Skip to content
LAXMI SUNRISE BANK

न्युरोडमा चारपांग्रे सवारी प्रवेशमा रोक

अर्थ सरोकार

काठमाडौं । शनिबारबाट चार पांग्रे सवारी साधनलाई न्युरोड प्रवेशमा रोक लगाइएको छ । चाडपर्वको समयमा हुने चाप कम गर्ने भन्दै काठमाडौं उपत्यका ट्राफिक प्रहरीले न्युरोड गेटबाट सबै प्रकारका चारपांग्रे सवारी साधनको प्रवेशमा प्रतिबन्ध लगाएको हो ।

यसो त न्युरोड क्षेत्र अन्य समयमा पनि भरिभराउ नै हुन्छ । अझ दशैं नजिकिएसँगै न्युरोडमा घुम्ने तथा सपिङ गर्नेहरुको चाप केही दिनयता ह्वात्तै बढेको छ । साँघुरा सडक, त्यसैमाथि ठूला सवारीका लागि पार्किङ स्थल नहुँदा दैनिक लामो समय सडक अवरुद्ध हुन थालेपछि ट्राफिक व्यवस्थापनका लागि भन्दै चार पांग्रे सवारी प्रवेशमा रोक लगाएको उपत्यका ट्राफिक प्रहरी कार्यालय काठमाडौंले जनाएको छ ।

उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार न्युरोड गेटबाट मालवाहक तथा निजी चारपांग्रे सवारी साधनलाई प्रवेशमा रोक लगाइएको छ । यो व्यवस्था फूलपाती अर्थात यही असोज १६ गतेसम्म कायम रहने छ । फूलपातीको दिनसम्म बिहान १० बजेदेखि साँझ सवारी चाप कम नभएसम्मका लागि न्युरोड प्रवेश गर्ने सवारी साधनलाई खुलामञ्चमा पार्किङ गर्ने व्यवस्था मिलाइएको छ ।

सवारी चाप कम गरी दुर्घटना न्यनीकरण गर्न यस्तो व्यवस्था गरिएको भन्दै तोकिएकै ठाउँमा पार्किङ गर्न समेत उपत्यका ट्राफिक प्रहरी कार्यालय काठमाडौंले आग्रह गरेको छ ।

Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK