×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सहकारीले महिलालाई व्यवसायी बनायो

PRIME CA

सहकारीले महिलालाई व्यवसायी बनायो

अर्थ सरोकार

प्रकाशित मिति : २५ आश्विन २०७९, मंगलवार

घोराही । घोराही उपमहानगरपालिका-६ अघराकी रामकुमारी थापाको बाख्रा खोरमा अहिले ४५ वटा बाख्रा छन् । २० वटा माउ, तीन वटा बोका, १० वटा खसी र १२ वटा साना पाठापाठी छन् । घरखर्च चलाउन सुरुमा बाख्रापालन सुरु गरेकी रामकुमारी अहिले व्यावसायिक बाख्रापालनमा लागेकी छन् । उनले रु पाँच लाख लगानी गरेर चार कोठासहितको ठूलो खोर निर्माण गरेर बाख्रापालन गरिरहेकी छिन् । एउटा खसीलाई रु २० देखि २५ हजारमा बिक्री गर्ने गरेको उनले बताइन् ।

भर्खरै सकिएको दसैँमा रु दुई लाखको खसीबोका बिक्री गरेको उनले बताइन् । उनले घोराही-६ मा रहेको शुभलक्ष्मी बचत तथा ऋण सहकारी संस्थाबाट रु.दुई लाख पचास हजार ऋण लिएर व्यवसाय सुरु गरेकी हुन् । ‘सहकारीले ऋण दिएकाले व्यवसाय गर्न सजिलो भएको हो’, उनले भनिन्, ‘वैदेशिक रोजगारीमा जानुभएका श्रीमान् पनि अहिले घर फर्केर काममा सघाउदा सहयोग भएको छ, अब यतै काम गर्ने सोचाइमा छौँ ।’

घोराही-६ चैनपुरकी शोभा वलीले विसं २०७५ देखि बाख्रा पाल्न सुरु गरेकी हुन् । अहिले उनीसँग १२ खसी, १५ माउ र साना पाठापाठी २१ गरी जम्मा ४८ बाख्रा छन् । गत वर्षको दसैँमा उनले रु दुई लाख २० हजारको खसी बिक्री गरेको र यस वर्ष पनि दसैँमा पाँच खसी बिक्री गरेर रु एक लाख ६० हजार आम्दानी गरेको बताइन् । बिक्री गर्न तयारी अवस्थामा रहेका अझै पाँच वटा खसी रहेको र आउँदै गरेको तिहारमा सबै बिक्री हुने उनले बताइन् । वलीको चार जनाको परिवार छ । वैदेशिक रोजगारीका लागि साउदीमा रहेका श्रीमान् वैशाखमा घर फर्किएपछि दुवै जना मिलेर व्यवसायलाई अगाडि बढाउने योजना रहेको उनले सुनाइन् ।

‘सबैले मिलेर घरको काम गर्ने गरेका छौँ’, उनले भनिन्, ‘घरको छेउमा किमु र मकैचरी घाँस रोपेका छौँ, बाख्रालाई खुवाउन सजिलो भएको छ ।’ बाख्रापालनमा खासै लगानी गर्नुनपरेको तर, आम्दानी भने सन्तोषजनक रहेको साथै सहकारीको सहयोगमा व्यावसायिक हुन पाइएको उनको भनाइ रहेको छ । घोराही-६ की गीता घर्ती पनि व्यावसायिक बाख्रापालनमा लागेकी छन् ।

दसैँ तिहारको मौकामा बाख्रा बढी बिक्री हुने गरेको उनले  बताइन् । यस वर्षको दसैँमा रु एक लाख १० हजारको खसी बिक्री गरेको बताइन् । उनीसँग अहिले पनि ४५ बाख्रा छन् । वर्षमा रु चार लाख ५० हजारभन्दा बढी आम्दानी गर्ने गरेको बताइन् । ‘पहिलेको भन्दा अहिले त मान्छेले हेर्ने दृष्टिकोण नै फेरिएको छ, पहिले बाख्रा थोरै थिए, पालेर घरखर्च मात्र ठिक्क हुन्थ्यो’, उनले भनिन्, ‘अहिले कमाइ राम्रो भएको छ, घरछेउको दुईकट्ठा खेत जोडेको छु ।’

चार वर्षअघि शुभलक्ष्मी बचत तथा ऋण सहकारी संस्थाबाट रु दुई लाख ऋण लिएर सुरु गरेको बाख्रापालन व्यवसायले प्रशस्त आम्दानी दिएको उनले बताइन् । उनले भनिन् , ‘अझै बढाउने योजना छ, सहकारीबाट ऋण पाएपछि हौसला बढेको हो ।’ शुभलक्ष्मी बचत तथा ऋण सहकारी संस्थाका कोषाध्यक्ष शरदकुमार आचार्यले घोराही-६ कार्यक्षेत्र निर्धारण गरेर १७ वर्ष अगाडि स्थापना भएको सहकारीले ग्रामीण क्षेत्रका सदस्यलाई सहयोग पुगेको बताए । सेयर सदस्यलाई कर्जा लिन सजिलो हुने गरी काम गरेको उनको भनाइ छ । व्यवसाय र कृषि पेसा गर्न चाहने सदस्यलाई ऋण प्रवाह गर्ने गरेको उनले बताए ।

अहिले सहकारीमा एक हजार तीन सय ६७ जना सदस्य छन् । जसमा सात सय २६ जना महिला, छ सय ३७ जना पुरुष र ८० सङ्घ संस्था सदस्य रहेका छन् । सबै सदस्यलाई ऋण लगानी गर्दा माग गरे अनुसार पुर्याउन सकिएको बताए । सहकारीबाट कर्जा लिएर सदस्यले जीवनस्तर परिवर्तन गरेको देख्दा खुसी लाग्ने गरेको उनले बताए । कृषिका लागि ऋण लिन चाहने सदस्यलाई १४ प्रतिशतमा ऋण दिने गरेको कोषाध्यक्ष आचार्यले बताए ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: