×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

दूरदराजसम्म बिमाको पहुँच पुर्याउन अर्थमन्त्री शर्माको निर्देशन

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

दूरदराजसम्म बिमाको पहुँच पुर्याउन अर्थमन्त्री शर्माको निर्देशन

रासस

१६ भाद्र २०७९, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । अर्थमन्त्री जनार्दन शर्माले दूरदराजसम्म बिमाको पहुँच पुर्याउन बिमा समितिलाई निर्देशन दिएका छन् । आज सुर्खेतस्थित बिमा समितिको प्रादेशिक कार्यालय उद्घाटन गर्दै उनले कर्णालीका अधिकांश नागरिक बिमाको पहुँच बाहिर रहेकाले सेवा विस्तार गर्न निर्देशन दिएका हुन् ।

अर्थमन्त्री शर्माले बिमा समितिको अधिकार प्रदेशसम्म विस्तार गर्न कार्यालय खोलिएकाले बिमा सेवा सहर–बजारमा सीमित नभई गाउँ–गाउँसम्म पुग्नुपर्ने बताए । बिमा सेवा समग्र आर्थिक क्रियाकलापसँग जोडिएकाले विश्वसनीय वातावरणका साथ गाउँगाउँमा पुग्नुपर्ने उनको भनाइ थियो । “बिमा सेवा गाउँ–गाउँसम्म पुग्नु सङ्घीयताको एउटा आयाम हो, वित्तीय र बिमा साक्षरताका कार्यक्रम लिएर ग्रामीण भेगका जनतासम्म पुग्न जरुरी छ”, अर्थमन्त्री शर्माले भने, “कर्णालीका ११ प्रतिशत नागरिकमात्र बिमाको पहुँचमा छन्, यो धेरै कम हो, किसानका स–साना समूह बनाएर प्रशिक्षण गरौँ ।”

बिमा कम्पनीले समयमा भुक्तानी नदिने, बिमितले दाबीअनुसारको भुक्तानी नपाउने गुनासो सुनिने गरेको छ भन्दै उनले थप विश्वसनीय वातावरणका साथ सेवा विस्तारमा ध्यान दिन आग्रह गरे । “सरकारले लघुवित्तमार्फत सहुलियतपूर्ण ऋणलाई जनताको खेतबारीसम्म पुर्याउने लक्ष्य लिएको छ, बिमा कम्पनीहरू पनि त्यहाँसम्म पुग्नुपर्यो”, उनले भने, “कर्णालीका सबै पालिकामा अनिवार्य पुग्ने गरी कार्यक्रम बनाउनुस् ।”

बिमा समितिले बिमा व्यवसायको समग्र नियमन, बिमितहरूको सुरक्षा, बिमा साक्षरता, बिमक बिमितका समस्या समाधान गर्नुपर्ने बताउँदै अर्थमन्त्री शर्माले १२ हजारभन्दा बढीले प्रत्यक्ष रोजगारी पाइरहेको यस क्षेत्रमा दक्ष जनशक्तिको अभाव रहेकाले सरकारले बिमा कलेज स्थापनाको तयारी गरेको जानकारी दिए ।

उनले भने, “सरकारले नयाँ विधेयकमा बिमा प्राधिकरण, बिमा प्रतिष्ठान, बिमा सूचना केन्द्रजस्ता संरचनाको प्रस्ताव गरेकाले जनशक्ति व्यवस्थापनका लागि पनि छुट्टै कलेजको आवश्यकता छ, बिमासम्बन्धी पाठ्यक्रम बनाएर सरकारले कलेज स्थापना गर्छ ।”

उद्घाटन कार्यक्रममा प्रदेश सरकारका भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री चन्द्रबहादुर शाहीले बिमा समितिको प्रदेश कार्यालय स्थापनाले कर्णालीका किसान लाभान्वित हुनेमा विश्वास व्यक्त गरे । आर्थिक मामिला तथा योजनामन्त्री कृष्णा शाह (आचार्य) ले गरिब परिवारहरु बिमाको पहुँच बाहिर रहेकाले बिमा समितिले विशेष प्याकेज ल्याउनुपर्ने सुझाव दिए । बिमा समितिका अध्यक्ष सूर्य सिलवालले बिमा व्यवसायलाई विविधिकरण गर्दै गरिबी न्यूनीकरणमा टेवा पुग्ने गरी कार्यक्रम सञ्चालन गर्ने बताए ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी