन् । ताल घुम्न आउने पर्यटकका लागि बाबाताल संरक्षण समितिले प्रवेश शुल्क रु १०, तालमा बोटिङ गर्ने पर्यटकका लागि रु ५० र भ्यूटावरबाट अवलोकन गर्न रु. २० को टिकटको व्यवस्था मिलाइएको छ ।

आन्तरिक पर्यटकको आकर्षणको केन्द्र बनेको बाबातालमा भ्यूटावर निर्माण भएपछि अब बाह्य पर्यटकसमेत आकर्षित हुने समितिका अध्यक्ष दाहालले बताए । करिब सात हेक्टर क्षेत्रफलमा फैलिएको बाबाताल घुम्न आउने पर्यटकको सुविधालाई दृष्टिगत गरी ताल क्षेत्रभित्रै धर्मशालासमेत निर्माण गरिएको छ । यसबाहेक ताल क्षेत्रभित्र स्थानीयले घरबाससमेत सञ्चालन गर्ने तयारी रहेकाले सोबारे पर्यटन मन्त्रालयसँग छलफल भइरहेको अध्यक्ष दाहालको भनाइ छ ।

तालमा आन्तरिकका साथै बाह्य पर्यटकसमेत भित्र्याउन राजमार्गबाट तालसम्मको ग्राभेल बाटोलाई कालोपत्र गर्ने र निकट भविष्यमै ताल क्षेत्रमा केबुलकारसमेत सञ्चालन गर्ने ताल संरक्षण समितिको योजना रहेको अध्यक्ष दाहालको कथन छ ।

सरकारी निकाय तथा स्थानीयवासीको समेत गतिलो साथ पाएको बाबाताल क्षेत्र जिल्लाकै प्रमुख पर्यटकीय क्षेत्रका रूपमा देखिन थालेको छ । पर्यटकीय क्षेत्रकै रूपमा व्यवस्थित भएको छोटो अवधिमै ठूलो सङ्ख्यामा आन्तरिक पर्यटक भित्र्याउन सफल बाबाताल मुलुककै प्रसिद्ध पर्यटकीय क्षेत्रका रूपमा विकास गर्न स्थानीयसमेत जोडतोडका साथ जुटेको स्थानीय बुद्धिजीवी राजकुमार लामाले बताए ।

जिल्लाका अन्य कतिपय पर्यटकीय क्षेत्र ओझेलमा पर्दै गएको बेला पर्यटकको आकर्षकको केन्द्र बनेको बाबातालको पहिचान राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरसम्म पुर्याउन प्रचार–प्रसार गर्नुपर्ने लामाको भनाइ छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी