काठमाडौँ । चालु आर्थिक वर्षको दोस्रो महिना अर्थात् गत भदौमा मात्रै नेपाल विद्युत प्राधिकरणले रु दुई अर्ब ४२ करोड बराबरको बिजुली भारत निर्यात गरेको छ ।
देशभित्र खपत गरी बढी भएको २४ करोड ६५ लाख २९ हजार युनिट विद्युत प्राधिकरणले भदौमा निर्यात गरेको हो । प्राधिकरणले देशभित्र खपत गरी अतिरिक्त भएको वर्षायामको विद्युत गत जेठ १९ गतेदेखि इन्डियन इनर्जी एक्सचेञ्ज लिमिटेड (आइएक्स) को डे-अहेड बजारमा प्रतिस्पर्धामार्फत बिक्री सुरु गरेको थियो ।
सुरुमा दुई वटा विद्युतगृहबाट ३९ मेगावाट उत्पादित विद्युतलाई स्रोत मानी दैनिकरुपमा ‘आइएक्स’ मा बिक्री गरिएको थियो । त्यसपछि गत २७ जेठदेखि दैनिक रुपमा छ वटा जलविद्युतगृहबाट उत्पादित विद्युतलाई स्रोत मानी दैनिक रुपमा तीन सय ६४ मेगावाट भारतीय बजारमा प्रतिस्पर्धी दरमा बिक्री हुँदै आएको प्राधिकरणले जनाएको छ ।
प्राधिकरणले जेठ, असार, साउन र भदौसम्ममा ७८ करोड ७८ हजार युनिट विद्युत भारतीय बजारमा बिक्री गरी रु ७ अर्ब १९ करोड ८६ लाख बराबरको रकम आर्जन गरेको छ । भारतसँगको विद्युत व्यापार भारतीय रुपैयाँ (भारु) मा हुने भएकाले चार महिनाको अवधिमा विद्युत बिक्रीबाट ४ अर्ब ४९ करोड ९१ लाख भारु नेपाल भित्रिएको छ । भदौमा मात्र विद्युत बिक्रीबाट १ अर्ब ५१ करोड पाँच लाख रुपैयाँ भारु आम्दानी भएको छ ।
हरेक महिना विद्युत निर्यात बढ्दा यसबाट प्राप्त हुने रकमबाट (भारु) नेपालको विदेशी मुद्रा सञ्चिती र दुई मुलुकबीचको व्यापार घाटालाई कम गर्न योगदान पुगिरहेको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले जानकारी दिएका छन् । ‘चालु आवमा विद्युत निर्यातबाट करिब रु १६ अर्ब आम्दानी गर्ने लक्ष्य राखेका छौँ, मङ्सिरको पहिलो हप्तासम्म विद्युत निर्यात गर्न सकिन्छ भने जेठपछि फेरि निर्यात सुरु हुँदा लक्ष्य पूरा हुने अनुमान गरेका छौँ’, कार्यकारी निर्देशक घिसिङले भने ।
अब चाडबाड पनि सुरु हुन लागेकाले उद्योग कलकारखाना बन्द हुँदा आन्तरिक खपत केही कम हुन्छ, तर हाम्रो उत्पादन भने पूर्ण क्षमतामा हुनेहुँदा करिब दुई सय मेगावाट थप विद्युत निर्यातको सहमतिका लागि प्रस्ताव पठाएको प्राधिकरणले जनाएको छ । भारतीय पक्षबाट थप विद्युत निर्यातका लागि छिट्टै सहमति दिनेमा विश्वस्त रहेको कार्यकारी निर्देशक घिसिङले जानकारी दिए ।
आइएक्समा २४ घण्टालाई १५/१५ मिनेटको ९६ वटा ब्ल्कमा विभाजन गरी बजारले तय गरेको प्रतिस्पर्धी दरमा विद्युतको कारोबार गरिन्छ । त्यसैले हरेक ब्ल्कको मूल्य फरक फरक हुने गरेको छ ।प्राधिकरणले भदौमा निर्यात गरेको विद्युतको औसत दर प्रतियुनिट नौ रुपैयाँ ८० पैसा रहेको छ । चार महिनाको औसत दर प्रतियुनिट नौ रुपैयाँ २३ पैसा रहेको प्राधिकरणले जनाएको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्