×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

होश र जोशसहितको अर्जुनदृष्टि

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

होश र जोशसहितको अर्जुनदृष्टि

Artha Sarokar

२४ भाद्र २०७९, शुक्रबार

पढ्न लाग्ने समय: ४ मिनेटभन्दा कम

पोखरा । २०६२/६३ देशभर शान्तिपूर्ण जन आन्दोलन चल्यो । त्यो आन्दोलनमा भाग लिन गाउँदेखि पोखरामा झथ्र्यो एउटा फुच्चे । दिनभरि आन्दोलनमा हिँड्यो अनि साँझ फर्कियो घर । आन्दोलन सफल भयो, २५० वर्ष पुरानो राजसंस्था अन्त्य भयो । राजनीति आफ्नै बाटोमा हिँडिरहेको थियो । आन्दोलन गर्न पोखरा झर्ने फुच्चेलाई गाउँमा पनि परिवर्तन ल्याउने हुटहुटी थियो । एकातिर पढाइ अर्कोतिर केही गर्ने हुटहुटी । ०६४/०६५ को कास्कीको निर्मल पोखरीमा एउटा आन्दोलन उठ्यो । त्यो आन्दोलनको उद्देश्य गाउँमा विकृति अन्त्य गर्ने भन्ने थियो । देशमा राजसंस्था जस्तो त्यो विकृति पनि सायद सयौँ वर्ष पुरानो थियो ।

दिनदहाडै होस् या साँझ बिहान गाउँमा रक्सी खाएर हल्लिनेहरु हुन्थे । रक्सी खानेले त खाए, घरकालाई पिरलो । दिनहुँ झगडा । अभियान युवा क्लबले थाल्यो-मदिरा मुक्त अभियान । क्लबका अध्यक्ष त्यही जन आन्दोलनबाट प्रेरित उही किशोर अर्जुन गिरी । अभियान सुरु हुनासाथै गाउँका दिदीबैनी र आमाहरुले साथ दिइहाले । किशोरकिशोरी र युवाहरु जुटे । गिरीले नेतृत्व गरेको क्लब र आमा समूह मिलेर निर्मलपोखरी गाविसलाई मदिरा मुक्त गाविस घोषणा गरियो ।

गिरीलाई त्यही अभियानको सफलताले हौसला दियो-राम्रो काम गर्न सकिन्छ, परिवर्तन सम्भव छ, परिवर्तन आफ्नो ठाउँमा आफैले गर्नुपर्छ । नेतृत्व दिँदा साथ दिनेहरु पनि पाइन्छ । पछि गिरीले बाटोघाटो, पानीपँधेरोतिर पनि ध्यान लगाउन थाले । सामाजिक कामका अलावा उनको रुचि खेलकुद पनि हो । ०६४ सालको जिल्ला स्तरीय प्रतियोगितामा सितेरियो कराँतेमा गिरीले गोल्ड मेडल हात पारेका थिए ।

माध्यमिक तहपछि गिरीले उच्च माविमा पत्रकारिता विषय रोजे । पत्रकारितामै लागे । स्नातकमा पनि पत्रकारिता अध्ययनसँगै पत्रकारितालाई निरन्तरता दिए । अहिले त पत्रकारितामा पूर्वाञ्चल विश्वविद्यालयबाट स्नातकोत्तर गरी लेकसिटी कलेजमा पत्रकारिताको स्नातक तहलाई पढाइरहेका पनि छन् । ताण्डव न्यूज डटकम उनको सम्पादकीय नेतृत्वमा चलिरहेको पोखराको विश्वसनीय अनलाइनमा पर्छ । पत्रकारितामा पनि गिरीको निशाना विकृति, विसंगति र अपराध बन्यो । पत्रकारितामा लाग्दै गर्दा नेकपा एमालेको भातृ संगठन प्रेस चौतारीको सदस्य भएका गिरी ०६८ सालमा प्रेस चौतारी कास्कीको सचिवमा चुनिए ।

पार्टीले दिएका विभिन्न जिम्मेवारी सफलतापूर्वक निर्वाह गर्दै आएका गिरी प्रेस चौतारी, कास्कीको अध्यक्ष भए । अहिले पनि उनको नेतृत्वमा प्रेस चौतारी कास्की सशक्त छ । २०७७ मा विश्व कोरोना महामारीले आक्रन्त भयो । सबैका दैनिकी ठप्प भए । देशमा लकडाउन सुरु भयो । दैनिक ज्याला मजदुरीमा निर्वाह गरिरहेकाहरुलाई महामारीले चैनको सास फेर्न दिएन । गिरीको सक्रियता यतिबेला झन् बढ्यो । कोरोना कहरका कारण निभेका चुल्होहरुमा गिरी आगोको झिल्का बने । पहिलो चरणमा आफ्नै लगानीमा राहत बाडे ।

दोस्रो चरणमा साथीभाइ, ईष्टमित्र, देशविदेशमा रहेका शुभेच्छुकहरुलाई अनुरोध गरेर उनले तेल, दाल, चामल लगायतका खाद्यान्न सामग्रीहरु वितरण गरे । कोभिड भई घरमै बसेकाहरुलाई औषधीमुलोको व्यवस्था समेत गिरीले गरेका थिए । यही सक्रियतालाई मध्यनजर गर्दै पोखरा २१ वडा कार्यालयको आह्वानमा बसेको सर्वदलिय बैठकले उनलाई कोभिड नियन्त्रण समितिको संयोजक बनाएको थियो । उनमा जति जोश छ, त्यतिकै होश पनि । त्यसैले त वादविवाद र झैझमेलाका टुंगो लगाउन झिँझो मान्दैनन्, बडा कौशलतापूर्वक सुल्झाउने खुबी राख्छन् ।

उनको कार्यशैलीप्रति प्रभावित भएरै नेकपा (एमाले) कास्की जिल्ला कमिटीको सदस्यभएसँगै उनलाई पोखरा २१ मा पार्टी इन्चार्जको जिम्मेवारी दिइयो । पार्टीप्रति जनताको विश्वास बलियो बनाउन सफल देखिएका गिरी पछिल्लो स्थानीय तहको निर्वाचनमा पार्टीका तर्फबाट उम्मेदवारहरुलाई भारी मतले जित हासिल गराउन सफल भए । अब उनको अर्जनुदृष्टि आउँदो प्रदेश सभा तथा प्रतिनिधि सभा निर्वाचनमा केन्द्रित छ । आफ्नो आस्थाको पार्टीलाई जिताउने । जनतालाई दुःख दिनु हुँदैन भन्ने सोच राख्ने गिरी अन्यायमा परेका जो कोहीलाई न्याय निरुपणका लागि बलबुताले भ्याएसम्म लाग्छन् । निडर र खोजमूलक पत्रकारिता, जनताले अधिक पत्याएको पाटो हो उनको ।

हालसम्म संलग्न रहेका संस्था वा संगठनमा आर्थिक पारदर्शिता कायम गर्दै चारित्रिक रुपमा पनि इमान्दार गिरीप्रति समाज एवं क्षेत्रको आशा बढ्दो छ । उनलाई पोखरा २१ सँगै कास्की क्षेत्र नं २ (क) का अन्य वडाबासीले प्रदेश सांसदका रुपमा हेर्न चाहिरेका छन् । सामाजिक सञ्जालमा उनलाई उम्मेदवार बनाउन स्वतः स्फूर्त पोष्टहरु आइरहेका छन् । गिरीले टिकट पाए उक्त क्षेत्रमा भारी मतका साथ जित हासिल हुने अड्कल बाजीसमेत भइरहेको छ । गिरीले जित्ने आधार के के छन् त ?

नेकपा एमाले जिल्ला कमिटी कास्कीका सदस्य तथा पोखरा-२१ का इन्चार्ज अर्जुन गिरीकै नेतृत्वमा वडाध्यक्षलाई भारी मत अन्तरले विजय बनाए । बैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा पोखरा-२१ मा एमालेका उम्मेदवार दीपक सुवेदीले गठबन्धनका साझा उम्मेदवार पूर्णबहादुर थापालाई ८ सय ४२ मत अन्तरले पराजित गरे । निर्वाचन क्षेत्र नम्बर २ को (क) मा रहेका ५ वडाहरु मध्ये पोखरा-२१ को मत अन्तर सबै भन्दा धेरै छ । वडा नम्बर २१ मा एमालेका दीपकप्रसाद सुवेदीले २६ सय ५३ मत ल्याएर निर्वाचित भएका थिए । गठबन्धनका साझा उम्मेदवार एकीकृत समाजवादीका पूर्णबहादुर थापाले १८ सय ११ मत ल्याएर पराजय भए ।

यस निर्वाचन क्षेत्रमा पोखरा-२१ सहित ७, १५, १७ र ३३ वडा छन् । उक्त वडाको स्थानीय तहको निर्वाचनमा वडा अध्यक्षले ल्याएको मतलाई आधार मान्ने हो भने एमाले पहिलो स्थानमा छ । गएको स्थानीय निर्वाचनमा पोखरा १५ मा तोरणबहादुर बानियाँ २३ सय ३८ मत निर्वाचित भएका थिए । बानियाँले गठबन्धनबाट कांग्रेसका मीनबहादुर गिरीलाई उम्मेदवारलाई हराएका हुन् । गिरीले १७ सय २ मत ल्याएका थिए । वडा नम्बर १७ मा एमालेबाटै राधिकाकुमारी शाही निर्वाचित भइन् । उनले २६ सय २५ मत ल्याएकी थिइन् । कांग्रेसबाट देवराज आचार्यले २५ सय ४२ मत ल्याए ल्याएका थिए ।

पाँच वडामा २ वडामा कांग्रेस उम्मेदवार निर्वाचित भएका छन् । वडा नम्बर ७ मा गठबन्धनका साझा उम्मेदवार राममोहन आचार्य १३ सय ८३ मत ल्याएर निर्वाचित भएका थिए । उनका प्रतिस्पधी एमालेका किशोर बरालले १२ सय ८४ मत ल्याए । वडा नम्बर ३३ मा रामचन्द्र अधिकारी ३३ सय ८९ मत ल्याएर निर्वाचित भएका छन् । उनले एमाले उम्मेदवार शिवप्रसाद आचार्यलाई पराजित गरेका हुन् । एमालेका आचार्यले २६ सय ३३ मत ल्याएका थिए । एमालेले सबै वडामा उम्मेदवार उठाएको थियो । एमाले विरुद्ध पाँच दलीय गठबन्धन साझा उम्मेदवार थिए । पाँच वडाको कुल मत जोड्दा गठबन्धनभन्दा एमाले बलियो देखिएको छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी