×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

निर्वाचनलाई समावेशी तथा अपाङ्गतामैत्री बनाउन आयोगको निर्देशन

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

निर्वाचनलाई समावेशी तथा अपाङ्गतामैत्री बनाउन आयोगको निर्देशन

Artha Sarokar

२५ कार्तिक २०७९, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । निर्वाचन आयोगले आसन्न प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचनलाई समावेशी तथा अपाङ्गमैत्री बनाउन तथा आयोगका निर्देशनहरूको पूर्ण रूपमा कार्यान्वयन गर्न/गराउन मुख्य निर्वाचन अधिकृत, निर्वाचन अधिकृत, मतदान अधिकृत तथा निर्वाचनमा खटिने सबै कर्मचारीलाई निर्देशन दिएको छ ।

(क) मतदान कक्ष बनाउँदा वा मतपेटिका राख्दा धेरै अग्लो ठाउँमा नबनाई वा नराखी होचो कद वा अपाङ्गता भएका व्यक्ति वा ज्येष्ठ नागरिक मतदाताले पनि सजिलै मतसङ्केत गर्न सक्ने गरी बनाउने वा राख्ने ।

(ख) गर्भवती, अशक्त, ज्येष्ठ नागरिक, बिरामी, किरियापुत्री, सुत्केरी मतदाताको लागि विश्राम गर्ने ठाउँको व्यवस्था गर्नुपर्ने छ ।

(ग) मतदान केन्द्र निर्माण गर्दा सम्भव भएसम्म अपाङ्गता भएका, सुत्केरी, ज्येष्ठ नागरिक, बिरामी तथा अशक्त मतदाताको लागि समेत सहज हुने गरी निर्माण गरी सबैको सहज पहुँच सुनिश्चित गर्ने,

(घ) मतदान अधिकृतले गर्भवती, सुत्केरी, अशक्त, ज्येष्ठ नागरिक, बिरामी, किरियापुत्री, आफ्नो काखे बालबालिका साथमा भएकी महिला, अपाङ्गता भएका व्यक्ति तथा अन्य (लैङ्गिक तथा यौनिक अल्पसंख्यक) मतदातालाई मतदान गर्ने काममा प्राथमिकता दिई मतदान गराउने व्यवस्था गर्नुपर्ने छ ।

(ङ) दृष्टिविहीन वा शारीरिक अशक्तता भएको वा अरु कुनै कारणले आफ्नो मत सङ्केत गर्न नसक्ने भई मतदाताले आफ्नो साथमा आएको एकाघरको परिवारको सदस्यलाई मतदान कक्षमा लैजाने अनुमति मागेमा मतदान अधिकृतले प्रचलित कानून बमोजिम पूर्ण अशक्त वा अति अशक्त अपाङ्गताको प्रमाणपत्र भएको वा कुनै दुर्घटनामा परी वा अन्य कारणले एक्लै मतदान कक्षमा गई आफै मतदान गर्न असमर्थ व्यक्ति हो होइन यकिन गरी त्यस्तो व्यक्तिलाई मतदाताको साथमा मतदान कक्षमा प्रवेश गर्ने अनुमति दिने र आफू समेत निजहरूसँग गई आफ्नो रोहवरमा मतदाताले भने बमोजिमको निर्वाचन चिन्हमा मतसङ्केत गर्न लगाउने,

(च) कुनै मतदाताले दृष्टिविहीन वा शारीरिक अशक्तता भएको वा अरु कुनै कारणवश आफै मतसङ्केत गर्न नसक्ने भई मतसङ्केत गर्ने काममा सहयोग पुर्याउन मतदान अधिकृतलाई अनुरोध गरेमा र मतदान अधिकृतलाई सो कुरा उपयुक्त लागेमा त्यस्तो मतदाताको मतपत्रमा निजको इच्छा अनुसार मत सङ्केत गर्ने काममा सहयोग गर्ने,

(छ) निर्वाचन सूचना व्यवस्थापन प्रणालीलाई लैङ्गिकमैत्री तथा समावेशी हुने गरी प्रभावकारी बनाउने ।

उपरोक्त बमोजिमका निर्देशन सम्बन्धी विषयहरू मतदान अधिकृत र सहायक मतदान अधिकृतहरूलाई दिने तालिम र अभिमुखीकरणमा समावेश गर्न मुख्य निर्वाचन अधिकृतको कार्यालय, निर्वाचन अधिकृतको कार्यालय तथा निर्वाचन कार्यालयलाई निर्देशन दिने ।

साथै, गम्भीर प्रकृतिका अशक्त, दीर्घ रोगी, ज्येष्ठ नागरिक मतदातालाई सवारी साधनको प्रयोग गरी मतदान केन्द्रसम्म पुर्याउन र फर्किनको लागि आवश्यक समन्वय तथा सहजीकरण गर्न मुख्य निर्वाचन अधिकृतको कार्यालय, निर्वाचन अधिकृतको कार्यालय तथा निर्वाचन कार्यालयलाई निर्देशन दिने ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी